काठमाडौं १ मा बिरासत जोगाउने र इतिहास रच्ने प्रतिस्पर्धा

काठमाडौंका १० मध्ये सबैभन्दा कम मतदाता रहेको यो क्षेत्रमा २९ उम्मेदवार मैदानमा, जसमा चार महिला प्रतिस्पर्धामा छन्

सोमबार, २६ माघ, २०८२
डिजिटल संस्करण

संघीय राजधानी काठमाडौं, त्यसको पनि मुटु मानिने निर्वाचन क्षेत्र नम्बर १ मा बिरासत जोगाउने र इतिहास रच्ने प्रतिस्पर्धा हुँदै छ । ०६४ को पहिलो संविधानसभा निर्वाचनदेखिका चारवटै चुनाव जितेर आफ्नो किल्ला बनाएको कांग्रेसले यसपटक प्रकाशमान सिंहलाई विश्राम दिएको छ । कांग्रेसले युवा नेता प्रबल थापा क्षेत्रीलाई कांग्रेसको बिरासत जोगाउने अभिभारा छ । ०७४ मा विवेकशील साझा र ०७९ मा राप्रपाबाट सिंहका निकटतम प्रतिस्पर्धी राप्रपाका रवीन्द्र मिश्र संसद् छिर्ने दाउमा छन् । २१ फागुनमा हुने चुनावका लागि एमालेका मोहनराज रेग्मी, नेकपाका मेनुका भण्डारी (कृतु), रास्वपाका रञ्जु दर्शना (न्यौपाने)सहित २९ उम्मेदवार यही क्षेत्रबाट उम्मेदवार छन् ।

०८४ को नियमित चुनाव ०८२ मै मध्यावधिमा परिणत गर्ने जेन–जी आन्दोलनको केन्द्र पनि यही क्षेत्र हो । त्यसैले यो क्षेत्र सर्वाधिक चासोको विषय बनेको छ । हाल काठमाडौं १ मा पर्ने वडाहरू ०४८, ०५१ र ०५६ को संसदीय निर्वाचनमा फरक–फरक क्षेत्रमा थिए, त्यतिवेला काठमाडौंमा सातवटा निर्वाचन क्षेत्र थिए । ०६४ को निर्वाचनअघिदेखि यो क्षेत्र अस्तित्वमा आएको हो । त्यसअघि यही क्षेत्रबाट एमालेका जननेता मदन भण्डारीले तत्कालीन प्रधानमन्त्री काग्रेसका कृष्णप्रसाद भट्टराईलाई ०४८ मा हराएका थिए । 

०६४ मा एमालेका तत्कालीन नेता प्रदीप नेपाललाई हराएर सिंहले कांग्रेसको किल्ला बनाएका थिए । उनले ०६४, ०७०, ०७४ र ०७९ को चुनाव जिते । ०७४ को चुनावमा सिंह १० हजार ९३६ मत ल्याएर निर्वाचित हुँदा विवेकशील साझाका उम्मेदवार मिश्रले १० हजार ११८ मत पाएका थिए । तीन वर्षअघि राप्रपाबाट उम्मेदवार बन्दा १२५ मतान्तरले पराजित बनेका थिए । सिंह सात हजार १४३ मत ल्याएर निर्वाचित हुँदा मिश्रले भने सात हजार १८ मत ल्याएका थिए । त्यतिवेला कांग्रेसलाई नेकपा (तत्कालीन माओवादी र एकीकृत समाजवादी)ले सघाएका थिए । १६ दल र १३ स्वतन्त्र गरी २९ उम्मेदवारमध्ये चारजना मात्र महिला छन् । नेकपाले ३८ वर्षीया मेनुका भण्डारी (कृतु), रास्वपाले ३० वर्षीया रञ्जु दर्शना (न्यौपाने), नेमकिपाले ४१ वर्षीया रमिला ज्याख्व (सुवाल) र स्वतन्त्र उम्मेदवार शान्ति श्रेष्ठ चुनावी मैदानमा छन् ।

एमालेले यो क्षेत्रमा मोहनराज रेग्मीलाई अघि सारेको छ । प्रकाशमानले भत्काएको पुरानो विरासत फर्काउने चुनौती उनलाई छ । ०४८ देखि ०५६ सम्म काठमाडौं १ एमालेले जितेको थियो । रास्वपाबाट उम्मेदवार रञ्जु ०७२ मा काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार बनेर चर्चामा आएकी थिइन् । समानुपातिक बन्दसूचीबाट नाम फिर्ता लिएर आठ महिनाकी गर्भवती न्यौपाने प्रत्यक्षमा उत्रिएकी हुन् । ०७९ को निर्वाचनमा काठमाडौं ५ बाट उम्मेदवार बनेकी थिइन् । उनले पार्टी र निर्वाचन क्षेत्र दुवै फेरेकी छिन् ।

