दलित समुदायलाई केन्द्रमा राखेर आगामी निर्वाचनलाई दलितमैत्री बनाउन दबाब दिने उद्देश्यसहित दलितमैत्री निर्वाचन राष्ट्रिय अभियान सुरु गरिएको छ।
दलित गैरसरकारी संस्था महासंघ नेपालसहित दलित नागरिक समाज, अभियन्ताहरू, पत्रकार र बुद्धिजीवीको सहभागितामा राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत अभियानको औपचारिक घोषणा गरिएको हो। अभियानले दलित सवाललाई बेवास्ता गर्ने राजनीतिक दल, नेता र उम्मेदवारविरुद्ध अभियान चलाउने घोषणा गरेको छ।
पत्रकार सम्मेलनमा दलित गैरसरकारी संस्था महासंघ नेपालका अध्यक्ष जेबी विश्वकर्माले संविधान जारी भएको करिब एक दशक बितिसक्दा पनि दलितका पक्षमा बनेका ऐन–कानुन प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको गुनासो गरे। उनले भने, ‘अब निर्वाचनलाई सामान्य सत्ता हस्तान्तरणको प्रक्रिया होइन, दलित समुदायको आर्थिक–सामाजिक रूपान्तरणको अवसरका रूपमा लिनुपर्छ।’
उनका अनुसार अभियानले देशभर र डिजिटल माध्यममार्फत कार्यक्रम सञ्चालन गरिरहेको छ। हालसम्म नौ राजनीतिक दललाई दलित सवाल समेटिएका सुझाव र ज्ञापनपत्र बुझाइसकिएको र १६५ वटै निर्वाचन क्षेत्रका उम्मेदवारलाई दलित समुदायका मागबारे सुझाव दिने योजना रहेको उनले जानकारी दिए। ‘हामी सबै दलितलाई मत दिनुपर्छ भन्नेमा छैनौँ,’ विश्वकर्माले भने, ‘दलितका मुद्दा उठाउने, विभेद नगर्ने र न्यायको पक्षमा उभिने उम्मेदवारलाई मात्रै मत दिने अभियान हो। जानाजानी जातीय विभेद गर्ने उम्मेदवारलाई बहिष्कार गरिन्छ।’
पत्रकार सम्मेलनसँगै दलितमैत्री निर्वाचन राष्ट्रिय अभियानका तर्फबाट १७बुँदे मागसहित प्रेस विज्ञप्ति जारी गरिएको छ। विज्ञप्तिमा आगामी निर्वाचनलाई दलितमैत्री बनाउन सबै राजनीतिक दल, नेपाल सरकार, निर्वाचन आयोग र नागरिक समाजको गम्भीर ध्यानाकर्षण गराइएको छ।
अभियानले प्रत्यक्ष र समानुपातिक दुवैतर्फ न्यूनतम १४ प्रतिशत दलित प्रतिनिधित्व सुनिश्चित गर्न, राजनीतिक दलका घोषणापत्रमा दलित सवाल अनिवार्य समावेश गर्न, विभेद गर्ने पार्टी, नेता र उम्मेदवारलाई बहिष्कार गर्दै ‘नो भोट’ अभियान सञ्चालन गर्ने स्पष्ट पारेको छ। निर्वाचनपछि घोषणापत्र कार्यान्वयन भए मात्र निर्वाचनलाई दलितमैत्री मानिने उल्लेख छ।
विज्ञप्तिमा समानुपातिक निर्वाचन प्रणालीको दुरुपयोग रोक्न, प्रभावशाली, धनाढ्य र सम्भ्रान्त वर्गको कब्जा अन्त्य गर्दै वञ्चित वर्गको पहुँच सुनिश्चित गर्न कानुनी सुधारको माग गरिएको छ। साथै, प्रत्यक्ष निर्वाचनमा दलित उम्मेदवारी अत्यन्त न्यून हुनु संविधानको गम्भीर उल्लंघन भएको ठहर गरिएको छ।