बिहीबार : १० बजेसम्मका मुख्य १० समाचार

बिहिबार, २२ माघ, २०८२
डिजिटल संस्करण

बैतडीमा भएको जन्ती बस दुर्घटनामा आठजनाको मृत्यु, ३७ घाइते

बैतडीमा भएको जन्ती बस दुर्घटनामा आठजनाको मृत्यु भएको छ। बिहीबार बेलुका जन्ती बोकेको बस पुर्चौडी नगरपालिका–७, बडूगाउँ मोडमा दुर्घटनामा परेको हो। 

जिल्ला प्रहरी कार्यालय बैतडी दीपककुमार रायका अनुसार ४५ जना घाइते भएकोमा ८ जनाको मृत्यु भएको छ। 

मृत्यु हुनेहरूमा बझाङ बित्थडचिर गाउँपालिका ७ का ४० वर्षीय केशवराज जोशी, १३ वर्षीय अशोकराज जोशी, ३५ वर्षीय वसन्त जोशी, ४१ वर्षीय विष्णुदत्त जोशी, ४२ वर्षीय नरेशराज जोशी, केदारस्यु गाउपाँलिकाका ६० वर्षीय मोहनदेव भट्ट, जयपृथ्वी नगरपालिकाका ४० वर्षीय वसन्तराज रतला र बैतडीको पुर्चाैडी ७ की ४० वर्षीया पुष्पा अवस्थी छन्। घाइतेहरूको स्वास्थ्य चौकी कोटिलामा उपचारका लागि पठाइएको र कतिपयको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। 

अघिल्लो सरकारले निजीकरण गर्ने निर्णय लिएको उदयपुर सिमेन्ट उद्योगमा बालेनको पाइला

कांग्रेस–एमाले नेतृत्वको अघिल्लो सरकारले निजीकरण गर्ने निर्णय गरेको उदयपुर सिमेन्ट उद्योगमा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन साह पुगेका छन् ।
दुई ठुला पार्टीको गठबन्धनबाट बनेको केपी ओली नेतृत्वको सरकारले गत १५ वैशाखको मन्त्रिपरिषद् बैठकबाट उदयपुर समेन्टसहित सात सरकारी संस्थान निजीकरण गर्ने निर्णय गरेको थियो । निजीकरण गर्ने सरकारी निर्णयलगत्तै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सबै उद्योग बन्द गराएको थियो ।

बन्द अवस्थामा रहेको उदयपुर सिमेन्ट उद्योगमा बिहीबार बिहान पुगेका बालेनले सरकारी संस्थानको संरक्षण र प्रवर्द्धन गर्नुपर्ने अभिव्यक्ति दिएका छन् । भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत भइरहेका बालेनले उद्योगको मूलगेटअगाडि फोटो खिचेर ‘उदयपुर सिमेन्टजस्तो उद्योगलाई राज्यले संरक्षण तथा प्रवर्द्धन गर्नुपर्छ’ भनेर दिएको अभिव्यक्तिलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

उदयपुर सिमेन्ट उद्योग पूर्ण क्षमता सञ्चालन हुने हो भने देशभरको खपतको आधाभन्दा बढी माग सोही उद्योग एक्लैले पूर्ति गर्न सक्छ । तर, विदेशी दाताको पैसाले उद्योग खाेलेर राजनीतिक कार्यकर्ताको भर्तीकेन्द्र बनाइँदा सरकारी स्वामित्वका धेरै उद्योग धराशायी भएका छन् । ओली नेतृत्वको १५ वैशाखको मन्त्रिपरिषद् बैठकले उदयपुर सिमेन्टसहित जनकपुर चुरोट कारखाना, गोरखकाली रबर उद्योग, हेटाैँडा सिमेन्ट, नेपाल मेटल कम्पनी, बुटवल धागो कारखाना र नेपाल ओरियन्ड म्याग्नेसाइटलाई निजीकरण गर्ने निर्णय गरेको थियो ।

६० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

निर्वाचन आयोगले ६० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकिएको जनाएको छ। प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत दुई करोड तीन लाख २३ हजार मतपत्र आवश्यक हुनेमा बिहीबार बिहानसम्म ७२ हजार ६० हजार छपाइ सकिएको हो। 

२५ जिल्लाको छपाइ र प्याकिङ सकिएको आयोगले जनाएको छ। समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत दुई करोड ८ लाख ३० हजार मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ। 

प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ का लागि मतपत्र छपाइको प्रगतिबारे बिहीबार जानकारी लिएकी छिन्। जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको छापाखानामा अवलोकन निरीक्षण गरी मतपत्र छपाइबारे जानकारी लिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।  

निर्वाचन तोकिएकै दिन, एकै चरणमा हुन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री सुशीला कार्कीले निर्धारित मितिमै निर्वाचन हुने स्पष्ट पार्दै यसबारे कुनै शंका नगर्न सबैलाई आग्रह गरेकी छिन्। बिहीबार जनक शिक्षा सामग्री केन्द्रमा भइरहेको मतपत्र छपाइ कार्यको अनुगमनपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले निर्वाचन प्रक्रिया योजनाअनुसार नै अघि बढिरहेको बताइन्।

