लडाइँ भ्रष्टाचारी र सुशासन चाहनेहरूबिचको हो : लामिछाने

आइतबार, २५ माघ, २०८२
डिजिटल संस्करण

रास्वपा सभापति रवि लामिछानेले अहिलेको लडाइँ भ्रष्टाचारीहरू र सुशासन चाहानेहरूका बिचको भएको बताएका छन् । आफ्नो निर्वाचन क्षेत्र चितवन २ मा शनिबार चुनावी प्रचार कार्यक्रममा लामिछानेले भ्रष्टाचारलाई जरैदेखि निर्मूल पार्ने भए आगामी निर्वाचनमा दुवै भोट घण्टीमा दिन आग्रह गरे । ‘यदि भ्रष्टाचार राख्ने हो भने राख्नुस्, मलाई केही भन्नु छैन,’ उनले भने, ‘तर सबै भ्रष्टाचार फाल्ने हो भने दुईवटै भोट घन्टीमा हाल्नुस् ।’

घन्टी चुनाव चिह्नले काम नगरे विकल्प खोजिने पनि उनले बताए । ‘घन्टीले काम गरेन भने मै सोचौँला नि । पाँच वर्षको स्थायी सरकार बनाएर त्यो स्थायी सरकारले पनि जनताको वाचा पूरा गरेन भने यसरी नाक ठड्याएर चोकमा उभिने साहस होला र मेरो ? कसैले घन्टीमा सदस्यता लिनुभएको छ भने च्यातिदिए हुन्छ,’ उनले भने, ‘काम नगर्ने मान्छेलाई किन पाल्ने ? अर्को विकल्प आउँछ ।’

लामिछानेले लोकतन्त्र जोगाउने ठेक्का ठुला दलहरूले लिएकोजस्तो देखिने गरेको टिप्पणी गरे । जनताले ल्याएको लोकतन्त्र जनताले नै जोगाउने उनको भनाइ छ । ‘लोकतन्त्रको चिन्ता गर्छन् यहाँ ठुला दलहरू, कत्ति न उनीहरूले ठेक्का पाएजस्तो । लोकतन्त्र कुनै नेताले वा पार्टीले जोगाएको होइन, जनताले जोगाएका हुन्,’ उनले भने, ‘जनताले नै लोकतन्त्र जोगाउँछन् ।’

एमाले अध्यक्ष केपी ओलीप्रति लक्षित गर्दै लामिछानेले लोकतन्त्र अब खतरामा नरहेको बताए । ‘लोकतन्त्रको खतरा हेलिकोप्टर चढेर भाग्यो, अब खतरा छैन,’ उनले भने, ‘तर फेरि त्यो हेलिकोप्टर बालुवाटार वा सिंहदरबारमा ल्यान्ड भयो भने लोकतन्त्र ठुलो खतरामा पर्छ ।’ यस्तो अवस्था आउन नदिन जनताले नै लोकतन्त्र जोगाउनुपर्ने उनको भनाइ छ । लामिछानेले चितवन २ अन्तर्गत भरतपुर महानगरपालिका र कालिका नगरपालिकाका १० वटा वडामा सम्पर्क कार्यालयको स्थापना र कार्यकर्तासँग छलफल गरेका छन् । 

सुझावित समाचार