शुक्रबार १० बजेसम्मका १० मुख्य खबर

शुक्रबार, १ फागुन, २०८२
डिजिटल संस्करण

साढे चार सय उम्मेदवार र चार दलले खोले निर्वाचन बैंक खाता

साढे चार सय उम्मेदवारले निर्वाचन प्रयोजनका लागि बैंक खाता खोलेका छन् । निर्वाचन आयोगका अनुसार शुक्रबार बिहानसम्म चार सय ५४ उम्मेदवारले निर्वाचन प्रयोजनका लागि अलग्गै खाता खोलेका छन्।  त्यस्तै, विभिन्न चार दलले पनि बैंक खाता खोलेका आयोगले जनाएको छ । ती दलमा नेपाली कांग्रेस, नेकपा संयुक्त, राष्ट्रिय जनमोर्चा र नेपाली कम्युनिस्ट पार्टी छन् । 

निर्वाचन आयोगले प्रचारप्रसारसहित निर्वाचन प्रयोजनका लागि बैंक खाता खोल्ने अनिवार्य व्यवस्था गरेको छ। निर्वाचन आचारसंहितामा यससम्बन्धी व्यवस्था छ । बैंक खाता खोल्नेसम्बन्धी अलग्गै कार्यविधि पनि आयोगले जारी गरेको छ । २५ हजारभन्दा बढी आयव्यय बैंक खाताबाट गर्नुपर्ने व्यवस्था छ ।

जेन–जी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको छानबिन तत्काल सार्वजनिक गर्न माग

जेन–जी आन्दोलनसम्बन्धी छानबिन तत्काल सार्वजनिक गर्न मानव अधिकारसम्बन्धी तीन अन्तर्राष्ट्रिय संस्थाले माग गरेका छन् । छानबिनमा ढिलाइ हुँदा दण्डहीनता बढ्न सक्ने भन्दै ह्युमन राइट्स वाच, एम्नेस्टी इन्टरनेसनल र इन्टरनेसनल कमिसन अफ जुरिस्ट्सले प्रतिवेदन सार्वजनिक गर्न माग गरेका हुन् । 

संयुक्त प्रेस वक्तव्य जारी गर्दै उनीहरूले भनेका छन्, ‘गत भदाैमा भएको जेन–जी आन्दोलनको दौरान भएका हत्याहरूपछि पूर्वन्यायाधीश गौरीबहादुर कार्की (जसको अन्तरिम प्रधानमन्त्रीसँग कुनै पारिवारिक सम्बन्ध छैन)को अध्यक्षतामा उक्त आन्दोलनका क्रममा भएका हिंसाहरूको छानबिनका लागि एक आयोग गठन गरिएको थियो। तर, सुरक्षा बल वा राजनीतिक पात्रहरूले यसको निष्कर्षहरूको विरोध गर्न सक्ने र यसले निर्वाचनको वातावरणमा ‘तनाव’ उत्पन्न हुन सक्ने भयका कारण माघ २६ गते सरकारले उक्त आयोगको म्याद निर्वाचनको पछिल्लो दिनसम्मका लागि लम्ब्यायो ।’ सरकारले आयोगको म्याद थपेर चुनावपछि प्रतिवेदन बुझाउने वातावरण बनाएपछि अन्तर्राष्ट्रिय संस्थाले त्यसमा असन्तुष्टि जनाएका हुन् । 

भागेको हेलिकोप्टर सिंहदरबारमा ल्यान्ड भए लोकतन्त्रलाई खतरा : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले यसपटकको निर्वाचनमा मतदान मात्र नभई मतक्रान्ति गर्न आह्वान गरेका छन्। शुक्रबार अर्घाखाँचीको सन्धिखर्कका मतदातालाई सम्बोधन गर्दै लामिछानेले भाइबहिनीको रगत खेर जान नदिन निर्वाचनमा साथ दिन आग्रह गरे।

यसपटकको निर्वाचन सामान्य परिस्थितिको नभएको उल्लेख गर्दै लामिछानेले भने, ‘यसपटक सिंगो देश जागेको छ, सिंगो देशले मतदान होइन, मतक्रान्ति गर्नुपर्छ।’ फागुन २१ लाई इतिहास लेख्ने दिन भन्दै उनले जनमतको मूल्य कहिल्यै खेर नजाने बताए।

