बाराको प्रसौनीमा ट्रक–स्कुटर ठक्कर, एक युवकको मृत्यु, एक घाइते

आइतबार, ११ माघ, २०८२
डिजिटल संस्करण

बाराको प्रसौनी गाउँपालिका–२ अन्तर्गत दुधौरा पुलनजिक आइतबार बिहान भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन्।

दुर्घटनामा मृत्यु हुनेमा कलैया उपमहानगरपालिका– ३ निवासी २० वर्षीय आयुष गुप्ता रहेका छन्। वीरगन्जबाट कलैयातर्फ जाँदै गरेको म प्र ०३–००२ ख ४१०२ नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेको म प्र ०३–०२७ प ७८२९ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।

ठक्करबाट स्कुटरचालक गुप्ता गम्भीर घाइते भएका थिए। उनको टाउकोमा गम्भीर चोट लागेको थियो। स्कुटरको पछाडि सवार वीरगन्ज महानगरपालिका– १०, घडीहर्वानिवासी मौसमकुमार साह घाइते भएका छन्। साहको दाहिने हात र ढाडमा चोट लागेको प्रहरीले जनाएको छ।

दुवै घाइतेलाई उपचारका लागि एलएस न्युरो अस्पताल, परवानीपुर पठाइएको थियो। तर, उपचारकै क्रममा आइतबार बिहान करिब ८ बजे आयुष गुप्ताको मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको छ।

प्रहरीले दुर्घटनामा संलग्न ट्रकलाई कलैयाको हनुमानचोकबाट नियन्त्रणमा लिएको छ। साथै ट्रकचालक रौतहटको चन्द्रपुर नगरपालिका– २ चौधरी टोलनिवासी २४ वर्षीय दीपेश चौधरीलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय बारा कलैयामा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको बारा प्रहरीले जनाएको छ।

सुझावित समाचार