राष्ट्रिय स्वतन्त्र पार्टीले फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी ‘नागरिक करार’ सार्वजनिक गरेको छ।
पाँच वर्षभित्र पूरा गर्ने पाँच मुख्य कामका विषय सार्वजनिक गर्दै रास्वपाले मतदातासँग ‘करार’ गर्ने जनाएको हो। रास्वपाको नागरिक करारमा सदाचार र असल शासन, मध्यम वर्गीय विस्तार, काम, कनेक्टिभिटी र प्रवास गरी पाँच विषय प्राथमिकतामा छन्।
करार-पत्रमा २०४६ देखिकै सम्पत्ति छानबिन गर्न उच्चायोग गठन, औसत वार्षिक प्रतिव्यक्ति आय ३००० डलर र कुल गार्हस्थ उत्पादनको आकार १०० अर्ब डलर, जन्मदेखि मृत्युसम्मका आवश्यकतामा आधारित ‘एकीकृत सामाजिक सुरक्षा’को ग्यारेन्टी, १२ लाख नयाँ रोजगारी सिर्जनालगायतका विषय समावेश गरिएको छ।
‘तपाईं नागरिकहरूले हामीलाई विश्वास गरी तपशीलको सोचलाई लगानी स्वरूप प्रदान गर्नुभएमा, सोबापत हामी तपाईंहरूलाई बहुलवादी संघीय लोकतान्त्रिक गणतन्त्र, सामाजिक न्यायसहितको उदार अर्थनीति, सुधारिएको प्रदेश संरचना, समन्यायात्मक समावेशिता, सनातन सभ्यताको सम्मान, धार्मिक–सांस्कृतिक विविधताको संरक्षण, सन्तुलित परराष्ट्र सम्बन्ध, डायस्पोराको सामर्थ्य र ‘सौम्य शक्ति’को विस्तार गरी सार्वभौमिकता, स्वाधीनता, भौगोलिक अखण्डता र स्वाभिमानलाई अक्षुण्ण राख्दै निम्नबमोजिमको प्रतिफलस्वरूप समुन्नति पाँच वर्षभित्र भुक्तान गर्ने सर्तमा यो नागरिक करार मञ्जुर गर्दछौँ,’ रास्वपाले भनेको छ।
यस्तो छ ‘करार-पत्र’
