शुक्रबार : १० बजेसम्मका १० मुख्य खबर

शुक्रबार, ९ माघ, २०८२
डिजिटल संस्करण

कांग्रेसले बनायाे गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार

नेपाली कांग्रेसले आगामी राजनीतिक नेतृत्वका लागि गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेको छ। शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले सर्वसम्मत रूपमा थापाको नाम अनुमोदन गरेको पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिए।

प्रतिनिधिसभा निर्वाचन : ४९ उम्मेदवारले फिर्ता लिए उम्मेदवारी

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि माघ ६ गते मनोनयन दर्ता गराएका उम्मेदवारमध्ये देशभरबाट ४९ जनाले उम्मेदवारी फिर्ता लिएका छन्।

निर्वाचन आयोगले शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत उक्त जानकारी सार्वजनिक गरेको हो। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार निर्धारित समयसीमाभित्र ४९ उम्मेदवारले आफ्नो मनोनयन फिर्ता लिएका हुन्।

प्रतिनिधिसभा निर्वाचन : देशभर तीन हजार ४०६ उम्मेदवार चुनावी मैदानमा

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा देशभर तीन हजार ४०६ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्यांकअनुसार उम्मेदवारमध्ये पुरुषको संख्या अत्यधिक देखिएको छ भने महिला सहभागिता सीमित रहेको छ।

दर्ता भएका उम्मेदवारमध्ये तीन हजार १७ जना पुरुष र ३८८ जना महिला रहेका छन्। उमेरगत विवरणले हेर्दा ४१ देखि ६० वर्ष उमेर समूहका उम्मेदवार सबैभन्दा धेरै छन्। यस समूहमा एक हजार ९२५ जना छन्। त्यसपछि २५ देखि ४० वर्ष उमेर समूहका एक हजार ५६ जना र ६१ वर्षभन्दा माथिका ४२५ जना उम्मेदवार रहेका छन्।

निर्वाचन प्रहरीमा मागभन्दा थोरै उत्तीर्ण, फेरि थपियो दरखास्तको समय

निर्वाचन प्रहरीमा सर्वसाधारणको आकर्षण न्यून देखिएको छ। कतिपय जिल्लामा मागअनुसार उत्तीर्ण नभएपछि दरखास्तका लागि दोसोपटक म्याद थप गरिएको छ। काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछापलगायत विभिन्न पहाडी जिल्लामा मागभन्दा कम उत्तीर्ण भएका छन्।

परीक्षा सकिएपछि ती जिल्लामा निर्वाचन प्रहरीका लागि फेरि दुई दिनको समय दिएर दरखास्त आह्वान गरिएको छ। माघ १० र ११ गतेसम्म आवेदन दिन सक्ने गरी समय थप गरिएको छ। 

निर्वाचन खर्चका लागि उम्मेदवार र दलले अलग्गै खाता खोल्नुपर्ने, आयोगले गर्यो राष्ट्र बैंकलाई पत्राचार

निर्वाचन खर्चका लागि उम्मेदवार र दलहरूले अलग्गै खाता खोल्नुपर्ने भएको छ। मतदाता प्रभावित पार्न दल र उम्मेदवारले मनलाग्दी रकम खर्च गर्ने परिपाटी रोक्न आयोगले निर्वाचनलक्षित खर्चलाई बैंकिङ प्रणालीसँग आबद्ध गरेर त्यसको नियमनसमेतको प्रयास थालेको हो। यसैका लागि विशेष खाता खोल्न र त्यसको नियमनसमेत गर्ने गरी आयोगले नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको छ। 

आयोगले जारी गरेको निर्वाचन आचारसंहितामा चुनावलक्षित खर्चका लागि दल र उम्मेदवारले अलग्गै बैंक खाता खोलेर त्यसैमार्फत कारोबार गर्नुपर्ने व्यवस्था गरेको छ। यसैको कार्यान्वयनका लागि आयोगले छुट्टै निर्णय गरेर राष्ट्र बैंकलाई पत्राचार गरेको हो।

मन्त्रिपरिषद् बैठकका नाै निर्णय सार्वजनिक (सूचीसहित)

