राष्ट्रिय सभा : बागमतीबाट कांग्रेसकी देवकोटा र एमालेका डा. दंगाल विजयी

आइतबार, ११ माघ, २०८२
डिजिटल संस्करण

राष्ट्रिय सभा सदस्य निर्वाचनअन्तर्गत बागमती प्रदेशतर्फको दुई सिटका लागि भएको निर्वाचनमा नेपाली कांग्रेसकी गीता देवकोटा र नेकपा एमालेका डा. प्रेमप्रसाद दंगाल विजयी भएका छन्।

कांग्रेस–एमाले गठबन्धनका तर्फबाट उम्मेदवार बनेका उनीहरूले नेकपाका उम्मेदवारहरूलाई पराजित गरेका हुन्। ‘महिला’ क्लस्टरतर्फ कांग्रेसकी देवकोटाले ६ हजार २३९ मत प्राप्त गरिन्। उनले प्रदेश सभा सदस्यतर्फ ६० मत र स्थानीय तहतर्फ १६१ मत प्राप्त गरिन्।

देवकोटाकी निकटतम प्रतिस्पर्धी नेकपाकी सरोजकुमारी झाले २ हजार ५२२ मत प्राप्त गरिन्। झाले प्रदेश सभातर्फ २५ र स्थानीय तहतर्फ ६३ मत पाएकी हुन्। सोही क्लस्टरमा उम्मेदवार बनेकी नेपाल मजदुर किसान पार्टी (नेमकिपा)की कविता महर्जनले १९७ मत प्राप्त गरिन्। उनले प्रदेश सभातर्फ ३ र स्थानीय तहतर्फ २ मत पाइन्।

महिला क्लस्टरतर्फ प्रदेश सभा तर्फका कुल ८९ मतदातामध्ये ८८ मत सदर हुँदा स्थानीय तहतर्फ २२९ मतमध्ये २२६ मत सदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

यस्तै, ‘अन्य’ क्लस्टरतर्फ नेकपा एमालेका डा. प्रेमप्रसाद दंगालले ६ हजार २०५ मत प्राप्त गर्दै विजय हासिल गरेका छन्। उनले प्रदेश सभा सदस्यतर्फ ५९ मत र स्थानीय तहतर्फ १६२ मत प्राप्त गरे।

डा. दंगालका निकटतम प्रतिद्वन्द्वी नेकपाका प्रेमप्रसाद सापकोटाले २ हजार ५४१ मत प्राप्त गरे। सापकोटाले प्रदेश सभातर्फ २५ र स्थानीय तहतर्फ ६४ मत पाए। नेपाल मजदुर किसान पार्टीका उम्मेदवार विक्रम ढुकुछुले १९७ मत प्राप्त गरेका छन्।

बागमती प्रदेशमा कांग्रेस र एमालेबीच भएको चुनावी सहकार्यका कारण दुवै दलका उम्मेदवारको विजय लगभग निश्चित मानिएको थियो। राष्ट्रिय सभामा प्रत्येक दुई वर्षमा एक तिहाइ सदस्यको पदावधि सकिने संवैधानिक व्यवस्थाअनुसार फागुनमा रिक्त हुन लागेको पदपूर्तिका लागि आइतबार निर्वाचन भएको हो।

सुझावित समाचार