कोलम्बोमा आज भारत र पाकिस्तान भिड्दै

आइतबार, ३ फागुन, २०८२
डिजिटल संस्करण

आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको महत्वपूर्ण खेल भारत र पाकिस्तानबिच हुन भएको छ । दुई छिमेकी मैदान मात्र नभएर बाहिर पनि राजनीति टकरावका कारण यो खेल सधैँ रोमाञ्चक र तनावपूर्ण रहने गर्छ । आयोजक तथा प्रायोजकहरूले पनि भारत र पाकिस्तानलाई एकै समूहमा राखी प्रतिस्पर्धा गराउँदै करोडौँ अमेरिकी डलर आर्जन गर्छन् । यसैकारण भारत र पाकिस्तानबिच टी–२० विश्वकपमा लगातार समूह चरणमै भेट भइरहेको छ । अघिल्ला नौमध्ये सात संस्करणमा दुई राष्ट्रबिच प्रतिस्पर्धा भएको देखिन्छ । जसमा भारतले पाकिस्तानलाई सात र पाकिस्तानले भारतलाई एकपटक हराएको रेकर्ड छ । पाकिस्तानको त्यो एक मात्र जित पनि सानदार रह्यो ।

सन् २०२१ को विश्वकपमा पाकिस्तानले पहिलोपटक विश्वकपमा भारतमाथि १० विकेटको सानदार जित निकालेको थियो । सो खेलमा फास्ट बलर साहिन अफ्रिदीले घातक बलिङ गरेका थिए । १०औँ संस्करणमा भारत र पाकिस्तानबिच खेल लगभग नभइसकेको थियो । पाकिस्तानले आफ्ना खेलाडीको सुरक्षा तथा बंगलादेशको भारतमा गएर विश्वकप नखेल्ने निर्णय सहमति जनाउँदै विश्वकपमा भारतविरुद्ध उनीहरूको मैदान नखेल्ने घोषणा गरेको थियो । 

सहआयोजक श्रीलंकाको मैदानमा भने पाकिस्तानले भारतसँग प्रतिस्पर्धा गर्ने सहमति जनाएको थियो । तर, आइसिसीले पूर्वनिर्धारित कार्यक्रम यथावत् रहने जनायो । पाकिस्तानलाई भारतविरुद्ध खेलाउन आइसिसीले अन्तिम समयसम्म वार्ता गरेको थियो । पाकिस्तानले बंगलादेशलाई अनुशासनदेखि आर्थिक कारबाही गर्ने प्रस्ताव आइसिसीसमक्ष राखेको थियो । साथसाथै बंगलादेशलाई आइसिसीको कुनै पनि ठुलो इभेन्टको आयोजक राष्ट्र बनाउने प्रस्ताव स्वीकार गर्दा मात्र पाकिस्तानले भारतविरुद्ध खेल्ने सहमति गर्‍यो । भारतसँग प्रतिस्पर्धा नगर्दा आयोजक, आइसिसी तथा मिडिया ठुलै आर्थिक क्षति व्यहोर्नुपर्ने अवस्था आइरहेको थियो । विश्वकपको आर्थिक पक्षमा भारत र पाकिस्तानबिचको खेलमा एउटा ठुलो हिस्सा रहेको तथ्यांकले देखाएको छ । 

भारत र पाकिस्तान अपराजित
समूह ‘ए’मा भारत र पाकिस्तान अपराजित रहेका छन् । दुवैले दुई–दुई खेल जितका छन् । यस खेलको विजेता सुपर एटमा पुग्नेछ । ब्याटिङ र बलिङमा भारत र पाकिस्तानले राम्रो प्रदर्शन गरिरहेको छ । भारतको बलियो पक्ष नै ब्याटिङ हो । अघिल्लो खेलमा भारतले नामिबियाविरुद्ध दुई सय रनमाथि योगफल बनाएको थियो । पाकिस्तानको ओपनिङ र मध्यक्रम बलियो छ । बलिङमा पाकिस्तान सधैँ राम्रो नै मानिन्छ । कोलम्बोको पिच ब्याट्सम्यानलाई नभएर बलरलाई राम्रो मानिन्छ । यसमा पनि स्पिनर प्रभावशाली बन्नेछ । 

See More On

सुझावित समाचार