नयाँबाट देशलाई खतरा भएको भन्ने हल्ला चलाइएकोमा आपत्ति जनाउँदै सभापति लामिछानेले भने, ‘तर, भागेको त्यो हेलिकोप्टर फेरि सिंहदरबार र बालुवाटारमा ल्यान्ड भयो भने लोकतन्त्रलाई खतरा छ।’ लामिछानेले आज पाल्पा, गुल्मी तथा अर्घाखाँचीका विभिन्न स्थानमा पुगेर मतदातालाई सम्बोधन गरेका छन्।

निर्वाचनमा कृत्रिम अभाव र कालोबजारी रोक्ने केन्द्रीय अनुगमन समितिको निर्णय

मुख्यसचिव संयोजकत्वको केन्द्रीय अनुगमन समितिले आसन्न निर्वाचनमा कृत्रिम अभाव र कालोबजारी रोक्ने निर्णय गरेको छ । मुख्यसचिव सुमनराज अर्यालको संयोजकत्वमा बुधबार बसेको केन्द्रीय अनुगमन तथा मूल्यांकन समितिको ७३औँ बैठकले बजार अनुगमनलाई प्रभावकारी बनाउनेसहितका निर्णय गरेको हो।

केन्द्रीय अनुगमन तथा मूल्यांकन समितिको बैठकले अत्यावश्यक र खाद्यवस्तुमा कृत्रिम अभाव र कालोबजारी रोक्नेसहित विभिन्न पाँच बुँदामा निर्णय गरेको छ । निर्वाचनमा खाद्यान्न, पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासजस्ता दैनिक उपभोग्य वस्तुहरूमा हुन सक्ने कृत्रिम अभाव, मूल्यवृद्धि र कालोबजारीजस्ता गैरकानुनी कार्यहरू रोक्न अर्थ मन्त्रालय, गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आपसी समन्वयमा नियमित बजार अनुगमन गरी प्रभावकारी कारबाही प्रक्रिया अगाडि बढाउने निर्णय समितिले गरेको छ ।

रोल्पामा निर्वाचन प्रहरीमाथि ‘गुरुबा’द्वारा कुटपिट

रोल्पामा निर्वाचन प्रहरीमाथि ‘गुरुबा’ अर्थात् तालिम प्रशिक्षकहरूले अस्पतालसम्म पुग्ने गरी कुटपिट गरेको घटना बाहिरिएको छ । गएको सोमबार घटेको उक्त घटनालाई प्रहरीले गुपचुपमा मिलाए पनि अन्ततः घटनाको वास्तविकता बाहिरिएको छ ।

प्रशिक्षणका लागि खटाइएका जनपद प्रहरीले जथाभावी लाठी प्रहार गर्दा १०४ जना निर्वाचन प्रहरी घाइते भएका छन् । जसमध्ये १६ जना रोल्पा अस्पताल रेउघामा भर्ना भएको र उपचारपश्चात् डिस्चार्ज गरिएको उपचारमा संलग्न रोल्पा अस्पतालका चिकित्सक डा. नीरज घर्तीमगरले जानकारी दिए । उनका अनुसार तीनजनाको एक्सरे गरिएको थियो भने धेरैजसोको ढाडमा र एकजनाको पुट्ठामा नीलडाम बसेको थियो । लाठी प्रहारको क्रममा केहीको मोबाइल फुटेको नाम नबताउने सर्तमा एक निर्वाचन प्रहरीले बताए ।

पूर्वराजा ज्ञानेन्द्रको सवारीले जनतालाई सास्ती

झापा पुगेका पूर्वराजा ज्ञानेन्द्र शाह आज काठमाडौं फर्किएका छन् । उनको स्वागतका लागि समर्थकहरूले त्रिभुवन विमानस्थलको सडक अवरुद्ध गरेपछि त्रिभुवन विमानस्थलको यातायात सेवा प्रभावित बनेको छ । आन्तरिक तथा बाह्य यात्रुहरू मूलगेटबाटै हिँड्न विवश छन् । विमानस्थलमा स्थानीय प्रशासनले निषेधाज्ञासमेत जारी गरेको छ । यसैबिच विमानस्थल पुगेका यात्रुहरू समस्यामा परेका हुन् । 

उम्मेदवारलाई चुनावी खर्च पारदर्शी बनाउन कांग्रेसको निर्देशन

नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि आफ्ना उम्मेदवार र पार्टी संरचनालाई चुनावी अभियानमा आर्थिक व्यवस्थापन पारदर्शी, संयमित र कानुनी दायराभित्र राख्न स्पष्ट निर्देशन दिएको छ।

