२१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि झापा– ५ मा प्रधानमन्त्रीका दुई ‘फेस’ एमाले अध्यक्ष केपी ओली, रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) मतदाता भेटघाटमा व्यस्त छन् ।
दुवै नेता बुधबार दिनभर कार्यकर्ता र शुभेच्छुकसँगको भेटघाटमा व्यस्त रहे । एमाले अध्यक्ष ओलीले होटेलमा झापा–५ का पार्टी कार्यकर्ता र शुभेच्छुकसँग भेटघाट गरे भने दमकमा एमालेनिकट युवाहरूको भेलालाई सम्बोधन गरे । बालेनले रास्वपा कार्यकर्ता, मतदातासँग भेटघाट गरिरहेका छन् ।
विगतमा मनोनयन दर्ता गरेर तत्काल काठमाडौं फर्कने ओलीले योपटक भने बालेनको आगमनसँगै दमकलाई समय दिएका छन् । उनी शुक्रबारसम्म निर्वाचन क्षेत्रमा रहने कार्यक्रम रहेको सचिवालयले जनाएको छ । सोमबार झापा आइपुगेका ओली दमकस्थित कामक्ष होटेलमा बसेका छन् ।
ओलीले कटाक्ष गरिरहँदा बालेनले कुनै प्रतिक्रिया दिएका छैनन् । बालेनसँग फोटो खिच्न दिइए पनि भिडियो खिच्न निषेध गरिएको छ । कार्यकर्ता भेटघाटको क्रममा पुगेका सञ्चारकर्मीलाई समेत भिडियो खिच्न दिइएको छैन भने प्रतिक्रिया दिनसमेत मान्दैनन् । बालेनले झापा– ५ का मतदातालाई मात्र हैन, कोशी प्रदेशका अन्य निर्वाचन क्षेत्र र जिल्लामा प्रतिस्पर्धामा रहेका रास्वपा उम्मेदवारलाई भेट्ने योजना रहेको उनको सचिवालयले जनाएको छ । मनोनयन दर्तालगत्तै बिर्तामोडमै मंगलबार बसेका बालेनले बुधबार बिहान रास्वपाबाट झापा–२ मा उम्मेदवार बनेकी इन्दिरा रानालाई समेत भेटे ।
यस्तै, ओली र बालेनसँगै चुनावी प्रतिस्पर्धामा रहेका नेपाली कम्युनिस्ट पार्टीका युवा नेता रन्जित तामाङले पनि कार्यकर्ता भेटघाटलाई तीव्र बनाएका छन् । उनले नेता तथा कार्यकर्ताको भेटघाटबाट रणनीति बनाएर चुनावी घरदैलोमा जाने जनाएका छन् । यो क्षेत्रमा ओली, बालेनसँगै कांग्रेसका मन्धरा चिमरिया, नेपाली कम्युनिस्ट पार्टीका रन्जित तामाङ, राप्रपाका लक्ष्मीप्रसाद संग्रौला, श्रम संस्कृति पार्टीका समीर तामाङलगायतका दल र नौ स्वतन्त्र गरी २४ जनाले उम्मेदवारी दिएका छन् । झापा–५ मा एक लाख ६३ हजार ३७९ मतदाता छन्, जसमा नौ हजार ९० नयाँ मतदाता थपिएका हुन् ।
पहाड उक्लिए बालेन, पाथीभरा दर्शन गर्ने
रास्वपाबाट प्रधानमन्त्रीका फेस बालेन शाह उम्मेदवारी दर्ताको दोस्रो दिन पहाडी जिल्ला इलाम पुगेका छन् । शाहले चुनावी अभियानका क्रममा ताप्लेजुङस्थित पाथीभरा दर्शन गर्ने कार्यक्रम पनि रहेको सचिवालय सदस्य सुरेन्द्र बजगाईंले बताए । ‘झापामा रास्वपा उम्मेदवार, कार्यकर्ता र मतदातासँग बुधबार बिहान भेटघाटपछि उहाँ (बालेन) इलाम लाग्नुभएको छ । यसबिचमा रुटमा पर्ने तीन–चार जिल्लामा भेटघाट गर्नुहुन्छ, उम्मेदवारहरूसँग पनि छलफल गर्नुहुन्छ,’ बजगाईंले भने, ‘पाथीभरा पनि दर्शन गर्ने सेड्युल छ । त्यसपछि फेरि झापा झर्नुहुन्छ ।’ उनी दुई दिनपछि झापा आउनेछन् । त्यसपछि देशका अन्य निर्वाचन क्षेत्रमा जाने बजगाईंले जनाए । पहिला कार्यकर्ता भेटघाट र घरदैलो कार्यक्रम सकिएपछि सर्वजनिक कार्यक्रम गरिने सचिवालयले जनाएको छ ।
