पाँचवटा निर्वाचन क्षेत्र रहेको रुपन्देहीको चुनावी सरगर्मी निकै बढेको छ । निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न दल र उम्मेदवारहरू मतदाता आकर्षित गर्न तल्लीन छन् । गत निर्वाचनमा तीनवटा निर्वाचन क्षेत्रमा जित निकालेको एमाले आफ्नो गढ सुरक्षित गर्दै थप जित निकाल्ने रणनीतिमा छ । ०७९ मा अपेक्षित जित निकाल्न नसकेको कांग्रेस यसपटक आफ्नो पक्षमा परिणाम निकाल्ने अभियानका साथ चुनावी मैदानमा छ। झन्डै दुई दर्जन दल तथा समूह मिलेर बनेका नेपाली कम्युनिस्ट पार्टी पनि परिणाम आफ्नो पक्षमा पार्न कस्सिएको छ । रुपन्देहीमा संगठन बलियो रहेको दाबी गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीले सबै क्षेत्रमा चुनौती दिएको छ । रुपन्देहीका पाँच क्षेत्रमा विभिन्न दल तथा स्वतन्त्र गरी १५५ जना उम्मेदवार चुनावी मैदानमा छन् ।
रुपन्देही १ मा हुँदै छ त्रिपक्षीय प्रतिस्पर्धा
रुपन्देही १ मा ०७९ को निर्वाचनमा एमालेका छविलाल विश्वकर्मा विजयी भएका थिए । तर, यसपटक उनी चुनावी दौडमा छैनन् । एमालेले नेता दधिराम न्यौपानेलाई अगाडि बढाएको छ । न्यौपानेले एमालेको जित कायम राख्न प्रचारलाई तीव्रता दिएका छन् । एमालेलाई यसपटक कांग्रेस र रास्वपाले कडा टक्कर दिएका छन् । यहाँ नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार पनि सशक्त मानिन्छन् । कांग्रेसबाट हिराबहादुर खत्री, रास्वपाका महामन्त्री सुनील लम्साल, नेपाली कम्युनिस्ट पार्टीबाट घनश्याम यादव चुनावी मैदानमा छन् । राप्रपाबाट प्रज्ज्वल बोहरा, नाउपाबाट उमाशंकरप्रसाद चौधरी, उज्यालो नेपाल पार्टीबाट छविलाल गुरुङ पनि चुनावी मैदानमा छन् । यो क्षेत्रमा २० दल र ११ स्वतन्त्र गरी ३१ उम्मेदवार चुनावी मैदानमा छन् ।
०७९ को समानुपातिक मतमा कांग्रेस पहिलो र रास्वपा दोस्रो रहेको यस क्षेत्रमा यसपटक एमालेबाट खोस्न कांग्रेस र रास्वपा जोडतोडले लागेका छन् । समानुपातिक मत राम्रो पाएको भन्दै रास्वपाले महामन्त्री लम्साललाई नै उतारेपछि चुनावी माहोल रोचक बनेको छ । लम्साल बालेन शाहको टिमबाट रास्वपामा जोडिएर महामन्त्री बनेका हुन् ।
रुपन्देही २ मा एमालेका विष्णु पौडेललाई रास्वपा र कांग्रेसको टक्कर
एमाले उपाध्यक्ष विष्णु पौडेलको क्षेत्र रुपन्देही २ मा चुनावी माहोल तात्दै गएको छ । राष्ट्रिय चर्चामा रहने रुपन्देही २ को निर्वाचनबाट लगातारको पाँचौँ जित निकाल्न पौडेल कस्एिका छन् । तर, उनलाई ब्रेक लगाउने प्रयासका साथ कांग्रेसका चुन्नप्रसाद पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीका सुलभ खरेल, नेपाली कम्युनिस्ट पार्टीले युवा नेता सुभाष पाण्डे (विश्वदीप), नेपाल जनसेवा पार्टीबाट कमल भुसाल (डा. निकोलस भुसाल) चुनावी मैदानमा छन् । यस क्षेत्रमा १९ दलका १९ र स्वतन्त्र २० गरी ३९ जना उम्मेदवार बनेका छन् । ०७९ को निर्वाचनमा एमालेका पौडेलले लगातार चौथो जित निकाल्दा २७ हजार १६५ मत प्राप्त गरेका थिए । तर, यहाँ समानुपातिक मतमा एमालेलाई रास्वपाले पछि पारेको थियो ।
