रौतहटमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सगिर आलमको गाडीको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु भएको छ। प्रहरीले चालक सेख मुस्ताकलाई पक्राउ गरी कारबाही अघि बढाएको छ।
बिहीबार दिउँसो ईशनाथ नगरपालिका–४, मठिया टोलकी करिब ४ वर्षीया अलसा खातुनको सवारी दुर्घटनामा मृत्यु भएको हो। बा. १५ च ४२४४ नम्बरको क्रेटा गाडीको ठक्करबाट उनी गम्भीर घाइते भएकी थिइन्। चालकले सोही गाडीमा राखेर उनलाई अस्पताल लगेकोमा उपचारको क्रममा मृत्यु भएको रौतहटका एसपी सीताराम रिजालले बताए। बालिकाको मृत्यु भएपछि अस्पतालबाट भागेका चालकलाई पछि पक्राउ गरिएको प्रहरीले जनाएको छ।
आलम रौतहट २ बाट प्रतिनिधिसभा उम्मेदवार हुन्। दुर्घटनाको वेला उनी गाडीमा सवार नभएको एसपी रिजालले बताए।