बैतडी बस दुर्घटना : सभापति थापाद्वारा दुःख व्यक्त

शुक्रबार, २४ माघ, २०८२
डिजिटल संस्करण

 बैतडीको पुर्चौडी नगरपालिकामा भएको बस दुर्घटनामा १३ जनाको मृत्यु भएपछि नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले दुःख व्यक्त गरेका छन्।

शुक्रबार जारी गरिएको शोक सन्देशमा सभापति थापाले दुर्घटनाको खबरले आफू अत्यन्तै स्तब्ध र मर्माहत भएको उल्लेख गरेका छन्। उनले ज्यान गुमाएका सबैप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माहरूको चिरशान्तिको कामना गरेका छन्। साथै, शोकमा रहेका परिवारजनप्रति पार्टी र व्यक्तिगत तर्फबाट समवेदना प्रकट गरेका छन्।

थापाले दुर्घटनामा घाइते भएका व्यक्तिहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरूको उपचारका लागि आवश्यक सबै व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन्।

बिहीबार जन्ती बोकेको बस दुर्घटनामा परेको थियो। पुर्चौडी नगरपालिका– ७, भवनेबाट बझाङतर्फ जाँदै गरेको सुप प्र ०२ ००१ ख १११९ नम्बरको बस पुर्चौडी–७ स्थित बडगाउँ मोडमा दुर्घटनाग्रस्त भएको हो। दुर्घटनामा आठजनाको घटनास्थलमै र पाँचजनाको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो।

उक्त दुर्घटनामा ३४ जना घाइते भएका छन्। घाइतेहरूको डडेल्धुरा, धनगढी र बझाङका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

सुझावित समाचार