- मधेशले ससम्मान मुटुमा राखी आफ्नो ठाने पनि मधेशको स्पन्दन बुझ्न सक्ने, अपनत्व गाँस्न सक्ने र भावनात्मक नाता जोड्न सक्ने नेता कहिले पाउला?
जब–जब देशमा चुनावको मौसम आउँछ, तब–तब मधेश हरेक राजनीतिक दलको कण्ठमा आवाज बनेर गुञ्जिन पुग्छ । किनकि, जनसांख्यिक हिसाबले चुनावको परिणामलाई प्रभावित गर्न सक्ने, सिंहदरबारभित्र कसलाई छिराउने या कसलाई बाहिरै राख्ने भन्ने खेलमा निर्णायक भूमिका खेल्न सक्ने, समानुपातिकको संख्या बढाउन सक्ने अद्भूत क्षमता छ मधेशसित । त्यसैले, अब आउँदो चुनावको मौसमले गर्दा सदाझैँ अहिले मधेशको विषयवस्तुको सार्वजनिक चर्चा, भ्रमणमा मधेश प्राथमिकता, शब्द शैली र प्रस्तुतिमा मधेशप्रतिको सम्मानसहितको भावनात्मक अपनत्वको प्रस्फुटन देखिन थालेको छ । चुनावमा आफूप्रतिको चासो बढे पनि मधेशले आफू उपेक्षित नै रहेको अनुभूति गरेको दशकौँ भइसक्यो । अथाह सम्भावनाका बाबजुद राजनीतिक नेतृत्वको दूरदर्शिताको अभावले पीडित मधेश कहिलेसम्म यस्तै दुर्दशामा रहनुपर्ने हो स्वयं उसैलाई थाहा छैन ।
मधेशले ससम्मान मुटुमा राखी आफ्नो ठाने पनि मधेशको स्पन्दन बुझ्न सक्ने र अपनत्व गाँस्ने र भावनात्मक नाता जोड्ने राजनीतिक नेता कहिले पाउँछ होला ? वास्तवमा मधेशको भाव, स्वभाव र सम्भावना बुझ्न सक्ने दूरदर्शी नेतृत्व पाउन सकेको भए न त आज मधेशको यो अवस्था रहन्थ्यो, न त समग्र देश नै यो अनिश्चय र अन्योलको भुमरीमा परेको हुने थियो । अन्नको भण्डार, ज्ञानको भण्डार, कला साहित्यको भण्डार, सीपको भण्डार रहनुपर्ने मधेशलाई आज हातमुख जोर्न सन्तानको श्रम खाडीमा बेच्न विवश बनाइएको छ । त्यसैले, घरीघरी यो प्रश्न उठ्छ कि वास्तवमा कसको हो मधेश ?
राज्य भनेको कुनै प्रणाली, भौगोलिक क्षेत्र र भौतिक संरचना मात्रै होइन । यसको अस्तित्व भनेको नागरिकदेखि नागरिकसम्मको भावनात्मक सम्बन्ध पनि हो, जसमा सम्मानसहितको सहअस्तित्व, विश्वास र देशप्रेमले साझा समृद्धिका लागि सहकार्य गरिन्छ । तर, हाम्रो सन्दर्भमा बहुसंख्यक रूपमा रहेका दूरदर्शिता अभाव भएका निरीह राजनीतिक नेतृत्वले समाजलाई जोड्नेभन्दा तोड्ने, सशक्तीकरण गर्नेभन्दा अशक्तीकरणतर्फ धकेल्ने, आत्मनिर्भरताभन्दा परनिर्भरतालाई प्रश्रय दिनेजस्ता कारणले समेत मधेशले सम्मानसहितको समानता र अपनत्वको अनुभूति गर्न सकेको छैन । नेतृत्वको राजनीतिक अदूरदर्शिताको सिकार आज मधेशको सम्पूर्ण समाज मात्र नभई सिंगो देश नै बनेको छ ।
मधेशको प्रसंगलाई अझै गहिरिएर हेर्ने हो भने यहाँ हरेक वर्ष शीतलहर चल्छ, हरेक वर्ष केही कम्बल र लुगाफाटा बाँडिन्छ । हरेक वर्ष चिसोले कठ्यांग्रिएर जीवन अन्त्य भएका ननिका समाचार पढ्नुपर्छ । वास्तवमा भन्ने हो भने शीतलहरले होइन, मानिस त चिसोले मरेका हुन्छन्, र त्यो चिसो छल्न नसक्नुको केन्द्रमा गरिबी रहेको हुन्छ । नभए त विश्वका यस्ता थुप्रै मुलुक छन्, जहाँ वर्षभरि नै मधेशको शीतलहरभन्दा कैयौँ गुणा बढी चिसो हुन्छ । तर, त्यहाँ चिसोले कठ्यांग्रिएर मानिस मर्नुपरेको समाचार सुनिँदैन ।