रुपन्देही ३ मा राप्रपालाई गढ जोगाउन चुनौती
०७९ मा राप्रपा नेता स्वर्गीय दीपक बोहराले रुपन्देही ३ मा चुनाव जितेका थिए । यो क्षेत्रमा राप्रपाका गौरव बोहरासहित ३६ उम्मेदवार चुनावी मैदानमा छन् । रास्वपाले डा. लेखजंग थापा, कांग्रेसले सुशील गुरुङ, एमालेले वासुदेव घिमिरे, नेपाली कम्युनिस्ट पार्टीले फैज अहमद खाँलाई मैदानमा उतारेको छ । यहाँ १९ दल र १७ स्वतन्त्र गरी ३६ जना उम्मेदवार चुनावी मैदानमा छन् । यस क्षेत्रबाट गत निर्वाचनमा राप्रपाका बोहराले ३६ हजार ७१७ मतका साथ जित निकालेका थिए । कांग्रेस नेता बालकृष्ण खाण ३४ हजार ३६ मतमा खुम्चिनुपरेको थियो । ०७९ मा समानुपातिक मतमा भने कांग्रेस अगाडि थियो ।
रुपन्देही ४ मा पुराना उम्मेदवारबिच भिडन्त
रुपन्देही ४ मा उम्मेदवार बन्न दल फेर्दै उम्मेदवार बन्नेबिच भिडन्त देखिएको छ । एमालेबाट उम्मेदवार बनेका प्रमोदकुमार यादव ०७९ को निर्वाचनमा कांग्रेसबाट उम्मेदवार थिए । त्यसभन्दा अगाडिको चुनाव जितेका यादव ०७९ मा लोसपाका सर्वेन्द्रनाथ शुक्लसँग पराजित भएका थिए । यसपटक यी दुवै चुनावी मैदानमा छन् । तर, उनीहरू अहिले पार्टी फेरेर उम्मेदवार बनेका छन् । यादव एमालेबाट र शुक्ल जसपाबाट चुनावी मैदानमा छन् । रास्वपाबाट चुनावी मैदानमा उत्रिएका कन्हैया बनिया पनि दल फेरेर मैदानमा उत्रिएका छन् । तत्कालीन लोसपाबाट लुम्बिनी प्रदेश सभा सदस्यमा निर्वाचित बनिया प्रदेश सभा सदस्यबाट राजीनामा दिई दल परिवर्तन गरेर चुनावी मैदानमा उत्रिएका हुन् । कांग्रेसबाट आशुतोष मिश्र, नेपाली कम्युनिस्ट पार्टीबाट बाबुलाल यादव चुनावी मैदानमा छन् । यहाँ २२ जना उम्मेदवार छन् । ०७९ को निर्वाचनमा लोसपाबाट शुक्लले २८ हजार मतका साथ जित निकालेका थिए । समानुपातिक मतमा लोसपा पहिलो थियो ।
रुपन्देही ५ मा खिमलालले जोगाउलान् एमालेको बिरासत ?
रुपन्देही ५ मा ०७९ को निर्वाचनमा एमालेका वासुदेव घिमिरे ३६ हजार ८२२ मतका साथ विजयी भएका थिए । यसपटक उनी ३ नम्बरमा उम्मेदवार बनेका छन् । क्षेत्र नम्बर ५ मा एमाले नेता खिमलाल भट्टराई चुनावी मैदानमा छन् । यसपटक उनलाई एमालेको जित कायम राख्दै बिरासत जोगाउने चुनौती छ । विद्यार्थी राजनीतिमा खारिएर पार्टी राजनीतिमा होमिएका खिमलाल गत निर्वाचनमा चुनावी मैदानमा उत्रिन कार्यकाल बाँकी छँदै राष्ट्रिय सभाबाट राजीनामा दिएका थिए । तर, उम्मेदवारी कायम नभएपछि चुनावी मैदानमा उत्रिन वञ्चित भएका थिए । यस क्षेत्रबाट कांग्रेसका भरतकुमार शाह मैदानमा छन् । ०७९ को निर्वाचनमा एमालेका घिमिरेले जित हात पार्दा शाह उपविजेता थिए । त्यसअघिको निर्वाचनमा शाह विजयी भएका थिए । यस क्षेत्रबाट नेपाली कम्युनिस्ट पार्टीबाट महम्मद वकिल मुसलमान, रास्वपाबाट तैफिक अहमद खान, जनमत पार्टीबाट ओमप्रकाश यादवसहित विभिन्न दलका १९ र स्वतन्त्र आठ गरी २७ उम्मेदवार चुनावी दौडमा छन् ।
