उदयपुरको कटारी क्षेत्रमा किसानहरूले सरकारी अनुदानको युरिया मल नपाइरहेका वेला सो क्षेत्रको मल सिन्धुलीको दुधौली बजारमा फेला परेको छ। कटारी नगरपालिका– १४ का किसानका नाममा दुर्गा भवानी कृषि सहकारी संस्थाले ल्याएको अनुदानको युरिया मल दुधौली बजारका एक व्यापारीको गोदाममा बिहीबार साँझ फेला परेको हो।
कटारीका लागि ल्याइएको अनुदानको रासायनिक मल सहकारीमार्फत नै कालोबजारी हुँदै दुधौली पुगेको खुलेको छ। कटारी बजारस्थित दुर्गा भवानी कृषि सहकारी संस्थाले ल्याएको अनुदानको मल तस्करी गरी दुधौली पठाइएको गोप्य सूचना पाएपछि किसान संघर्ष समितिका संयोजक गणेश थापाको नेतृत्वमा गएको टोलीले उक्त मल फेला पारी दुधौली प्रहरीको जिम्मा लगाएको हो।
कटारी नगरपालिकाकी उपप्रमुख गीता खड्काका अनुसार दुधौली बजारमा भेटिएको युरिया मल प्रहरीले जफत गरेको छ। साथै, कटारीका स्थानीय पेशल भट्टराई र हिरा बाँस्तोलाले सञ्चालन गर्दै आएको दुर्गा भवानी कृषि सहकारी संस्थाको सहकारी प्रमाणपत्र खारेज गर्न सम्बन्धित निकायमा सिफारिस गरिएको छ।
उपप्रमुख खड्काले भनिन्, ‘हाम्रै कटारीको दुर्गा भवानी कृषि सहकारी संस्थाबाटै तस्करी भई सरकारी अनुदानको मल दुधौली पुगेको पुष्टि भएको छ। त्यसपछि उक्त सहकारीको प्रमाणपत्र खारेजीका लागि सिफारिस गरेका छौँ।’
उपप्रमुख खड्काले फेला परेको युरिया मलका विषयमा दुधौली प्रहरीले अनुसन्धान सुरु गरिसकेको जानकारी दिइन्। उनका अनुसार ५० केजीका २१६ बोरा युरिया मल बरामद भएको छ।
कटारीका किसानहरू मल नपाएर हैरान भइरहेका वेला सहकारी संस्थाबाटै अनुदानको मल अन्यत्र बिक्रीका लागि पठाइनु गम्भीर र रहस्यमय भएको किसान संघर्ष समितिको ठहर छ। संघर्ष समिति संयोजक गणेश थापाले मल वितरण प्रक्रियामा कमिसन, मिलेमतो तथा कृत्रिम अभाव सिर्जना गर्ने गिरोह सक्रिय रहेको बताए। उनले कटारी बजारमा उक्त युरिया मलको कालोबजारी वा तस्कारी रोक्न माग गर्दै आगामी आइतबारदेखि आन्दोलनको घोषणा गरेका छन्।
यसअघि गत १२ भदौमा पनि कटारी बजारमा अवैध रूपमा सरकारी अनुदानको युरिया मल लुकाएर बिक्री–वितरण गरिरहेको अवस्थामा गोदामका मालिक दिलीप चौधरी पक्राउ परेका थिए। त्यतिवेला उदयपुरका सहायक प्रमुख जिल्ला अधिकारी विक्रमप्रसाद पाण्डेयको नेतृत्वमा गएको अनुगमन टोलीले चौधरीको आशुतोष सप्लायर्स एन्ड ट्रेडर्स तथा जयमाँ काली प्रालिबाट दुई सय बोरा अवैध युरिया मल बरामद गरेको थियो।
बरामद गरिएको मल कटारी नगरपालिकामार्फत किसानलाई वितरण गरिएको थियो भने कालोबजारी गरेको आरोपमा चौधरीविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर भई अहिले पनि विचाराधीन अवस्थामा रहेको उपप्रमुख गीता खड्काले जानकारी दिइन्।