टिकट नपाएका प्रमुख पार्टीका पदाधिकारी र पूर्वपदाधिकारी के गर्दै छन् ?

आइतबार, ३ फागुन, २०८२
डिजिटल संस्करण
  • पार्टी नेतृत्वको बेवास्तामा परेर टिकट र ठोस जिम्मेवारी नपाएका नेताहरू कोही स्वत:स्फूर्त चुनावी अभियानमा छन् भने कोही मौन छन्

२१ फागुनको प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा टिकट नपाएका प्रमुख दलका प्रभावशाली पदाधिकारी र पूर्वपदाधिकारी चुनाव परिचालनको औपचारिक जिम्मेवारीमा छैनन् । नेतृत्वसँग असन्तुष्टि, कानुनी विवाद र आन्तरिक शक्ति–सन्तुलनबिच उनीहरूमध्ये कोही स्वत:स्फूर्त चुनावी अभियानमा छन् भने कोही मौन छन् ।

कांग्रेस निवर्तमान सभापति शेरबहादुर देउवासहित प्रमुख पार्टीबाट उम्मेदवार नरहेका करिब दुई दर्जन नेता चुनाव परिचालनको जिम्मेवारीबाटै वञ्चित छन् । पार्टी नेतृत्वको बेवास्तामा परेर टिकट र ठोस जिम्मेवारी नपाएका उनीहरू अपेक्षाकृत सक्रिय छैनन् ।

निष्क्रिय बस्दा कार्यकर्ताले नै प्रश्न उठाउन सक्ने दबाबमा परेपछि यी नेताहरू आ–आफ्नो तरिकाले चुनावी प्रचारमा छन् । र, पार्टीभित्र कतिपयको मत छ– टिकट नपाएका नेताहरूलाई पनि चुनावी दौडाहमा परिचालन गरेर एकताको सन्देश दिनुपर्र्छ र उनीहरूको क्षमताको पनि उपयोग गर्नुपर्छ ।

विशेष महाधिवेशनबाट सभापति भएपछि गगन थापाले पूर्वसभापति देउवा र उनीनिकट धेरै प्रभावशाली नेताहरूको टिकट रोकेका छन् । अर्कोतर्फ एमालेमा अध्यक्ष केपी ओलीले पनि सुरेन्द्र पाण्डे, योगेश भट्टराई, छविलाल विश्वकर्मा र गोकुल बाँस्कोटाजस्ता नेतालाई टिकट र चुनावी जिम्मेवारीबाट रोकेका छन् ।

नेकपाभित्र पनि उम्मेदवार नरहेका वरिष्ठ नेता झलनाथ खनालसहित केही शीर्ष तहका नेता चुनावसम्बन्धी परिभाषित जिम्मेवारीबाट वञ्चित नै छन् । नेकपामा धेरै युवाले टिकट पाउँदा पाका नेताहरू किनारामा परेका छन् ।

कांग्रेस वरिष्ठ नेताहरू ‘साइडलाइन’मा
प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस पूर्वसभापति शेरबहादुर देउवासहित प्रभावशाली नेता औपचारिक चुनावी कमान्डबाट बाहिर छन् । सभापतिमा निर्वाचित भएपछि गगन थापाले देउवानिकट धेरै नेताहरूलाई टिकट नदिएपछि पार्टीभित्र असन्तुष्टि छ ।

कांग्रेसले उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरेको छ । शर्मा स्वयं उम्मेदवार नभए पनि चुनावी कमान्ड सम्हालेर देशव्यापी दौडधुपमा छन् । तर, निवर्तमान सभापति देउवा, पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का, पूर्वमहामन्त्रीहरू कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह र डा. शशांक कोइराला चुनावी अभियानमा देखिएका छैनन् । सिटौला राष्ट्रिय सभा सांसद हुन् यद्यपि, टिकट नपाएका पूर्वउपसभापति धनराज गुरुङ, बालकृष्ण खाण, दीपक खड्का र मोहन बस्नेतले आ–आफ्नो क्षेत्रमा संगठनात्मक समन्वय र प्रचारप्रसार गरिरहेका छन् ।

पार्टी प्रवक्ता देवराज चालिसेले आन्तरिक मतभेदका अवशेष बाँकी भए पनि सबैलाई मिलाएर चुनाव जिताउने प्रयास भइरहेको बताए । ‘विशेष महाधिवेशन र नियमित महाधिवेशनको विषयलाई लिएर अलिकति तुष बाँकी छ । तर, सबैलाई मिलाएर निर्वाचनमा कांग्रेसलाई जिताउन लैजानेछौँ,’ प्रवक्ता चालिसेले बुधबार पत्रकारहरूसँग भने, ‘प्रचारप्रसारमा नआउनुभएका नेताहरूलाई कुनै न कुनै रूपमा ल्याउनेछौँ । अघिल्लो कार्यसमिति र वर्तमान कार्यसमितिको दोस्रो तहका नेताहरूबिच छलफल भइरहेको छ ।’

