स्वास्थ्य बिमा बोर्डले सेवा खुम्चाएकोप्रति प्रधानमन्त्री सुशीला कार्कीले असन्तुष्टि जनाउँदै जसरी पनि बिमा गरेका नागरिकलाई सेवा दिन निर्देशन दिएकी छिन्।
बुधबार सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री कार्कीले बिमाको लागि स्रोत तानतुन पारी कुनै न कुनै उपाय निकाल्न स्वास्थ्य मन्त्रालय, स्वास्थ्य बिमा बोर्डलगायतलाई निर्देशन दिइन्।
‘यसमा धेरै कमी-कमजोरीहरू देखियो। अब मैले यसअघिकालाई भन्न भएन। राजनीतिमा के हुँदो रहेछ भने एउटा नेता उभियो, थपक्क माइकबाट मनमा लागेको एउटा कुरा बोल्दियो– आजदेखि, भोलिदेखि, पर्सिदेखि यो गर्छु। एउटाले आउँछ वचन दिन्छ।’
बिमासम्बन्धी सेवामा एकद्वार प्रणाली लागू गर्नुपर्ने प्रधानमन्त्रीको भनाइ छ। ‘एउटै तरिकाले जानुपर्यो, अब सेवा दिएन भने सेवाग्राहीले प्रश्न उठाउँछन्– ३५ सय सरकारले सित्तैमा खाएजस्तो भयो भनेर। त्यसैले के गर्ने हो सोच्नुपर्यो,’ उनले भनिन्।
छलफलमा स्वास्थ्यमन्त्री सुधा शर्मा, बोर्डका कर्मचारी, अर्थ मन्त्रालयका प्रतिनिधिलगायत सहभागी थिए।