प्रधानमन्त्री कार्कीले निर्वाचन एकै चरणमा सम्पन्न हुने जानकारी दिँदै नागरिकहरूलाई ढुक्क र निश्चिन्त रहन आग्रह गरिन्। निर्वाचनका बेला देशभरको मौसम अनुकूल रहने विश्वास व्यक्त गर्दै उनले सबै मतदाताले सहज र निर्बाध रूपमा मतदान गर्न पाउने बताइन्।

निर्वाचन सम्पन्न भएपछि निर्वाचित प्रतिनिधिसभालाई सत्ता हस्तान्तरण गरेर वर्तमान सरकार आफ्नो जिम्मेवारीबाट अलग हुने पनि उनले स्पष्ट पारिन्। 'निर्वाचन तोकिएकै दिन हुन्छ, दुई चरणमा हुँदैन। मौसम पनि अनुकूल हुनेछ। हामी मतदान गर्छौँ, प्रतिनिधिसभालाई सत्ता सुम्पन्छौँ र घर फर्कन्छौँ,' उनले भनिन्।

प्रधानमन्त्री कार्कीले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न निर्वाचन आयोगले खेलेको भूमिकाको प्रशंसा गर्दै आयोगप्रति आभार व्यक्त गरिन्।

सिंहदरबारमा आगजनी गरेको आरोपमा एकजना पक्राउ

जेन-जी आन्दोलनको क्रममा सिंहदरबारमा आगजनी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर, काठमाडौंले चितवनको खैरहनी ९ घर भई काठमाडौं अनामनगर बस्ने ३६ वर्षीय महेन्द्र गौतमलाई पक्राउ गरेको हो। 

उनले सिंहदरबारमा आगो लगाउन अरूलाई उक्साएको र भिडलाई उत्तेजित बनाएको एसपी पवन भट्टराईले जानकारी दिए। उनलाई आपराधिक उपद्रव मुद्दामा थुनामा राख्न अदालतबाट पाँच दिन म्याद लिइएको प्रहरीले जनाएको छ। उनले सिंहदरबार आफूले जलाएको हो भन्दै अन्तर्वार्ता पनि दिए। 

तीन करोड रुपैयाँबराबरको चोरी गर्ने व्यक्ति पक्राउ

काठमाडौंमा शृंखलाबद्ध चोरीमा संलग्न व्यक्ति पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर, काठमाडौंले बाँकेको नेपालगन्ज घर भएका ४१ वर्षीय प्रेम थारूलाई पक्राउ गरेको हो। 

उनले तीनजनाको घरबाट एक करोड ६ लाख १४ हजार दुई सय रुपैयाँबराबरको चोरी गरेको एसपी पवनकुमार भट्टराईले बताए।  पछिल्लोपटक उनले गत मंगलबार बौद्धस्थित एक घरमा चोरी गरेका थिए। नियन्त्रणका लागि प्रहरीले उनलाई गोली चलाएको थियो। 

उनको साथबाट करिब ६५ तोला सुन र विभिन्न देशको मुद्रा बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ परेका थारू यसअघि पनि चोरी मुद्दामा तीन वर्ष जेल बसेर छुटेका व्यक्ति हुन्। हालसम्म नौ जना पीडित सम्पर्कमा आइसकेको प्रहरीले जनाएको छ। 

विश्वकपमा टेस्ट राष्ट्रलाई हराउन सक्छौँ : रोहित

नेपाली राष्ट्रिय टिमका कप्तान रोहितकुमार पौडेलले आइसिसी पुरुष टी–२० विश्वकपमा टेस्ट राष्ट्रलाई हराउन सक्ने आत्मविश्वास रहेको बताएका छन् । 

बिहीबार मुम्बईको वानखेडे रंगशालास्थित बिसिसिआई भवनमा भएको पत्रकार सम्मेलनमा बोल्दै रोहितले पछिल्लो समय टेस्ट राष्ट्रसँग खेल्दै गएको अनुभव भएकाले टेस्ट राष्ट्रलाई हराउन खेल्ने बताएका हुन् । 

‘हामीले पछिल्लो समय टेस्ट राष्ट्रसँग खेल्दै आएका छौँ । त्यसैले पनि बढी आत्मविश्वास छ । हामी यसपटक टेस्ट राष्ट्रलाई विश्वकपमै हराउन सक्छौँ,’ राेहितले भने । 

नेपाल तेस्रोपटक विश्वकप खेल्न छनोट भएको छ । यसअघि नेपालले सन् २०१४ र सन् २०२४ मा विश्वकप खेलेको थियो । 

समूह ‘सी’मा रहेको नेपालले दुईपटकको विजेता वेस्ट इन्डिजसँगै एकपटकको इंग्ल्यान्ड, स्कटल्यान्ड र इटालीसँग खेल्दै छ । नेपालले पहिलो खेल इंग्ल्यान्डसँग खेल्ने कार्यक्रम रहेको छ । 