उत्साहका साथ मैदानमा छौँ, परिणाम कांग्रेसको पक्षमा आउँछ
रामकृष्ण खाण, सभापति, कांग्रेस रुपन्देही
यसपटकको निर्वाचनमा कांग्रेस कार्यकर्तामा निकै उत्साह छ । विगतका निर्वाचनमा कांग्रेसको चुनाव चिह्नमा मतदान गर्न नपाएका कार्यकर्तामा आएको उत्साह तथा आममतदाताले कांग्रेसप्रति दर्शाएको मायाले परिणाम कांग्रेसको पक्षमा आउने विश्वासमा छौँ । जिल्लाका पाँचवटा निर्वाचन क्षेत्रमध्ये चारवटामा नयाँ उम्मेदवार मैदानमा हुनुहुन्छ । पाँचवटै निर्वाचन क्षेत्रमा जित निकाल्ने गरी उम्मेदवारहरू र सिंगो पार्टी पंक्ति लागिपरेका छन् । परिणाम कांग्रेसको पक्षमा आउने अपेक्षा गरेका छौँ ।
पाँचवटै क्षेत्रमा ऐतिहासिक जित निकाल्ने गरी अगाडि बढेका छौँ
यज्ञ गैरे, अध्यक्ष, एमाले रुपन्देही
निर्वाचन आचारसंहितालाई पालना गर्दै पार्टीलाई थप मजबुत बनाउँदै पार्टी सदस्यहरू निर्वाचनमा परिचालित गरिएको छ । रुपन्देही एमालेको राम्रो संगठन भएको जिल्ला हो । विगतका निर्वाचनमा पनि ऐतिहासिक जित निकाल्दै आएका छौँ । विगतका जित कायम राख्दै यसपटक पाँचवटै क्षेत्रमा ऐतिहासिक जित निकाल्ने गरी अगाडि बढेका छौँ । एमालेप्रति बढ्दो जनउत्साह, उम्मेदवारहरू जनतामाझ लोकप्रिय हुनु र विकास तथा समृद्धिका लागि स्पष्ट दृष्टिकोण हामीसँग छ ।
जनउत्साहले परिवर्तनको स्पष्ट संकेत गरेको छ
डा. बुद्धि शर्मा, सभापति, रास्वपा रुपन्देही
रास्वपा नयाँ पार्टी भए पनि रुपन्देहीमा संगठन राम्रो छ । रवि लामिछाने र बालेन्द्र शाहप्रति जनविश्वास बढ्दो छ । हरेक निर्वाचन क्षेत्रमा देखिएको जनउत्साहले परिवर्तनको स्पष्ट संकेत गरेको छ । स्वतःस्फूर्त जनता जागेको अवस्था छ । संगठन र जनलहर तथा मुलुक परिवर्तनका स्पष्ट एजेन्डा, योजनासहित अगाडि बढेका छौँ । रुपन्देहीका पाँचवटै क्षेत्रमा रास्वपाले उत्कृष्ट मतका साथ जित्छौँ भन्ने आत्मविश्वासका साथ चुनावी मैदानमा छौँ ।
नेकपाले अघि सारेका नीति–कार्यक्रमप्रति जनलहर छ
नारायण जिसी, नेपाली कम्युनिस्ट पार्टी, रुपन्देही संयोजक
पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले अहिलेको विशिष्ट परिस्थितिमा मुलुकलाई ठिक ठाउँमा लैजान सक्ने र पार्टीले अगाडि सारेका स्पष्ट नीति–कार्यक्रमले गर्दा अहिले पार्टीप्रति जनलहर बढ्दो छ । मतदातामाझ पार्टीपंक्ति तथा पार्टीका उम्मेदवार पुग्दा निकै उत्साह पाएका छौँ । पार्टीले विगतका कमीकमजोरी सच्चाउँदै मुलुकमा सुशासन र एकताबद्धका लागि धेरै दल एक ठाउँमा उभिएर अगाडि बढेका छौँ । रूपान्तरणसहित मुलुकलाई समृद्धिको मार्गमा लैजाने नीति तथा कार्यक्रमसहित अगाडि बढेका छौँ ।