पार्टीले हालै प्रकाशित ‘नेपाली कांग्रेस निर्वाचन परिचालन निर्देशिका २०८२’ शीर्षकको ३४ बुँदे परिपत्रमार्फत अभियान सञ्चालनका क्रममा स्रोत व्यवस्थापन गर्दा स्वैच्छिक सहयोग स्वीकार गर्न सकिने, तर कुनै व्यवसायी वा व्यक्तिमाथि दबाब नपर्नुपर्ने कुरा स्पष्ट पारेको छ।

निर्देशिकामा भनिएको छ कि अभियानलाई ‘साझा दायित्व र साझा स्वामित्व’को अवधारणाअनुसार अघि बढाउन सदस्यहरूको सहभागितामा निश्चित कोष खडा गरी खर्च गर्न, अनावश्यक व्यय नगर्न र मतदान सम्पन्न भएपछिका १५ दिनभित्र खर्च विवरण निर्वाचन आयोगमा पेस गर्नुपर्नेछ।

पशुपतिमा महाशिवरात्रिको तयारी तीव्र

महाशिवरात्रि पर्वका लागि पशुपतिनाथ क्षेत्रमा सरसफाइलगायत व्यवस्थापनको तयारी तीव्र पारिएको छ। 

महाशिवरात्रि पर्वलाई व्यवस्थित, मर्यादित र भव्य रूपमा सम्पन्न गर्न मूल समारोह समितिअन्तर्गत नौवटा विषयगत उपसमिति गठन गरी धमाधम तयारी भइरहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

पशुपतिमा महाशिवरात्रि मनाउन नागाबाबाहरू आउने क्रम पनि सुरु भइसकेको छ । स्वदेशका विभिन्न जिल्लाका साथै छिमेकी मुलुक भारतबाट समेत श्रद्धालुहरू पशुपति आइरहेका छन् ।

क्यानडामाथि युएई पाँच विकेटले विजयी

आइसिसी पुरुष टी–२० विश्वकपमा युएईले पहिलो जित निकालेको छ। पहिलो खेलमा न्युजिल्यान्डसँग १० विकेटले पराजित भएको युएईले शुक्रबार क्यानडामाथि पाँच विकेटको  जित निकालेको हो।

दिल्लीमा पहिले ब्याटिङ गरेको क्यानडाले सात विकेटको क्षतिमा १५० रनको योगफल तयार गरेको थियो। जवाफी ब्याटिङ गर्ने क्रममा युएईले पाँच विकेट गुमाएर दुई बलअगावै १५१ रन जोडेको हो।

पहिलो खेलमा साउथ अफ्रिकासँग ५७ रनले पराजित भएको क्यानडाले दोस्रो खेलमा पनि हार व्यहोरेको हो। युएईविरुद्ध क्यानडाका हर्ष थाकरले अर्धशतक बनाए। यसैगरी, नवनीत धलिवाल ३४, श्रेयास मोभ्वा २१ र दिलप्रित बाज्वाले ११ रनको योगदान गर्दा अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।

युएईका जुनैद सिद्धिकी एक्लैले पाँच विकेट हात पार्दा मोहम्मद जवादुल्लाहले थप एक विकेट लिए।

टोलीलाई पहिलो जित दिलाउने क्रममा युएईका आर्यन्स शर्माले नटआउट ७४ रन बनाए। ५३ बल सामना गरेका उनले ६ चौका र तीन छक्का हिर्काएका हुन्। यसैगरी सोहेब खानले २९ बलमा ५१ रनको योगदान गर्दा अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।

कांग्रेसले आइतबार प्रतिज्ञापत्र सार्वजनिक गर्ने

नेपाली कांग्रेसले आगामी आइतबार चुनावकेन्द्रित प्रतिज्ञापत्र सार्वजनिक गर्ने भएको छ। फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई ध्यानमा राखेर कांग्रेसले आइतबार प्रतिज्ञापत्र सार्वजनिक गर्ने भएको हो।

पार्टी सभापति गगनकुमार थापाले पार्टीको घोषणापत्र नभनी यो पाँच वर्ष सरकार चलाउने योजनासहितको प्रतिज्ञापत्र हुने बताएका छन्। पार्टीले समग्र क्षेत्रलाई सम्बोधन गर्ने गरी प्रतिज्ञापत्र बनाउने क्रम अन्तिम चरणमा पुगेको कांग्रेस प्रवक्ता देवराज चालिसेले विज्ञप्तिमार्फत प्रस्ट पारेका छन्। 

प्रतिज्ञापत्र पार्टी कार्यालय बिपीनगर सानेपामा ३ गते आइतबार दिउँसो २ बजे सार्वजनिक गरिने विज्ञप्तिमा उल्लेख छ।

सुझावित समाचार