तर, देउवापक्षीय नेताहरू विशेष महाधिवेशनको वैधतासम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले केही नेताहरू ‘प्राविधिक असहजता’मा रहेको नेता मीन विश्वकर्माको भनाइ छ । ‘मुद्दाका कारण १४औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरू र नेताहरूलाई अलिकति प्राविधिक रूपमा कठिनाइ भएको छ । तर, हामी सबैलाई मिलाउन प्रयत्नरत छौँ,’ विश्वकर्माले भने । विशेष महाधिवेशनपछि निर्वाचित नेतृत्वलाई मान्यता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा पक्ष सर्वोच्च अदालतमा गएको छ । मुद्दा सर्वोच्चमा विचाराधीन छ ।

निर्वाचन आयोगमा वर्तमान नेतृत्वको विपक्षमा पुगेका नेताहरू डा. शेखर कोइराला, विमलेन्द्र निधि, डा. प्रकाशशरण महत, महेन्द्र यादवलगायत अहिले प्रतिनिधिसभा उम्मेदवार छन् । उनीहरूले पार्टी निर्णयअनुसार सभापति थापालाई प्रधानमन्त्री बनाउनेबारे बोलेका छैनन् । यीमध्ये डा. शेखर र यादवले मात्रै गगनलाई पार्टी सभापतिका रूपमा सार्वजनिक रूपमा स्वीकार गरेका छन् ।

यसैबिच देउवाले कांग्रेस कमजोर भए लोकतन्त्र कमजोर हुने भन्दै उम्मेदवार जिताउन सक्रिय हुन आग्रह गरेका छन् । सुदूरपश्चिमका मुख्यमन्त्री कमल शाहसँगको भेटमा उनले चुनावको वातावरण आफैँले बनाएको स्मरण गराउँदै अब पार्टी जिताउन लाग्नुपर्ने बताएका थिए ।

‘परिस्थिति जे भयो, भयो । देश निर्वाचनमा गयो । देशलाई निर्वाचनमा जाने वातावरण मैले नै बनाएको हुँ । राष्ट्रपति र प्रधानमन्त्रीसँग शीर्ष नेताहरूको बैठक गरेपछि चुनावको वातावरण बनेको हो,’ देउवालाई उद्धृत गर्दै मुख्यमन्त्री शाहले नयाँ पत्रिकासँग भने, ‘अब साथीहरूलाई चुनाव जिताउन लाग्नुस् । मैले अन्य साथीहरूलाई पनि यही भनेको छु ।’ संस्थापन पक्षले देउवाबाट औपचारिक सन्देश जारी गराउने प्रयास भइरहेको जनाएको छ । प्रवक्ता चालिसेले देउवालाई चुनावमा कांग्रेसका उम्मेदवारलाई सहयोग गर्न सन्देश जारी गराउने प्रयास भइरहेको बताए । यद्यपि, देउवानिकट नेताहरूले यो प्रयास नभएको जिकिर गरे । 

टिकट नपाएका एमाले नेतालाई चुनावी जिम्मेवारीमा पनि उपेक्षा
एमालेमा टिकट नपाएका पदाधिकारीहरू औपचारिक जिम्मेवारीविना चुनावी अभियानमा छन् । अध्यक्ष केपी ओलीसहित १९ सदस्यीय पदाधिकारीमध्ये ६ जना प्रत्यक्षतर्फ उम्मेदवार छैनन् ।

१४ पदाधिकारी प्रत्यक्षतर्फ उम्मेदवार छन् । पूर्ववरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र पूर्वउपमहासचिव प्रदीप ज्ञवाली पनि प्रत्यक्षतर्फका उम्मेदवार छन् । तर, पूर्व उपाध्यक्षहरू सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य उम्मेदवार छैनन् । उपाध्यक्ष रघुजी पन्त, उपमहासचिव योगेश भट्टराई तथा सचिवहरू खगराज अधिकारी, यमलाल कँडेल, छविलाल विश्वकर्मा र हिक्मत कार्कीमध्ये केही प्रदेश सरकार वा प्रदेश संगठनमा सक्रिय छन् भने केही स्वत:स्फूर्त प्रचारमा खटिएका छन् । उनीहरूमध्ये अधिकारी प्रदेश सांसद, कँडेल र कार्की मुख्यमन्त्री छन् । उपाध्यक्ष रामबहादुर थापा‘बादल’ र सचिव पद्मा अर्याल समानुपातिकतर्फबाट उम्मेदवार छन् ।

