बंगलादेशमा अपराह्न साढे चार बजे १३औँ राष्ट्रिय संसद् निर्वाचनको मतदान सकिएको छ। ढाका ट्रिब्युनका अनुसार बिहीबार बिहान ७ः३० बजेदेखि १३औँ राष्ट्रिय संसद् निर्वाचनका लागि मतदान सुरु भएको थियो, जसअन्तर्गत २९९ क्षेत्रका मतदान केन्द्रहरूमा कडा सुरक्षा व्यवस्थाबिच उच्च जनअपेक्षासहित मतदान सम्पन्न भएको छ।
देशभरका ४२ हजार ६५९ मतदान केन्द्रहरूमा अपराह्न ४ः३० बजेसम्म अविरल रूपमा मतदान भएको समाचारमा जनाइएको छ। तर, एक उम्मेदवारको मृत्यु भएपछि शेर्पुर–३ क्षेत्रमा हुने निर्वाचन स्थगित गरिएको छ।
कुल २९९ क्षेत्रमा १२ करोड ७२ लाख ९८ हजार ५२२ मतदाताहरू मतदानका लागि योग्य छन्। तीमध्ये ६ करोड ४६ लाख २० हजार ७७ पुरुष, ६ करोड २६ लाख ७७ हजार २३२ महिला र एक हजार २१३ तेस्रो लिंगी मतदाता छन्। ३०० निर्वाचन क्षेत्रका कुल मतदाताको संख्या १२ करोड ७७ लाख ११ हजार ८९९ रहेका छन्।
जुलाई आन्दोलनपछि गठन भएको अन्तरिम सरकारले विभिन्न अवरोधपछि बिहिबार निर्वाचन गराएको हो।