- सिंहको प्रश्न छ– विस्फोटमा परी नमरेको भए मेरो छोरा कहाँ छ ? ओसी अख्तरसहित अन्य युवाको पनि अदालतले नै ठेगाना बताइदिनुपर्यो । रुक्साना खातुनको हत्या किन गरियो ? यसको पनि कारण खुलाइदिनुपर्यो ।
आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनले रौतहटमा पनि चहलपहल बढेको छ । उम्मेदवार मत माग्न मतदाताका घरघर पुगिरहेका छन् । तर, उमुनामाई नगरपालिकाको सरुअठाका ८५ वर्षीय श्रीनारायण सिंहलाई निर्वाचनले छोएको छैन ।
हरेक निर्वाचनले उनलाई फरहदवा विस्फोट सम्झाउँछन् । १७ वर्षअघिको विस्फोटमा सिंहले नवजवान छोरा त्रिलोकप्रताप सिंह ‘पिन्टु’ गुमाएका थिए । साह यतिवेला काठमाडौंमा छन् । आनामगरमा शनिबार पत्रकारमाझ भेटिएका सिंहले भने, ‘प्रत्येकपटकको निर्वाचन मेरा लागि पीडादायी हुन्छ । निर्वाचनकै दौरान मैले छोरा गुमाएँ । कानुनी लडाइँ लड्दा जीवनको ऊर्जा गुमाएँ । यसकाबाबजुद पनि न्याय पाउँन सकिनँ । यसले मलाई हीनताबोध हुन्छ । त्यही भएर म काठमाडौं आएको हुँ ।’
२८ चैत ०६४ मा भएको संविधानसभा निर्वाचनले रौतहटका प्रत्येक गाउँलाई छोएको थियो । चुनावी प्रचारका लागि गाउँका युवा तान्न उम्मेदवारको प्रतिस्पर्धा थियो । यही वेला कजेल बिदा लिएर पिन्टु भर्खर मात्रै गाउँ पुगेका थिए । रौटहट २ का कांग्रेस उम्मेदवार अफ्ताव आलमका भाइ महताव उनलाई लिन घरमै आइपुगे । पिन्टु गाडीमा चढेर आलमसँगै राजपुर लागे । तर, उनी त्यहाँबाट फर्केनन् । वृद्ध उमेरका सिंह १७ वर्षअघिको पीडादायी घटना सम्झन्छन् ।
‘मलाई अझै पनि छोरा आउँछ कि जस्तो लाग्छ । तर, मृत्युसत्य हो । छोराकै पिरले मेरी श्रीमतीको देहान्त भयो । कानुनी लडाइँ लड्दालड्दै म बुढो भएँ । सबै खर्च रित्तिए । सँगै राज्यप्रतिको भरोसा पनि रित्तियो । निर्वाचनका वेला नेता–कार्यकर्ता भोट माग्दै घर आउँछन् । मलाई भने दिक्क लाग्छ,’ उनले दुखेसो पोखे ।
त्यतिखेर अफ्तावको पृष्ठभूमिबारे सिंह जानकार थिए । उनी पिन्टुलाई चुनावी प्रचारमा पठाउन चाहँदैनथे । तर, उनलाई पत्तै नदिई महतावले पिन्टुलाई राजपुर लिएर गएका थिए । छोरालाई फिर्ता लिन सिंह आफैँ राजपुर पुगेका थिए । त्यस वेला आलमका सहयोगीले पिन्टु चुनाव सकेपछि फिर्ता हुने भन्दै सिंहलाई घर पठाएका थिए । तर, पिन्टुसहितका युवा फरहवास्थित शेख इद्रिसको गाईगोठमा भएको बम विस्फोटमा परे । घाइते उनीसहित २० भन्दा धेरै युवालाई इँटाभट्टामा जिउँदै जलाएर नष्ट गरियो ।
अनेक दबाबपछि प्रहरीले घटनामा संलग्न अफ्तावसहितका अभियुक्तलाई घटना भएको १२ वर्षपछि पक्राउ गर्यो । त्यसको चार वर्षपछि जिल्ला अदालत रौतहटले घटना प्रमाणित गर्यो । र, दोषीलाई जेल सजाय तोक्यो । तर, उच्च अदालत वीरगन्जले गत १४ जेठमा जिल्लाको फैसलालाई उल्ट्यायो ।