त्यति मात्रै होइन, त्यही मधेशले कठ्यांग्रिँदो चिसोमा काठमाडौंसम्म पुगेर आफ्नो सर्वस्व अर्पण गरी उत्पादन गरेको ऊखुबालीको पैसा लिन कठोर संघर्ष गर्नुपरेका तस्बिरले मन पोल्छ । न्याय खोज्दै काठमाडौंसम्म घिस्रिँदै पुगेका भुइँमान्छेका पीडाले पनि मन भतभती पोल्छ । मधेशका कुनै पनि प्रादेशिक निर्णय गर्नुपूर्व काठमाडौंको संकेत कुर्नुपर्ने, विधिको शासनको अनुभूति गर्न कुनै न कुनै राजनीतिक दलको सिफारिस खोज्दै हिँड्नुपर्ने, यहाँसम्म कि काठमाडौंका सरकारी अस्पतालमा भर्ना हुनसमेत नेताको सिफारिस आवश्यक पर्ने अवस्था अन्त्य नभएसम्म त उब्जिने प्रश्न त्यही हो कि मधेश कसको हो ? यहाँका रोग, भोक, पीडा, संघर्ष र सकस कसका हुन् ? के मधेश मत र करका लागि मात्र उपयोग हुने सिर्फ कुनै वस्तु हो ? कि त्यहाँ जीवन पनि छन्, जसको आधारभूत आवश्यकता पनि हुन्छ । त्यहाँ सम्मान र अपमान महसुस गर्न सक्ने स्वाभिमानी पनि बस्छन् भन्ने चेत राजनीतिक नेतृत्वमा छ कि छैन ? सामाजिक, सांस्कृतिक, पारम्परिक ज्ञान र सीपको खानी, अवसरको महासागर र पूरै देशलाई थेग्न सक्ने कृषि उत्पादनको सम्भावनाको भण्डार पनि रहेको छ मधेशसित । यति हुँदाहँुदै पनि मधेश कसको हो भन्ने प्रश्नले जहिल्यै किन चिमोटिरहन्छ ?
आखिर किन मधेशका समस्या संसद्भित्रका छलफलमा प्राथमिकतामा कहिल्यै पर्दैनन् । त्यहाँका सामाजिक, आर्थिक सकसका निकास किन खोज्ने प्रयास गर्दैन काठमाडौंले ? त्यहाँका अवसर र सम्भावनामाथि किन लगानी गरिँदैन र सहजता थप्ने नीतिहरू किन बन्दैनन् ? चाहे त्यो मधेशकेन्द्रित राजनीतिक दल हुन् वा अन्य क्षेत्रका पर्यटक राजनीतिक नेता, जसले मधेशलाई कुनै न कुनै रूपमा चुनावमा जित्न औजारका रूपमा प्रयोग गर्छन् । तर, दूरदृष्टि राखी मधेशलाई समृद्धिको बाटोतर्फ डोर्याउने इमानदार प्रयास भने कहिल्यै गर्दैनन् । मधेशका समस्याले सिर्फ चुनावदेखि चुनावसम्मका लागि मात्रै टड्कारो रूपमा स्थान पाउने निरन्तरता कहिलेसम्म कायम रहने हो ? जतिसुकै टड्कारो भए पनि यी प्रश्नको जवाफ आजसम्म मधेशले पाउन सकेको छैन ।
समाजमा पुस्ता निर्माण गर्ने विद्यालय शिक्षा ध्वस्त छ । समुदायको अशक्तीकरण बढेको छ । समाजलाई चिराचिरा पार्दै रोजगारविहीनता उच्चतम बिन्दुमा पुगेको छ । जसको परिणाम श्रम बेच्न मधेशका युवा खाडी मुलुक पलायन भइरहेका छन् । यहाँसम्म कि कृषि गर्नु भनेको गरिबीतर्फ बढ्नु हो भन्ने प्रशस्त उदाहरण समाजमा भेटिन थालेका छन् । निराशा र वितृष्णाले थुप्रै बालबालिका र युवा पिँढी लागुऔषधको कुलतमा फस्दै जानु आजको मधेशको तितो यथार्थ बनेको छ । तर, यी विषयवस्तु कुनै पनि राजनीतिक दलको प्राथमिकतामा पर्नु क्षणिक संयोग मात्रै हुने गर्छ । तिनका दूरगामी नीति र योजनाभित्र यी समस्याले स्थान नै पाउँदैनन् । संसद्भवनभित्रको छलफलमा मधेशका समस्यालाई कहिल्यै प्राथमिकतामा पारिँदैन । यसका असंख्य उदाहरण भेटिन्छन् । हरेक वर्ष किसानले मलका लागि भोग्नुपरेको सकस न नेतृत्वले देख्छ, न कुनै ठुला मिडियाका हेडलाइन नै बन्छन् । अन्नको भण्डारमै बिउबिजनको अभाव छ । तिनलाई परामर्श दिनु कसैले आवश्यक ठान्दैन । समाजमा पुस्ता निर्माण गर्ने स्थल विद्यालय शिक्षाको गुणस्तर अकल्पनीय रूपमा खस्केको छ । आफ्नो पहिचानका लागि मधेशले जहिल्यै संघर्ष गर्नुपर्छ । यस्ता विविध समस्यातर्फ नियाल्ने हो भने पुन: त्यही प्रश्न मनमा उब्जिन्छ कि आखिर कसको हो मधेश ?
