कांग्रेस सभापति गगन थापाले चटक र स्टन्टबाट नभएर सही कानुन र थिति बसालेर देशको प्रशासनिक र राजनीतिक प्रणाली सुधार्ने बताएका छन् । चुनावी प्रचारका क्रममा मधेशबाट शुक्रबार फर्केका सभापति थापाले काठमाडौं ४ मा पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै कांग्रेस प्रणाली र स्थापित प्रक्रियाका पक्षमा रहेको पनि स्पष्ट पारेका छन् ।
‘कांग्रेस प्रणाली र स्थापित प्रक्रियामार्फत सुधार ल्याउने कुरामा विश्वास राख्ने पार्टी हो । सार्वजनिक संस्थाहरूमा हुने आर्थिक कारोबारलाई पारदर्शी बनाउन र अनियमितता रोक्न डन्डा बोकेर हिँड्ने होइन, बलियो कानुन र प्रक्रिया निर्माण गर्नुपर्नेछ,’ उनले भने, ‘हाम्रा सार्वजनिक निकायमा कुनै पनि आर्थिक लेनदेन नहोस् भन्ने हामी सबैले चाहेका छौँ, तर यसको नतिजा ल्याउन जादु वा चटकले पुग्दैन । हामीले व्यक्तिभन्दा पद्धति बलियो हुने प्रणाली बनाउनुपर्नेछ ।’