बुधबारः १० बजेसम्मका मुख्य १० समाचार

बुधबार, २२ माघ, २०८२
डिजिटल संस्करण

भ्रामक सूचना रोक्न निर्वाचन आयोग र टिकटकले सहकार्य गर्ने

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलक्षित भ्रामक सूचना रोक्न निर्वाचन आयोग र भिडियो स्ट्रिमिङ प्लेटफर्म टिकटकले सहकार्य गर्ने भएका छन्। निर्वाचनको नैतिकतालाई प्रवर्द्धन गर्ने उद्देश्यले बुधबार आयोग र टिकटकबिच समझदारीपत्रमा हस्ताक्षर भएको हो।

स्वास्थ्य बिमा सुधार गर्ने उपाय निकाल्न प्रधानमन्त्रीको निर्देशन

स्वास्थ्य बिमा बोर्डले सेवा खुम्चाएकोप्रति प्रधानमन्त्री सुशीला कार्कीले असन्तुष्टि जनाउँदै जसरी पनि बिमा गरेका नागरिकलाई सेवा दिन निर्देशन दिएकी छिन्। बुधबार सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री कार्कीले बिमाको लागि स्रोत तानतुन पारी कुनै न कुनै उपाय निकाल्न स्वास्थ्य मन्त्रालय, स्वास्थ्य बिमा बोर्डलगायतलाई निर्देशन दिइन्।

१० न्यायाधीशको सरुवा, २० को पदस्थापन

न्यायपरिषद्ले १० जिल्ला न्यायाधीशको सरुवा तथा २० जिल्ला न्यायाधीशको पदस्थापनका लागि सिफारिस गरेको छ। बुधबार बसेको परिषद्को बैठकले सरुवा र पदस्थापनका लागि सिफारिस गरेको हो।

एमाले र ओलीलाई सिध्याउन जाँचबुझ आयोग बनाइएको बादलको आरोप

नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले पुराना दल र नेताहरूलाई सखाप पारेर नयाँलाई स्थापित गर्ने षड्यन्त्र भएको बताएका छन्। बुधबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै बादलले पहिलो ‘टार्गेट’ एमाले र एमाले अध्यक्ष केपी ओली बनेको दाबी गरे।

निर्वाचन एकैचरणमा गर्न सरकारलाई प्रचण्डको सुझाव

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन एकैचरणमा सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन्। विशेष परिस्थितिमा हुन लागेको यो निर्वाचन शान्ति र स्थिरताका लागि अपरिहार्य रहेको भन्दै प्रचण्डले एकैचरणमा गर्न सरकारलाई सुझाव दिएका हुन्।

विमानस्थलका सफाइ कर्मचारी तस्करीको सुनसहित पक्राउ 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सफाइ कर्मचारी तस्करीको सुनसहित पक्राउ परेका छन्। सुनगाभा सगरमाथा सर्भिस प्रालिका कर्मचारी डिकबहादुर राउतलाई प्रहरीले ४.४ ग्राम सुनसहित पक्राउ गरेको हो। 

४४ सय करारका कर्मचारी माग हुँदा एक लाख १३ हजार आवेदन 

राष्ट्रिय तथ्यांक कार्यालयले राष्ट्रिय आर्थिक गणनाका लागि करारका कर्मचारी माग गरेकोमा उच्च दरखास्त परेको छ। चार हजार चार सय ३९ कर्मचारी माग भएकोमा एक लाख १३ हजार तीन सय ५० जनाको आवेदन परेको हो। 

काठमाडौंका ८४ डिलरबाट एकैदिन ६ हजार ८७० सिलिन्डर नेपाल ग्यास बजारमा 

नेपाल ग्यासले काठमाडाैं जिल्लामा एकैदिन ६ हजार ८७० सिलिन्डर बिक्रीका लागी बजारमा पठाएको छ । बजारमा ग्यास आपूर्ति असहज बनिरहेको अवस्थामा नेपाल ग्यासप्रति उपभोक्ताको आकर्षण बढेकाले नेपाल ग्यास उद्योगले बुधबार काठमाडौं जिल्लाका ८४ वटा डिलरमा ६ हजार ८७० थान सिलिन्डर ग्यास पठाएको हो।

बौद्धमा एक करोड चार लाखबराबरको चोरी 

काठमाडौंको बौद्धमा मंगलबार दिउँसो एक लाख चार हजारबराबरको चोरी भएको छ। बौद्धको टुसालनजिक बस्ने रिन्जी लामाको घरमा कोही नभएको अवस्थामा घरभित्र प्रवेश गरेर ३५ तोला सुनका गहना र ७० तोला चाँदीका गहना चोरी गरी भागेका हुन्। 

बुढानीलकण्ठमा पाँच बंगलादेशी नागरिकको अपहरण, सातजना पक्राउ 

इटाली पठाइदिने भन्दै पाँच बंगलादेशी नागरिकलाई काठमाडौं बोलाएर अपहरण गरिएको छ। अपहरणमा संलग्न पाँच बंगलादेशी नागरिक, एक भारतीय र एक नेपाली पक्राउ परेका छन्। 

सुझावित समाचार