वृद्धभत्ताबाट बनाए बिसौनी

आइतबार, ११ माघ, २०८२
डिजिटल संस्करण

चौतारा साँगाचोकगढी नगरपालिका– १ का एक वृद्धले भत्ता रकम जम्मा पारेर बटुवा बस्ने बिसौनी निर्माण गरेका छन् । बदलाङ गाउँको जुगेपानी बस्ने ८५ वर्षीय सोमबहादुर तामाङले वृद्धाभत्ता जम्मा गरेर बिसौनी निर्माण गरेका हुन् ।

‘मर्नुअघि एउटा सानो सार्वजनिक काम गरौँ भनेर बिसौना बनाएको हो,’ उनले भने । सामान्य किसानी काम गर्ने तामाङको अन्य कुनै आयस्रोत छैन । सामाजिक काम गर्न आर्थिक रूपले सम्पन्न हुनैपर्छ भन्ने रहेनछ । सबैभन्दा ठुलो कुरा त सामुदायिक मन हुनुपर्ने रहेछ भन्ने उनले पुष्टि गरेका छन् । भन्छन्, ‘चिया, मासु र नुनतेल खाने भत्ताको रकम लामो समयदेखि जोगाएर चौतारी बनाएको हो ।’ बिसौना बनाउन लगभग ८० हजार खर्च लागेको छ ।

उनका चार छोरा, नातिहरू र तामाङ स्वयं खटेर बिसौना तयार भएको हो । बदलाङ, अर्चले र महभिरका स्थानीय आवतजावत गर्ने गोरेटो बाटोमा चौतारी बनाइएको छ ।  धान, पराल, मल र भारी बोकेर हिँड्ने बटुवाले एकैछिन थकाइ मारोस् भनेर बिसौनी बनाएको उनले सुनाए । ‘जीवनको उत्तरार्धमा छु। मर्नुअघि म गरिबले यति गर्न पाएकोमा खुसी लागेको छ,’ उनले भने ।

सुझावित समाचार