नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफू नयाँ विचारहरूका लागि सधैँ खुला रहेको बताएका छन्।
आइतबार सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै प्रचण्डले नयाँ पुस्तालाई स्वागत गर्दै नयाँपनलाई आत्मसात् गर्न तयार रहेको प्रस्ट्याएका हुन्।
‘म नयाँ विचारहरूका लागि सधैँ खुला छु। म नयाँ पुस्तालाई स्वागत गर्दछु र नयाँपनलाई आत्मसात् गर्न तयार छु,’ उनले भनेका छन्। यद्यपि, हरेक चम्किलो चिज हिरा नहुने भन्दै प्रचण्डले सामाजिक सञ्जालका भ्रमहरूबाट सचेत रहन आग्रह गरेका छन्।
आफू जनताका हरेक प्रश्नको जवाफ दिन तयार रहेको उल्लेख गर्दै प्रचण्डले भनेका छन्, ‘प्रश्न सोध्न नछोड्नुहोस्, म त्यसको जवाफ दिन तयार छु। मलाई अझ बढी दबाब दिनुहोस्, म त्यसको सामना गर्न तयार छु। किनकि मलाई थाहा छ, मेरो शक्तिको स्रोत तपाईंहरू नै हो।’
अझै ‘ट्रायल एन्ड एरर’ (परीक्षण र त्रुटि) गर्दै नयाँ नेता जाँच्ने समय नभएको प्रस्ट्याउँदै उनले अगाडि भनेका छन्, ‘आउनुहोस्, मिलेर एउटा यस्तो नेपाल बनाऔँ, जहाँ कुनै पनि युवाले आफ्नो भविष्य खोज्न बिदेसिनु नपरोस्।’