पिन्टुका बुबा सिंह अदालतसमक्ष यही विषयमा प्रश्न गर्छन्,‘विस्फोटमा परी नमरेको भए मेरो छोरा कहाँ छ त ? ओसी अख्तरसहित अन्य युवाको पनि अदालतले नै ठेगाना बताइदिनुपर्यो । रुक्साना खातुनको हत्या किन गरियो ? यसको पनि कारण खुलाइदिनुपर्यो ।’
वीरगन्ज इजलासका न्यायाधीशखुसीप्रसाद थारू र अर्जुन महर्जनको संयुक्त इजलासले गत १४ जेठमा हत्याका मुख्य अभियुक्त अफताव आलम, महताव आलम, शेष सेराज र बद्री सहनीलाई सफाइ दिने फैसला गरेको थियो । सोही फैसलाविरुद्ध सिंहले गत असारमै न्याय परिषद्मा उजुरी दिएका थिए । त्यसलगत्तै परिषद्ले घटनाको छानबिन गर्न समिति बनायो । समितिले गत भदौमै प्रतिवेदन न्याय परिषद्मा पेस गरेको छ । तर, प्रतिवेदन हालसम्म न सार्वजनिक भएको छ, न कार्यान्वयन नै । काठमाडौं आएलगत्तै सिंह बिहीबार बिहान न्याय परिषद् पुगे । प्रतिवेदनबारे सोधपुछ गरे । तर, चित्त बुझ्दो जवाफ पाउन सकेका छैनन् ।
‘म काठमाडौं आउने अब यत्ति नै हो । तपाईँहरूले न्याय दिए दिनुहोस्, नदिए नदिनुहोस् । मलाई भगवान्ले न्याय दिइसकेको छ,’ उनले भने ।
विस्फोटपछि आलमविरुद्ध जाहेरी दिनेमध्येकी एक थिइन्, रौतहट सरुअठा–९ की रुक्साना खातुन । उनी मृतक ओसीकी आमा थिइन् । मुद्दा फिर्ता लिन उनलाई आलमका मान्छेले अनेक प्रलोभन दिएका थिए । ०६७ को मंसिरमा उनलाई घरमै गोली हानियो । त्यस वेला बालबाल बचिन् ।तर, ९ माघ ०६७ को गोली प्रहारमा उनी बच्न सकिनन् । उनको कन्चटमा दुई राउन्ड गोली हानिएको थियो । उनको घटनास्थलमा नै मृत्यु भयो । सोही हविगत सिंहको पनि हुने भनियो । तर, सिंह गलेनन् ।
न्यायको लडाइँमा १७ वर्षदेखि अनवरत लागेका उनले यसबिचचार बिघा जमिन बेचेका छन् । छोराको शोकले श्रीमती गुमाए । तर, उनको हातबाट न्याय झन्–झन् दूर हुँदै गएको छ । रुक्सानाको मृत्युपछि ओसीकी श्रीमती अमना खातुनले बयान फेरेकी छिन् । ओसीका ससुरा समसुल मियाँले पनि बकपत्र बदलेका छन् । घटनाका अन्य साक्षीको हालत पनि त्यस्तै छ । ८४ वर्षका सिंह यति वेला न्यायको लडाइँमा एक्लो सिपाही बनेका छन् ।
‘यो मुद्दामा लड्ने म एक्लो हुँ । सबैले बयान फेरे । समसुलले त बयान फेर्न पाँच लाख रुपैयाँ लियो रे ! अफर त मलाई पनि एक करोडकै आएको हो । मैले त्यस वेला ‘मेरो छोरा बिक्री हुने खसिबोका होइन’ भन्दै हप्काएर पठाएँ । परिषद्मा उजुरी दिइएको छ,’ उनले भने, ‘अब अदालतले न्याय देला नदेला आफ्नो ठाउँ छ । तर, घटनामा संलग्नलाई भगवान्को अदालतले सजाय दिन्छ । आलमको मृत्यु भईसक्यो ।’