काठमाडौं ३ मा कांग्रेस–एमालेलाई नयाँको डर

एमाले र कांग्रेसको पालैपालो जित ‘ब्रेक’ लगाउने रणनीतिमा रास्वपा र उज्यालो नेपाल

सोमबार, ४ फागुन, २०८२
डिजिटल संस्करण

काठमाडौं ३ भूगोलका आधारमा सानो छ । तर, उत्तर–पूर्वी भूभाग समेटिएको यो क्षेत्र राजनीतिक रूपमा अर्थपूर्ण मानिएको छ । यो क्षेत्रमा १३ वटा वडा छन् । जसमा काठमाडौं महानगरपालिका ६, कागेश्वरी मनोहरा नगरपालिकाकाको वडा नम्बर १, २, ३, गोकर्णेश्वर नगरपालिकाको वडा १, २, ३, ४, ५, ६, ७, ८ र ९ वडा पर्छ । गागलफेदी, आलापोट, भद्रबास, डाँछी, सुन्दरीजल, नयाँपाटी, बालुवा, गोकर्ण, जोरपाटी, नयाँ बस्ती, दक्षिणढोका, अत्तरखेल, आरुबारी, बौद्धलगायत स्थान पर्छन् ।
काठमाडौंमै भएर पनि यो क्षेत्रमा सडक सञ्जालको समस्या छ । सहरी क्षेत्रमा जामको समस्या छ भने ग्रामीण क्षेत्रमा कच्ची र खाल्डाखुल्डी सडक छ । खानेपानी, खहरेखोला, फोहोर व्यवस्थापन र वन्यजन्तुको समस्या पनि छ ।

यो क्षेत्रमा विगतमा कांग्रेस र एमालेले आलोपालो जित्दै आएका थिए । पछिल्ला निर्वाचनमा विद्यादेवी भण्डारी, चक्रबहादुर ठकुरी, रामेश्वर फुयाँल, कृष्णबहादुर राई र सन्तोष चालिसे निर्वाचित भएका थिए । ०५६ मा एमालेकी भण्डारी, ०६४ मा कांग्रेसका ठकुरी, ०७० मा एमालेका फुयाँल, ०७४ मा एमालेकै राई र ०७९ मा कांग्रेसका चालिसे निर्वाचित भएका थिए । यो क्षेत्रमा प्रत्येक निर्वाचनमा सांसद फेरिँदै आएका छन् ।

गत निर्वाचनमा कांग्रेसका सन्तोष चालिसे निर्वाचित भएका थिए । चालिसेमाथि भ्रष्टाचार मुद्दा लागेपछि कांग्रेसले रमेश अर्याललाई उम्मेदवार बनाएको छ । एमालेबाट पूर्वसांसद रामेश्वर फुयाँल चुनावी मैदानमा छन् । यसपटक रास्वपा, नेकपा र उज्यालो नेपाल पार्टीले चुनौती दिने दाबी गरेका छन् । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ यही क्षेत्रबाट निर्वाचन लड्दै छन् । रास्वपाले राजुनाथ पाण्डे र नेकपाले नीरज लामालाई उम्मेदवार बनाएका छन् । यो क्षेत्रमा १६ वटा दल र ६ जना स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन् । यो क्षेत्रमा आजपाबाट रूपसागर देवी एक्ली महिला उम्मेदवार छिन् ।

लोडसेडिङ अन्त्य गरेर चर्चामा आएका नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक घिसिङ यही क्षेत्रबाट उम्मेदवार छन् । उनी उज्यालो देश बनाउने भन्दै निर्वाचनमा होमिएका छन् । उनले भावी प्रधानमन्त्रीका रूपमा आफूलाई प्रस्तुत गर्दै मतदातासँग भोट मागिरहेका छन् । जेन–जी विद्रोहपछि सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा ऊर्जा, भौतिक पूर्वाधार र सहरी विकासमन्त्री बनेका घिसिङ मन्त्री पदबाट राजीनामा दिएर राजनीतिमा होमिएका हुन् । उनी उज्यालो नेपाल पार्टीको अध्यक्ष छन् । यस्तै, रास्वपाका पाण्डेले भावी गृहमन्त्रीका रूपमा भोट मागिरहेका छन् ।

