नेपालमा कृषि उपजको आयात–निर्यातको अवस्था कस्तो छ ?
हाम्रो कृषि उपजको आयात घट्नुको साटो निरन्तर बढ्दै छ । यो वर्ष धान उत्पादन घटेको तथ्यांक आएको छ । पछिल्लो ६ महिनामा यहाँ २० अर्बभन्दा बढीको चामल आयात भएको तथ्यांक सार्वजनिक भएको छ । यहाँ धान मात्र होइन, सबैजसो कृषि उपजको उत्पादन घट्दो क्रममा छ । हाम्रो देश अहिले मान्छे निर्यात गर्ने र अन्न आयात गर्ने मुलुक बन्दै गएको छ । कृषि उपज निर्यातमा पहिलो नम्बरमा देखिने सोयाबिन तेल पनि अमेरिकाबाट ड्रममा तेल ल्याएर यहाँ पोका पारेर पठाइएको मात्र हो, हाम्रो आफ्नो उत्पादन होइन । त्यसैले, निरन्तर बढिरहेको कृषि उपज आयातको ‘ग्राफ’ चिन्ताजनक छ ।
कृषिप्रधान देशमा कृषि उपजमै किन आत्मनिर्भर बन्न नसकिएको होला ?
हामीकहाँ नेता, बुद्धिजीवी र सरकारको कृषिलाई हेर्ने दृष्टिकोण नै गलत छ । नेपालमा ८३ प्रतिशत पहाडी भूभाग छ । पहाडमा मैदानमा जस्तो खेती हुँदैन । नेपालको आधुनिकीकरण सुरु भएसँगै पहाडको कृषि प्रणाली कमजोर हुँदै गएको हो । हाम्रा दलहरूको घोषणापत्रमा कृषि क्षेत्र सुधार्ने कुनै योजना हुँदैन । उनीहरूले कृषि क्षेत्रको समस्यालाई गम्भीरतापूर्वक कहिल्यै लिँदैनन् । अनि, कसरी कृषिमा आत्मनिर्भर बनोस् त देश ?
यस्तो अवस्था अन्त्य गर्न अब के गर्नुपर्ला त ?
अहिलेकै सोच र दृष्टिकोणले नेपालको कृषि क्षेत्रको सुधार सम्भव छैन । पछिल्ला पाँच सय वर्षयता पहाडको कृषि ओरालो लागेको छ । पहाडको कृषि प्रणाली जोगाउने योजनाविना यहाँ केही हुँदैन । नेपालको कृषि क्षेत्र सुधार्न नेताहरूले निम्न प्रश्नको जवाफ दिन सक्नुपर्छ ः युवा निर्यात गरेर कतिन्जेल दालभात खाने ? नेपालको खाद्य प्रणाली आयातबाट टिकेको हो कि होइन ? यहाँको कृषिमा विषादीको प्रयोग छ कि छैन ? ५० लाखभन्दा बढी युवा रमाइलो गर्न विदेश गएका हुन् ? जलवायु परिवर्तनको प्रभाव देशको कृषिमा परेको छ कि छैन ?