सरकारले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकबाट भएका निर्णयहरू सार्वजनिक गरेको छ। बैठकबाट भएका नाैवटा निर्णय सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश आर्यालले शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराएका हुन्।

प्रवक्ता आर्यालका अनुसार बैठकमा समसामयिक विषयदेखि नीतिगत निर्णयसम्म समेटिएका छन्। सरकारले पारदर्शिता कायम गर्ने उद्देश्यले मन्त्रिपरिषद् बैठकका निर्णयहरू नियमित रूपमा सार्वजनिक गर्दै आएको छ ।

उम्मेदवारी कायम गर्न माग गर्दै सर्वोच्चमा रेशम, ११ माघलाई पेसी

आफ्नो उम्मेदवारी कायम गराउन माग गर्दै रेशम चौधरी निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत गएका छन्। कैलाली क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका चौधरीको उम्मेदवारीविरुद्ध उजुरी परेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारी खारेज गरिदिएको थियो।

मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ बमोजिम राष्ट्रपतिबाट माफी भए पनि अदालतको फैसला बदर नहुने तथा आयोगको ०८० फागुन २४ गतेको निर्णयबाट चौधरी राजनीतिक दलको सदस्यसमेत बन्न अयोग्य रहेको कारण देखाउँदै आयोगले चौधरीको उम्मेदवारी खारेज गरेको थियो।

शाखा अधिकृत हुँ भनी व्यक्तिकाे तथ्यांक लिन खोज्ने एक पक्राउ

गृह मन्त्रालयको शाखा अधिकृत हुँ भनी नक्कली कर्मचारी परिचयपत्र देखाएर अन्य व्यक्तिको व्यक्तिगत तथ्यांक लिन खोज्ने एकजना पक्राउ परेका छन्। नक्कली परिचयपत्र देखाउने तनहुँका कृष जिसीलाई अध्यागमन विभागले नियन्त्रणमा लिई जिल्ला प्रहरी परिसर भद्रकालीमा बुझाएको हो।

आफूलाई सक्कली अधिकृतको परिचय दिन शुक्रबार पनि उनी निजामती पोसाकमै आएका थिए। परिचयको क्रममा जिसी आफू ब्याच ३७ को शाखा अधिकृत भएको र विगत चार महिनादेखि गृह मन्त्रालयको कर्मचारी प्रशासन शाखामा कार्यरत भएको बताएका थिए।

बाबुराम भट्टराईले गोरखा २ बाट उम्मेदवारी फिर्ता लिए

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत गोरखा २ बाट दिएको आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। आज आफूनिकट नेताहरूसँग भएको छलफलपछि उनले चुनावी प्रतिस्पर्धाबाट बाहिरिने निर्णय गरेका हुन्।

प्रगतिशील लोकतान्त्रिक पार्टीको तर्फबाट उम्मेदवार बनेका भट्टराईलाई उम्मेदवारी फिर्ता लिन नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका उम्मेदवार प्रकाशचन्द्र दवाडी तथा राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेलगायत नेताहरूले अभिभावकीय भूमिका खेल्दै सहजीकरण गरिदिन आग्रह गरेका थिए। सोही आग्रहपछि भट्टराईले उम्मेदवारी फिर्ता लिने निर्णय गरेको उनको सचिवालय स्रोतले जनाएको छ।

पुसमा ६२ हजार युवा वैदेशिक रोजगारीमा, साउदी अरेबियामा सबैभन्दा धेरै

रोजगारीका लागि पुसमा ६२ हजार ५५९ युवा बिदेसिएका छन्। यीमध्ये सबैभन्दा धेरै साउदी अरेबियामा १३ हजार ३२७ श्रमिक गएको वैदेशिक रोजगार विभागले जनाएको छ।

विभागका अनुसार रोजगारी खोज्दै १०५ मुलुकमा युवाहरू पुगेका छन्। सरकारले ११० मुलुक श्रम गन्तव्यका लागि खुला गरेको छ। नेपाली श्रमिकका लागि पछिल्लो तीन महिनायता साउदी अरेबिया पहिलो रोजाइ बन्दै आएको छ। जेन–जी आन्दोलनयता युएईले नेपालीलाई भिसामा कडाइ गरेका कारण नेपाली श्रमिक साउदीतर्फ मोडिएका हु

सुझावित समाचार