गण्डकी प्रदेश सांसद रहेका सचिव अधिकारी प्रदेश इन्चार्जका रूपमा कास्की र आसपासका जिल्लामा पार्टीलाई जिताउन खटिएका छन् । अर्का सचिव कार्की कोशी प्रदेशको मुख्यमन्त्रीको जिम्मेवारीमा छन् । सरकारको कामबाहेक उनले अधिकांश समय झापा र त्यसमा पनि अध्यक्ष केपी शर्मा ओलीको ५ नम्बर क्षेत्रलाई दिएका छन् । अर्का सचिव तथा मुख्यमन्त्री कँडेल सुर्खेतसहित कर्णाली प्रदेश संयोजकका रूपमा पार्टीलाई जिताउन सक्रिय छन् ।

बहालवाला सांसद पनि नरहेका र उम्मेदवार पनि नभएका उपाध्यक्ष पन्त र उपमहासचिव भट्टराईलाई चुनावकेन्द्रित कुनै ठोस परिभाषित जिम्मेवारी तोकिएको छैन । यद्यपि, पन्त र भट्टराई दुवै व्यक्तिगत रूपमा पार्टीलाई जिताउन चुनावमा खटिएका छन् ।

उपमहासचिव भट्टराईलाई अध्यक्ष ओलीले चुनाव परिचालनसम्बन्धी कुनै औपचारिक जिम्मेवारी नदिए पनि सामथ्र्यले भ्याएसम्म पार्टी र उम्मेदवार जिताउने काममा सक्रिय भइरहेको बताए । भट्टराई यसबिचमै जिल्लाको आमन्त्रणमा नवलपरासी, चितवन, बारा, पर्सा, सुनसरी, मोरङलगायतका जिल्लामा पुगेर काठमाडौं फर्किएका छन् । परिस्थितिले साथ दिए देशका विभिन्न जिल्लामा पनि पुगेर पार्टीलाई जिताउने काममा सक्रिय बन्ने उनको योजना छ ।

‘चुनाव परिचालनका विषयमा मलाई जिम्मेवारी दिइएको छैन । तर, आफैँले जानेर, बुझेर चुनावकेन्द्रित काम गरिरहेको छु, जुन–जुन जिल्लाबाट बोलाइयो, ती जिल्लामा गएर भेटघाट गरेर भोट माग्न सहभागी भएको छु,’ उनले भने, ‘पार्टी र उम्मेदवारलाई जिताउन आह्वान गर्दै सहभागी भएर फर्किएको छु, परिस्थितिबारे जानकारी लिएर सुझाव पनि दिने गरेको छु ।’

उता, पार्टीभित्र प्रभावशाली नेताका रूपमा स्थापित पूर्वउपाध्यक्ष पाण्डे पनि यसपटक प्रत्यक्षको उम्मेदवार छैनन् । यसपटक उनलाई चितवन १ बाट टिकट दिइएन । तथापि उनी उम्मेदवारको मनोनयनदेखि नै चितवनमा पार्टीलाई जिताउन सक्रिय उनी आफ्नै तरिकाले काममा खटेका छन् । ‘पार्टी नेतृत्वसँग औपचारिक सम्पर्क छैन, तर आफ्नै ढंगले पार्टीलाई जिताउन लागिरहेको छु,’ उनले भने, ‘चितवनका तीनवटै क्षेत्रमा चुनावी गतिविधिमा सहभागी भएर काठमाडौं फर्किएको छु । साथीहरूले बोलाएका जिल्लाहरूमा जाने सोच बनाएको छु ।’ 

पूर्वउपाध्यक्ष ज्ञवाली र शाक्यलाई पनि पार्टीले निर्वाचन परिचालनमा कतै खटाएको छैन । ज्ञवाली जिम्मेवारी नतोकिएकाले कतै नखटिएको बताउँछन् भने नेतृ शाक्य भने कहिलेकाहीँ आफू बसोबास गरिरहेको ८ नम्बर क्षेत्रमा खटिने गरेकी छिन् । ‘कुनै जिम्मेवारी तोकिएको छैन, त्यसैले म अहिले चुनाव परिचालनमा खटिहालेको अवस्था होइन, तर पार्टीलाई जिताउने काममा आफ्नो ढंगले योगदान गर्ने सोच छ,’ ज्ञवालीले भने ।