हुन त जेन–जी आन्दोलनमा अपूरणीय क्षति व्यहोर्नुपरेको अवस्थाले हरेक नागरिकको मनमस्तिष्कलाई नराम्रोसँग झस्काएको छ । आफ्ना हत्या गरिएका युवा सन्तानको अनुहार मुटुमै गढेको छ र देशको मुहार फेर्न केही युवा लागिपरेका पनि देखिन्छन् । तर, मधेशको लामो संघर्षपूर्ण भोगाइ अनि विभेद र असमानताको अनुभूतिले सिर्जित शंकाको घेराबाट सबै राजनीतिक दल र नेता उम्किन सक्ने अवस्था छैन ।
प्रश्न थपिएको छ, के अब चुनावउप्रान्त बन्ने नेतृत्वले मधेशको स्पन्दन बुझ्ला त ? के त्यस्तो सरकारले मधेशको समस्या मधेशकै मनस्थितिअनुरूप अनुभूति गर्न सक्ला त ? यहाँका अवसर र सम्भावनामा लगानी बढ्ला त ? दशकौँदेखि ठगिँदै आएको मधेशलाई समृद्धिको यात्रातर्फ डोर्याउने सुरुवात गरिएला त ? के आगामी निर्वाचनपछि बन्ने सरकारले घरपरिवारको हातमुख जोड्ने उपाय खोज्दै खाडी छिरेका युवालाई घर फर्काउने वातावरण बनाउला त ? मधेशमा भत्किँदै गएका सामाजिक, पारिवारिक सम्बन्धका संरचना पुन: मजबुत बन्लान् त ? कृषिमा, उद्योगधन्धामा, शिक्षामा मधेशबाट सफलताका उदाहरण स्थापित होलान् त ? समग्रमा भन्दा मधेशको राज्यसँगको समानता, समभाव र अपनत्वसहितको सम्मानित सम्बन्ध जोडिएला त ?
हुन त यी प्रश्नको जवाफ सहज र शीघ्रतासाथ पाउन सम्भव छैन । तर, एउटा बलियो सम्भावनाचाहिँ देखिन्छ । देश जोड्ने चिन्तन बोकेका, समाजका विविधताको सुन्दरता बुझेका, स्वनिर्भरता र सम्मानसहितको समानताले मात्रै देश बनाउन सकिन्छ भन्ने महसुस गरेका व्यक्तित्व राजनीतिमा होमिनु, युवापुस्तामा देश दुखेको महसुस हुनु र एकताको भावना देखिनु, समाजमा निरन्तर जन्मिँदै गरेका प्रश्नले विभिन्न राजनीतिक दलमा आबद्ध नेतृत्व तहलाई जवाफदेही बनाउन बाध्य पार्दै जानुजस्ता आधार देख्दा रूपान्तरणका आशाका कोपिला पलाउनु सकारात्मक संकेत हो । तैपनि, कृषि, पर्यटन, कला, साहित्य र संस्कृतिसँग जोडिएर निर्माण गर्न सकिने रोजगारी, उपार्जन र स्वनिर्भरताका अथाह सम्भावना रहेको मधेशले सफलताका उदाहरण समाजमा स्थापित गर्न नपाएसम्म त यो प्रश्न जिउँदै रहनेछ– आखिर कसको हो त मधेश ?
(झा समाजशास्त्री हुन्)