कप्तान रोहित यो विश्वकपपछि नयाँ खेलाडीका लागि थप भविष्य खोल्ने बताए । ‘हामीले सन् २०१४ को विश्वकप हेरेका थियौंँ । अहिले विश्वकप खेलिरहेका छौँ। हामीले विश्वकप खेल्दा थप नयाँ खेलाडी आउने विश्वाास छ ।’

नेप्से परिसूचक २७ सय विन्दुमाथि, साढे ११ अर्बको कारोबार

साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार उत्साहजनक देखिएको छ। नेप्से परिसूचक २७.१९ अंकले उकालो लाग्दै दुई हजार ७०८.७० विन्दुमा पुगेर बन्द भएको छ।

बजार बढेसँगै कारोबार रकममा पनि उल्लेखनीय सुधार आएको छ। अघिल्लो दिन बुधबार सात अर्ब ४९ करोड रुपैयाँको कारोबार भएकोमा बिहीबार ११ अर्ब रुपैयाँभन्दा बढीको सेयर किनबेच भयो।

आज कुल ३२६ कम्पनीका तीन करोड ५५ लाख ७४ हजार ६२७ कित्ता सेयर ११ अर्ब ५८ करोड २८ लाख ९३ हजार आठ सय रुपैयाँमा कारोबार भए। कारोबारका क्रममा तीन कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा पुगेको छ। कालिञ्चोक दर्शन, सुपर माई हाइड्रोपावर र मोदी इनर्जीको सेयर मूल्य १० प्रतिशतले बढ्यो। त्यस्तै, राधी पावर र कालिञ्चोक हाइड्रोपावरको सेयर नाै प्रतिशतभन्दा बढीले उकालो लाग्यो।

यद्यपि, सबै लगानीकर्ता लाभमा रहेनन्। सुपर मादी हाइड्रोपावरका लगानीकर्ताले भने घाटा व्यहोर्नुपर्यो। सो कम्पनीको सेयर मूल्य ९.९८ प्रतिशतले घटेको छ।

देशको दुःखअगाडि मेरो पीडा केही होइनः रास्वपा सभापति लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले देशले भोगिरहेको दुःखका अगाडि आफूले भोगेका पीडा गौण भएको बताएका छन् । बिहीबार आफ्नो निर्वाचन क्षेत्र चितवन–२ पुगेका लामिछानेले अब व्यक्तिगत पीडाभन्दा देशको सामूहिक पीडाका विषयमा बोल्ने बताए ।

‘अब आफ्ना मात्रै कुरा गरेर हुँदैन,‘ उनले भने, ‘सिंगो देशले पाएको दुःखअगाडि मेरो दुःखको कुनै हिसाब छैन । अब आफ्ना पीडाको कुरा गर्दिनँ । देशको पीडाको कुरा गर्नेछु ।’
उनले पुराना राजनीतिक दल वा तिनका नेताहरूलाई गाली गर्ने पक्षमा पनि आफू नरहेको बताए । नेपाली जनताले अपदस्त गरेकाहरुलाई आफुले गाली गरिरहनु नपर्ने उनको भनाई थियो ।  ‘म कुनै राजनीतिक दल या अमूक नेतालाई गाली गर्ने पक्षमा छैन,’ उनले भने, ‘नेपाली जनताले अपदस्त गरिसकेपछि अपदस्त भइसकेकाहरूलाई मैले गाली गर्नै पर्दैन ।’

सभापति लामिछानेले आफूले धेरै दुःख पाए पनि चितवनका जनताले रास्वपालाई दिएको साथले थप जिम्मेवारी बढाएको बतए। उनले चितवनबाट सुरु भएको निलो क्रान्तिको विउ देश भर फैलिएको दावी गरे । ‘मतपत्रबाट नेपाली जनताको भाग्य र भविष्य कोर्ने सुरुवात चितवनबाट भएको हो,’ उनले भने, ‘अब यो देशभर फैलिन्छ ।’

टी–२० विश्वकप : दोस्रो वार्मअप खेलमा नेपालको सहज जित

टी–२० विश्वकपअन्तर्गत दोस्रो वार्मअप खेलमा नेपालले सहज जित निकालेको छ। क्यानडालाई नेपालले ६ विकेटले पराजित गरेको छ। 

पहिले ब्याटिङ गरेको क्यानडाले नेपाललाई १६१ रनको लक्ष्य दिएको थियो। १८ ओभरमा नेपालले चार विकेट गुमाएर नेपालले सहज रूपमा सो लक्ष्य पूरा गरेको हो। 

नेपालका लागि आसिफ शेखले आक्रामक अर्धशतक प्रहार गरेका थिए। २९ बलमा ५८ रन जोडेर उनी रिटायर्ड आउट भए । त्यस्तै, सन्दीप जोराले ४४, गुल्सन झाले अविजित ३१ रनको योगदान दिए। 

पहिलो वार्मअप खेलमा नेपालले युएईलाई मंगलबार सात विकेटले पराजित गरेको थियो।  विश्वकपअन्तर्गत पहिलो खेल नेपालले आगामी आइतबार इंग्ल्यान्डविरुद्ध खेल्नेछ। 

सुझावित समाचार