शाखा अधिकृत हुँ भनी व्यक्तिकाे तथ्यांक लिन खोज्ने एक पक्राउ

शुक्रबार, १० माघ, २०८२
डिजिटल संस्करण

गृह मन्त्रालयको शाखा अधिकृत हुँ भनी नक्कली कर्मचारी परिचयपत्र देखाएर अन्य व्यक्तिको व्यक्तिगत तथ्यांक लिन खोज्ने एकजना पक्राउ परेका छन्। नक्कली परिचयपत्र देखाउने तनहुँका कृष जिसीलाई अध्यागमन विभागले नियन्त्रणमा लिई जिल्ला प्रहरी परिसर भद्रकालीमा बुझाएको हो।

आफूलाई सक्कली अधिकृतको परिचय दिन शुक्रबार पनि उनी निजामती पोसाकमै आएका थिए। परिचयको क्रममा जिसी आफू ब्याच ३७ को शाखा अधिकृत भएको र विगत चार महिनादेखि गृह मन्त्रालयको कर्मचारी प्रशासन शाखामा कार्यरत भएको बताएका थिए।

उनले विगत सात महिनादेखि गृह मन्त्रालयको अधिकृतको नक्कली परिचयपत्र देखाई काठमाडौंको एउटा प्रतिष्ठित होटेलसँग सम्पर्क बढाएको बुझिएको छ। एक महिलाले होटेलका व्यवसायीलाई ठगी गरेर फरार भएकाले होटेलका बाउन्सरले गृहका तिनै नक्कली अधिकृतसँग पैसा असुली गरिदिन सहयोग मागेका थिए। सोअनुसार नक्कली अधिकृत उक्त होटेलका बाउन्सरलाई लिएर अध्यागमन विभाग पुगेका थिए।

जिसीले ठगी गर्ने महिलाको वैदेशिक भ्रमण रोक्का गरी अध्यागमनको कालोसूचीमा राखिदिने प्रलोभन देखाएका थिए। विभागमा उपस्थित भएपछि उक्त महिलाको राहदानी र नागरिकताको प्रतिलिपि माग गर्दै कालोसूचीमा राखिदिनसमेत अनुरोध गरेका विभागले जनाएको छ।

जिसीले यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको शाखा अधिकृतको परिचयपत्र समेत लिएको खुलेको अध्यागमनका निर्देशक टीकाराम ढकालले जानकारी दिए। अध्यागमनको इन्टेलिजेन्स र प्रशासन शाखामा सम्पर्क गरेका जिसीको परिचयपत्रमा कर्मचारी संकेत नम्बर अस्वाभाविक देखिएको थियो। जिसीसँग आएका होटेलका बाउन्सरलाई भने सामान्य सोधपुछ गरेर छाडेको अध्यागमनले जनाएको छ।

सुझावित समाचार