त्यस्तै, नेमकिपाबाट रमिला ज्याख्व, मितेरी पार्टीबाट राजकुमार लिम्बू, जसपा नेपालबाट प्रकाश नायजू, प्रलोपाबाट सविन सिग्देल, श्रम संस्कृति पार्टीबाट समीर लामा, माओवादीबाट धनराज शाही, उज्यालो नेपालबाट मंगललाल श्रेष्ठ, रामुपाबाट इन्द्रप्रसाद श्रेष्ठ, जनसेवाबाट अर्जुनबहादुर शाही, समावेशी समाजवादीबाट सुरेन्द्र पाण्डे र जनादेश पार्टीबाट कमल सुवेदीसहित १३ जना स्वतन्त्र उम्मेदवार गरी २९ जना चुनावी मैदानमा छन् । असिमानसिंह बस्न्यात, कमल कोइराला, कुशल खत्री, कुमार शाही, किरण शाह, राजु भुजेल, रमेशप्रसाद जोशी, राजकुमार बजगाईं, शम्भु पोखरेल, शान्ति श्रेष्ठ, सुरेन्द्रप्रसाद ढकाल, सागर जोशी र संगीत बम स्वतन्त्र उम्मेदवार छन् ।

के भन्छन् उम्मेदवार ?
जनजीविकाका मुद्दामा निरन्तर आवाज उठाउँछु 
प्रबल थापा, कांग्रेस

सुशासन र राजनीति सुधार, लोकतन्त्रको रक्षा, पारदर्शिता र जवाफदेहिता प्रवद्र्धन, नीति–निर्माणमा सक्रिय र रचनात्मक भूमिका निर्वाह गर्नेछु । ट्राफिक व्यवस्थापनमा सुधार र वैज्ञानिक पार्किङ प्रणाली लागू गर्ने, व्यावसायिक सुरक्षाको वातावरण निर्माण, शान्त र सुरक्षित आवास क्षेत्र, स्थानीयमा उद्यमशीलता प्रवद्र्धन, भित्री बसोवास स्थलबिच कनेक्टिभिटी, स्वच्छ खानेपानी, फोहोर व्यवस्थापन, ढल निकासको एजेण्डा हुन् ।

उपस्थित भएर समस्या समाधानमा पहल गर्छु
रवीन्द्र मिश्र, राप्रपा

सांसदको रूपमा मेरो दुईटा दायित्व हुनेछ । एउटा राष्ट्रिय राजनीतिमा मैले खेल्ने भूमिकाको दायित्व र अर्को मेरो निर्वाचन क्षेत्रप्रतिको दायित्व । राष्ट्रिय एजेन्डामा राजनीतिमा मैले आजभन्दा २०–३० वर्षपछिको देशको भविष्यलाई मनन गरेर, देशको आन्तरिक र भूराजनीतिक संवेदनशीलतालाई मनन गरेर मेरो ब्रह्म, विवेक, इमान, क्षमताले भ्याएसम्म नीति, नियम र कानुन निर्माणमा खेल्ने भूमिका । 

अव्यवस्थित बसोबास हटाउन पहल गर्छु 
मोहनराज रेग्मी, एमाले

अव्यवस्थित र सुकुमवासी बस्ती समस्यालाई हल गर्ने मुख्य मुद्दा हुन् । नदी–किनारमा अव्यवस्थित बसोबासलाई व्यवस्थित बनाउनेछु । हाम्रो पार्टीले हिजो ४० मिटरको मापदण्ड हटाउने कुरामा मुद्दा गरेको थियो । त्यसको परिणाम आज २० मिटर कायम भएको छ । व्यवसाय सञ्चालन गर्न दिउँसो पार्किङको व्यवस्थापन नहुने समस्या छ । 

स्थानीय तह र केन्द्रीय मन्त्रालयसँग जोडेर काम गर्नेछु 
रञ्जु दर्शना (न्यौपाने), रास्वपा

स्थानीय तह र केन्द्रीय मन्त्रालयसँग जोडेर क्षेत्रको विकास निर्माणका लागि काम गर्नेछु । क्षेत्रमा भएका समस्या समाधान गर्नेछु । साइकलमैत्री क्षेत्र बनाउने, पुराना बस्तीमा एम्बुलेन्स, दमकलसमेत जान नसक्ने अवस्था छ, त्यसलाई व्यवस्थित गर्ने, सुकुमवासी बस्ती र बागमती सभ्यताको विषय पनि छ । जेन–जी विद्रोहको इपिसेन्टर यही क्षेत्र हो । यहाँ विशेष सुरक्षाको स्थिति पनि जरुरी छ । 

भ्रष्टाचारविरुद्ध शून्यसहनशीलताको मुद्दा उठाउँछु 
मेनुका भण्डारी (कृतु), नेकपा

संविधान संशोधन, शिक्षा, स्वास्थ्य र रोजगारीको मौलिक हक ग्यारेन्टी, राजनीतिक स्थिरताका लागि शासकीय स्वरूपमा परिमार्जन, राष्ट्रियता, भ्रष्टाचारविरुद्ध शून्यसहनशीलतालगायतका विषय उठाउनेछु । नेवालगायत अन्य समुदायको भाषा, धर्म, संस्कृति, कला र सम्पदाको संरक्षणलगायतका काम गर्नेछु ।

सुझावित समाचार