सरकारले सामाजिक सञ्जाल नियमन विधेयक संसद्बाट फिर्ता लिने
सरकारले सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक संघीय संसदबाट फिर्ता लिने भएको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त विधेयक फिर्ता लिन स्वीकृति दिने निर्णय गरेको हो।
‘सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ संघीय संसदबाट फिर्ता लिन स्वीकृति प्रदान गर्ने निर्णय गरियो,’ बैठकपछि सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले भने।
फागुन २१ पछि संसदमा आउने प्रतिपक्षीसमेत नयाँ हुनुपर्छः रवि लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले फागुन २१ गते नेपाली इतिहासको माइलस्टोन हुने बताएका छन्। निर्वाचनमार्फत नेपाली जनताले आफ्नै हातले मतपत्रबाट नयाँ इतिहास लेख्ने उनको भनाइ छ ।
सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, ‘फागुन २१ कुनै सामान्य मिति होइन, नेपाली इतिहासको माइलस्टोन हुनेछ। फागुन २१ पछि आउने संसदमा प्रतिपक्षीसमेत नयाँ हुनुपर्छ । सर्प त एउटा पनि पाल्न सकिँदैन ।’
बिरामी भएर केही दिन आराम गरेका लामिछानले करिब दुई सातापछि सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राखेका हुन्।
विश्वकप वार्मअप खेलः आरिफ र दीपेन्द्र चम्किएपछि युएईलाई सहजै हरायो नेपालले
टी–२० विश्वकपको पहिलो वार्मअप खेलमा नेपालले युएईलाई सहजै पराजित गरेको छ। मंगलबार चेन्नईमा भएको वार्मअप खेलमा युएईलाई नेपालले सात विकेटले पराजित गरेको हो।
टस हारेर पहिले ब्याटिङ गरेको युइएईले नेपाललाई १४६ रनको लक्ष्य दिएको थियो। १७ ओभरमा नै नेपालले सो लक्ष्य पूरा गरेको हो।
नेपालका लागि आरिफ शेख र दीपेन्द्रसिंह ऐरीले अर्धशतक प्रहार गर्दै सहज जित निकालेका हुन्।
ब्याटिङमा नेपालले ४५ रनमै तीन विकेट गुमाइसकेको थियो। त्यसपछि आरिफ र दीपेन्द्रको अविजित साझेदारीमा नेपाल विजयी भएको हो। आरिफले ३७ बलमा ६१ रन तथा दीपेन्द्रले ३१ बलमा ५० रन जोड्दै अविजित रहे।
बलिङतर्फ सन्दीप लामिछाने र करण केसीले २–२ तथा दीपेन्द्रसिंह ऐरीले १ विकेट लिए। नेपालले आफ्नो दोस्रो वार्मअप खेल बिहीबार क्यानडासँग खेल्दै छ।
विश्वकप भने आगामी शनिबारदेखि सुरु हुँदै छ। विश्वकपमा नेपालले आफ्नो पहिलो खेलमा आइतबार इंग्ल्यान्डको सामना गर्नेछ।
निर्वाचनका लागि कांग्रेसले खटायो ७७ जिल्लामै केन्द्रीय प्रतिनिधि
नेपाली कांग्रेसले प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै सबै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ । उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा रहेकोे ‘निर्वाचन परिचालन समिति’ ले सबै जिल्लाको अवस्था बुझ्न नेताहरूलाई खटाएको हो ।
कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार पार्टीले तोकेका केन्द्रीय प्रतिनिधिले सम्बन्धित प्रदेश भित्रका जिल्लामा पार्टीको अवस्था बुझ्ने र आवश्यक विषयमा केन्द्रीय तहमा समन्वय गर्ने छन् ।
कुन निर्वाचन क्षेत्रमा कति मतदाता ? (सूचीसहित)
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा देशभरबाट एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता कायम भएका छन्।
निर्वाचन आयोगका अनुसार फागुन २० गतेसम्म १८ वर्ष पूरा हुने नेपाली नागरिकले मताधिकार प्रयोग गर्न पाउनेछन्। ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र दुई सय अन्य लिंगी मतदानका लागि योग्य रहेका आयोगको तथ्यांक छ।
देशभरका १६५ निर्वाचन क्षेत्रमध्ये सबैभन्दा धेरै मतदाता रामेछापमा छन्। एउटा मात्र निर्वाचन क्षेत्र रहेको रामेछापमा एक लाख ८७ हजार ९५२ मतदाता छन्। रामेछापपछि अर्घाखाँचीमा एक लाख ७१ हजार ६५२, दोलखामा एक लाख ७० हजार ३२१, बर्दिया १ मा एक लाख ६८ हजार ३४, काभ्रे २ मा एक लाख ६५ हजार ५११ र प्युठानमा एक लाख ६५ हजार ४०६ मतदाता छन्।
