सल्यान निर्वाचन : नेकपा आफ्नो किल्ला जोगाइराख्ने जोडमा, कांग्रेस–एमाले विरासत फर्काउने होडमा

शुक्रबार, २३ माघ, २०८२
डिजिटल संस्करण

एक निर्वाचन क्षेत्र रहेको सल्यानमा यसपटकको चुनावमा १२ राजनीतिक दल र दुई स्वतन्त्रसहित १४ उम्मेदवार प्रतिस्पर्धामा छन् । विगतमा पुरानै अनुहार उम्मेदवार बनाउँदै आएका राजनीतिक दलहरूले यसपटक भने नयाँ अनुहारहरूको प्रतिस्पर्धा गराएका छन् । जिल्लामा विगतका निर्वाचनका लागि राजनीतिक दलहरूका पुराना नेताहरूको हालीमुहाली हुँदै आइरहेको थियो । उनीहरू नै उम्मेदवार हुँदै आएका थिए । तर, यसपटक पूर्ण रूपमा नयाँ अनुहार नै प्रतिस्पर्धामा देखिएका छन्। 

सल्यानमा नेपाली कम्युनिस्ट पार्टी नेकपा (माओवादी) फ्याक्टर बलियो देखिन्छ। जसले यसपटक पनि आफ्नो जितको निरन्तरता दिनलाई युवा नेता रमेशकुमार मल्ललाई उम्मेदवार बनाएको छ । ०५१ मा नेपाली कांग्रेसका राजेन्द्रबहादुर शाह र ०५६ एमालेबाट प्रकाश ज्वालाले जितेका थिए । त्यसपछिका सबै निर्वाचनमा तत्कालीन माओवादीले जित हात पार्दै आइरहेको छ । ०५६ मा एमालेबाट निर्वाचित ज्वाला एकीकृत समाजवादी र माओवादीबिच पार्टी एकतापछि नेकपामा छन्। ०६४, ०७० र ०७४ मा माओवादी केन्द्रका टेकबहादुर बस्नेतले  निर्वाचन जितेका थिए। ०७९ को निर्वाचनमा माओवादीको सहयोगमा तत्कालीन समाजवादीका नेता ज्वाला निर्वाचित  भएका थिए । 

यसपटक सबै उम्मेदवार नयाँ र युवा भएकाले यसै भन्न नसकिए पनि मुख्यतः तीन पार्टीबिच नै प्रतिस्पर्धा हुने देखिन्छ । नेपाली कांग्रेस ०५१ र एमाले ०५६ को जित दोहोर्याउने होडमा छ भने नेकपा आफ्नो जितलाई निरन्तरता दिने जोडमा रहेको छ। ०६४ पछिको निर्वाचनमा माओवादी फ्याक्टर बलियो देखिँदै आएको छ। नेकपा आफ्नो किल्ला जोगाइराख्ने प्रयासमा देखिन्छ भने कांग्रेस र एमाले पुनरावृत्ति गर्ने दाउमा देखिन्छन् । यद्यपि, साना दलहरूले पनि राजनीतिक दलहरूलाई टक्टर दिने देखिन्छ । सबै उम्मेदवार नयाँ भएकाले मत विभाजनको सम्भावना पनि उच्च देखिन्छ । 

कस्ता छन् नयाँ अनुहार ? 
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट उम्मेदवार बनेका रमेशकुमार मल्ल  चुनावी प्रतिस्पर्धामा नयाँ  हुन् । उनी नेकपाका पुराना र सल्यानबाट पटक–पटक सांसद, मन्त्री भइसकेका टेकबहादुर बस्नेत र प्रकाश ज्वालालाई उछिनेर उम्मेदवार बन्दै पहिलोपटक निर्वाचनमा होमिएका व्यक्ति हुन् । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डको सचिवालयमा बसेर राजनीतिमा सक्रिय थिए । विद्यार्थी राजनीतिबाट उदाएका मल्ल अहिले नेकपाको केन्द्रीय सदस्य छन् । 

नेपाली कांग्रेसबाट केशबहादुर विष्ट पहिलोपटक संसदीय निर्वाचनको प्रतिस्पर्धामा रहेका छन्। उनी नेपाली कांग्रेस सल्यानका जिल्ला सभापति तथा जिल्ला समन्वय समितिका पूर्वप्रमुखसमेत हुन्। विष्ट ०७९ सालको स्थानीय निर्वाचनमा पालिका अध्यक्षमा पराजित भएका थिए। नेकपा एमालेबाट गुलाबजंग शाह उम्मेदवार बनेका छन् । उनी कर्णाली प्रदेशमा पूर्व प्रदेश सभा सदस्य भइसकेका नेता हुन् भने ०७९ को निर्वाचनमा प्रदेश सभा सदस्य निर्वाचनमा पराजित भएका हुन् । प्रतिनिधिसमाभा भने पहिलोपटक उम्मेदवार बनेका छन्।

नेकपा (माओवादी) बाट चन्द्रबहादुर खड्का (असल) उम्मेदवार बनेका छन्। खड्का पार्टीको पोलिटब्युरो सदस्य हुन्। नेकपा माओवादी पहिलोपटक संसदीय निर्वाचनमा गएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट ललितचन्द उम्मेदवार रहेका छन्। उनी पनि नयाँ उम्मेदवार हुन्। राप्रपाबाट अमिसा नेपाली उम्मेदवार बनेकी छिन् । उनी राप्रपाबाट समानुपातिकतर्फको निवर्तमान प्रतिनिधिसभा सदस्य हुन् । 

सुझावित समाचार