काठमाडौं ३
मतदाता : ६४,४७९
महिला : ३२,९२३ 
पुरुष : ३१,५५६
मतदानस्थल : २९
मतदान केन्द्र :  ७२
१६ दल र ६ स्वतन्त्र उम्मेदवार आजपाकी एक्ली महिला उम्मेदवार 

को–को छन् उम्मेदवार ?
एमालेबाट रामेश्वर फुयाँल, कांग्रेसबाट रमेश अर्याल, नेकपाबाट नीरज लामा, रास्वपाबाट राजुनाथ पाण्डे, उज्यालोबाट कुलमान घिसिङ, राप्रपाबाट सुन्दरराम बोहरा, नेकपा संयुक्तबाट बाबुकाजी कार्की, नेमकिपाबाट मदन श्रेष्ठ, मंगोल नेसनल अर्गनाइजेसनबाट कुलबहादुर लामा, मितेरी पार्टीबाट जितबहादुर तामाङ, जसपा नेपालबाट प्रनिलध्वज कार्की, आजपाबाट रूपसागर देवी, नेसनल रिपब्लिक नेपालबाट प्रेमछिरी शेर्पा, प्रलोपाबाट शेखर अर्याल, श्रम संस्कृति पार्टीबाट सुवास घिसिङ र नेकपा माओवादीबाट शेखरनाथ आचार्य उम्मेदवार छन् । 

रमेश अर्याल, कांग्रेस
युवाहरू देशबाट पलायन भइरहेको अवस्था छ । देशमा कलकारखाना छैन । युवा पलायन रोक्न मेरो मुख्य भूमिका रहनेछ । यो पर्यटकीय क्षेत्र पनि हो । धार्मिक हिसाबले उत्तरगया हिन्दुहरूको धार्मिक, पुरातात्विक र ऐतिहासिक मन्दिर यहाँ छ ।  

रामेश्वर फुयाँल, एमाले
मुलुकको राजनीतिक, आर्थिक, सांस्कृतिक रूपान्तरण, नेपालको राष्ट्रियता, एकता प्रवद्र्धन गर्न, रोजगार, सुशासन र भ्रष्टाचारमुक्त गर्न यो निर्वाचनले जनमतसंग्रहको काम गर्नेछ । हामीले जनताको काम गरेका छौँ ।  

कुलमान घिसिङ, उज्यालो नेपाल पार्टी
उज्यालो नेपाल पार्टी स्थापना गरेर चुनावी मैदानमा छौँ । हामीले धेरै डेलिभरी दिएका छौँ । केही काम गरेका छौँ, परिणाम पनि दिएका छौँ । भाषणा गरेर होइन, काम गरेर यो देशलाई परिवर्तन गर्नुपर्छ । जनताप्रतिको विश्वास नै जितको आधार हो । हरेक नेपाली जनताको घरआँगन, सडक उज्यालो भएको छ । अब सबै नेपाली जनताको अनुहार र मन, मस्तिष्क उज्यालो बनाउने हो । 

राजुनाथ पाण्डे, रास्वपा
जनताको घरदैलोमा सँगसँगै हुन्छौँ । जनताको परिवर्तनको चाहनालाई साकार पार्नका लागि रास्वपा आएको छ । रोजगारी, जनजीविकाको विषय सम्बोधन गर्नेछौँ । नेपाली जनतालाई खाडी मुलुकमा पठाएर रेमिट्यान्सबाट देश चलाउँछु भन्ने सोचबाट अब देश बन्दैन । हामी आत्मनिर्भर हुनुपर्छ ।

 नीरज लामा, नेकपा
हाम्रो पार्टीले चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरिसकेको छ । हाम्रो राष्ट्रिय प्रतिबद्धता सुशासन र रोजगारीसहित समाजवादको तयारी, राष्ट्रियता र लोकतन्त्रको रक्षा नै हो । शासकीय स्वरूपमा काम गर्नु छ । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पूर्ण समानुपातिक निर्वाचन प्रणाली कायम गर्नुछ । क्षेत्रका एजेन्डामा सरकारी स्कुलको स्तरोन्नति गर्नुपर्नेछ ।

सुझावित समाचार