आयोगको तथ्यांकअनुसार सबैभन्दा कम मतदाता मनाङमा छन्। मनाङमा सात हजार, मुस्ताङमा ११ हजार ३२८, डोल्पामा २४ हजार ११५, हुम्लामा ३४ हजार ३७२ र रुकुम पूर्वमा ३४ हजार ७७२ मतदाता छन्।
काठमाडौंका सुकुम्बासीलाई बाढीबाट जोगाउन डोजर लगाएँ, यहाँ त्यस्तो हुँदैन : बालेन
रास्वपाका वरिष्ठ नेता बालेन शाहले झापा ५ का सुकुम्बासीलाई काठमाडौंजस्तो डोजर नचल्ने स्पष्ट पारेका छन्।
मंगलबार कमल गाउँपालिकाको सुकुम्बासी बस्तीमा पुगेर उनले काठमाडौंमा बाढीको जोखिमबाट जोगाउन मात्रै डोजर प्रयोग गरिएको बताए।
मतदाताको जिज्ञासामा बालेनले भने, ‘काठमाडौंका सुकुम्बासीलाई बाढीबाट जोगाउन डोजर लगाएँ, यहाँ त्यस्तो हुँदैन ।’
बालेनले खोलाछेउबाहेकका सुकुम्बासीको लगत भूमि आयोगमार्फत संकलन गरी स्थानीय तहको सिफारिसमा लालपुर्जा दिनुपर्नेमा जोड दिए। साथै, भूमि आयोगमा राजनीतिक पहुँचका आधारमा हुने विभेद अन्त्य गर्न प्रणाली सुधार आवश्यक रहेको बताए।
तीन दिन घटेको सुन मंगलबार ३७ सयले बढ्यो
मंगलबार नेपाली बजारमा सुनको मूल्य तोलामा तीन हजार सात सय रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी संघले दिएको जानकारीअनुसार गत शुक्रबारदेखि सोमबारसम्म घटेको मूल्य मंगलबार भने बढेको हो । बढेको मूल्यसँगै सुन तोलामा दुई लाख ९० हजार तीन सय रुपैयाँ पुगेको छ।
मंगलबार चाँदीको मूल्य पनि बढेको छ । तोलामा एक १३५ रुपैयाँ बढेको चाँदी मंगलबार पाँच हजार ३३५ रुपैयाँमा कारोबार भइरहेको छ।
राष्ट्रपति पौडेललाई जापानमा ‘गार्ड अफ अनर’, जापानी प्रधानमन्त्रीसँग शिष्टाचार भेट
जापानको चारदिने भ्रमणमा रहेका राष्ट्रपति रामचन्द्र पौडेललाई जापान सरकारले ‘गार्ड अफ अनर’ दिएको छ। टोकियोमा मंगलबार आयोजित कार्यक्रममा सम्मानस्वरूप उनलाई गार्ड अफ अनर दिइएको छ।
नेपाल र जापानबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षको अवसरमा राष्ट्रपति पौडेलले जापान भ्रमण गरेका हुन्। मंगलबार नै उनले जापानकी प्रधानमन्त्री सनाए ताकाइचीसँग शिष्टाचार भेट गरेका छन्। भेटमा द्विपक्षीय हितका विषयमा कुरा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। राष्ट्रपति पौडेल बुधबार जापानबाट फर्कने कार्यतालिका छ।
प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फ ३ हजार १३५ उम्मेदवारको अन्तिम सूची सार्वजनिक
निर्वाचन आयोगले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको अन्तिम उम्मेदवार सूची सार्वजनिक गरेको छ।
आयोगले सार्वजनिक गरेको सूचीअनुसार ६३ राजनीतिक दलबाट कुल ५७ निर्वाचन चिह्न प्रयोग हुने गरी ३,१३५ उम्मेदवार दर्ता भएका छन्।
सूचीमा महिला उम्मेदवार १,७३२ र पुरुष उम्मेदवार १,३६३ रहेका जानकारी निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले दिए।
शान्तिका लागि मतदान गर्न प्रधानमन्त्री कार्कीको आग्रह
प्रधानमन्त्री सुशीला कार्कीले यसपालिको निर्वाचन विशेष रहेको भन्दै शान्तिका लागि मतदान गर्न आग्रह गरेकी छिन्।
राष्ट्रिय सेवा दल सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी हुन नवलपुर (पूर्व)को हात्तीखोर पुगेकी प्रधानमन्त्रीले स्थानीय समुदाय, शिक्षक तथा अभिभावकसँगको अन्तर्क्रियामा यस्तो आग्रह गरेकी हुन्।
‘यो चुनाव नियमित चुनाव होइन। यो विशेष चुनाव हो। तपाईंहरूले शान्तिका लागि मतदान गरिदिनुहोस्। यो खुट्किला जसरी पनि पार गर्नुपर्नेछ। व्यक्तिको जितहार भन्ने दोस्रो कुरा हो। पहिला देशलाई जिताऊँ। देशको शान्ति र रूपान्तरणका निम्ति हामी सबै एक ठाउँमा उभिएर संकल्प गर्नुपर्ने वेला हो,’ उनले भनिन्।