एमाले प्रचार संयोजक मीनबहादुर शाही भने यसबारे आफू अनभिज्ञ रहेको बताउँछन् । ‘निर्वाचन परिचालनका विषयमा सयोजक रामबहादुर थापाले शनिबार अध्यक्षसग भेटेर कुरा गर्नुभएको छ । त्यसक्रममा उम्मेद्वार नहुनुभएका पदाधिकारी तहको नेताको जिम्मेवारीका बारेमा पनि केही कुरा भएको हुनसक्छ । अरु कुरा के कसो छ मलाई विस्तृत जानकारी छैन । पार्टी केन्द्रले योजना बनाउँछ होला,’ उनले भने ।

नेकपाका नेता असन्तुष्टि ‘लुकाएर’ चुनावी अभियानमा
निर्वाचन नलडेका नेकपाका नेताहरू चुनावी अभियानमा होमिएका छन् । वरिष्ठ नेता झलनाथ खनाल, वामदेव गौतम, राजेन्द्र श्रेष्ठ, अग्नि सापकोटा, पम्फा भुसाल, बेदुराम भुसाल, प्रमेश हमाल, देव गुरुङ, जगन्नाथ खतिवडा, प्रकाश ज्वालालगायतका नेताहरू उम्मेदवार नबने पनि पार्टीलाई जिताउन अभियानमा होमिएका छन् ।

वरिष्ठ नेता खनाल जेन–जी आन्दोलनको क्रममा अज्ञात समूहले घरमा आगजनी गर्दा जलेर गम्भीर घाइते भएकी पत्नी रविलक्ष्मी चित्रकारको उपचारकै क्रममा छन् । त्यसैले, उनी उपत्यकाबाहिरको कार्यक्रममा भौतिक रूपमा उपस्थित हुन सकेका छैनन् । काठमाडौंको क्षेत्र नम्बर ८ का कार्यक्रमहरूमा भने उनी सहभागी हुँदै आएका छन् । चुनावी प्रतिबद्धता सार्वजनिक कार्यक्रममा पनि उनी सहभागी भएका थिए । ‘परिवारको उपचारको क्रममा ठुलो धनराशि खर्च भयो, ऋणको भारी थपियो । अहिले पनि म्याडमको उपचार जारी छ । त्यही कारणले देशव्यापी रूपमा अभियानमा हिँड्न पाएको छैन,’ उनले भने, ‘तर, काठमाडौंमै बसेर भए पनि देशव्यापी चुनावी अभियानमा उम्मेदवार, पार्टीका नेता तथा कार्यकर्ताको हौसला बढाइरहेको छु । चुनावी रणनीतिबारे सल्लाह, सुझाव दिइरहेको छु ।’

अर्का वरिष्ठ नेता गौतम पनि काठमाडौंमै छन् । उनी पनि काठमाडौंमै बसेर चुनावी अभियानलाई सहयोग गरिरहेको बताउँछन् । ‘साथीहरूलाई आवश्यक सल्लाह, सुझाव दिइरहेको छु । मेरो तर्फबाट सक्दो पहल गरिरहेको छु ।’ मंगलबार चुनावी प्रतिबद्धता–पत्र सार्वजनिक कार्यक्रममा पार्टी कार्यालयमा उपस्थित गौतमले भने । उनले पार्टीले ठोस जिम्मेवारी भने नदिएको गुनासो गरे ।

अर्का नेता राजेन्द्र श्रेष्ठ पनि चुनावी अभियानमा सक्रिय भएका छन् । काठमाडौंका चुनावी अभियानमा सक्रिय भएका श्रेष्ठ काभ्रेको चुनावी अभियानमा समेत पुगेका छन् । अर्का नेता अग्नि सापकोटाले प्रचार संयन्त्रको जिम्मेवारी सम्हालेका छन् । नेकपाले सापकोटालाई चुनावी प्रचार संयन्त्रको संयोजक बनाएको छ । सापकोटाका साथै, अर्का नेता जगन्नाथ खतिवडाले प्रचार सहसंयोजकको रूपमा प्रचार रणनीति बनाइरहेका छन् ।

नेतृ पम्फा भुसाल ललितपुरका साथै देशका अन्य भागका चुनावी कार्यक्रममा पनि सक्रियपूर्वक सहभागी भएकी छिन् । मंगलबार मात्र उनी कास्की, पर्वत र म्याग्दीमा आयोजित चुनावी कार्यक्रममा सहभागी भएकी छिन् । बेदुराम भुसाल, प्रमेश हमाल र देव गुरुङ पनि विभिन्न क्षेत्रका चुनावी अभियानमा सहभागी भएका छन् । उनीहरूले चुनावी प्रतिबद्धतापत्र निर्माणमा पनि योगदान गरेका छन् । अर्का नेता प्रकाश ज्वाला भने जिल्लाकेन्द्रित भएका छन् । 

सुझावित समाचार