कांग्रेस–एमालेका युवा नेता फकाउँदै बालेन
बालेन चुनाव प्रचारका लागि रास्वपाले दमकमा भाडामा लिएको घरमा बसेर भेटघाट गरिरहेका छन् । बालेनलाई भेट्न बालबालिकादेखि वृद्धहरूसम्म पुग्ने गरेका छन् । बालेनको ध्यान भने अन्य पार्टीका युवा नेतामाथि छ । खासगरी कांग्रेस र एमालेका युवा नेताहरू बालेनबाट प्रभावित छन् । कांग्रेसका दमक सभापति प्रकाश प्रसाईंले पार्टी छाडेर बालेनलाई समर्थन गर्ने घोषणा गरिसकेका छन् । कांग्रेसकै कमल गाउँपालिकाका सचिव महेन्द्र बुढाथोकी बुधबार बालेनलाई भेटेर रास्वपामा प्रवेश गरेका छन् । त्यस्तै, नेकपा (एमाले) निकट युवा संघका दमक नगर कमिटी अध्यक्ष छवि खतिवडा र उपाध्यक्ष विजय तामाङ पनि रास्वपा प्रवेश गरेका छन् ।
सञ्जालको भ्रमको तुवाँलोबाट मुक्त हुन ओलीको आग्रह
एमाले अध्यक्ष केपी ओलीले आफ्ना प्रतिस्पर्धी बालेन्द्र शाह (बालेन)को महोत्तरीस्थित घर जाने बाटो पनि आफूले बनाएको दाबी गरेका छन् । उनले आफूसँग प्रतिस्पर्धा गर्न आएका बालेनले केही नगरेको आरोप लगाउँदै महोत्तरी– ३ को बाटो पनि एमाले नेतृत्वको सरकारले बनाएको बताएका हुन् ।
बुधबार दमकमा एमालेनिकट युवाहरूको भेलालाई सम्बोधन गर्दै बालेन यो क्षेत्रमा नयाँ भएका कारण उनलाई यो क्षेत्रको उत्तरदायित्व नरहेको दाबी गरेका हुन् । यद्यपि, बालेनको नाम भने ओलीले लिएनन् । ‘उहाँको घरअगाडिको बाटो मैले बनाइदिएको छु । महोत्तरी– ३ को मटिहारी जाने बाटोमा पुल मैले बनाएको छु । अहिले म पनि नयाँ हेर्ने भनेको अलिअलि सुन्छु,’ ओलीले भने, ‘नयाँ को भन्दा न चिनेको छ न जानेको छ । बैंकले नोट छाप्दा त धितो जमानीविना छाप्दैन । यहाँ भोट हाल्दा न धितो न जमानी विनाको मान्छेलाई भोट हाल्ने ? भोलि खोज्न कहाँ जानु ? घर देख्नुभएको छ ? यहाँ फुर्तीसाथ आएका उम्मेदवारको यो ठाउँ हैन । यहाँ उहाँको कोही छैन । यो ठाउँको उत्तरदायित्व छैन ।’
बालेन निर्वाचन लड्न आएपछि यहाँका सुकुमवासीलाई घर भत्काउने चिन्ता भएको बताए । यद्यपि, उम्मेदवार हुँदैमा केही नहुने उनको दाबी छ । ओलीले पहिलो र सुदृढ संगठन भएको पार्टी एमाले भएका कारण आफूले जित्ने दाबी गरे । ओलीले सामाजिक सञ्जालले फिँजाएको भ्रमको तुवाँलोबाट मुक्त हुन कार्यकर्ता तथा मतदातालाई आग्रह गरे । ‘सामाजिक सञ्जालले फिँजाएको भ्रमको तुवाँलोबाट मुक्त हुन आग्रह गर्दछु । अल्गोरिदमको प्रभावबाट विलकुल मुक्त हुनुहोस्,’ उनले भने, ‘युवाहरूलाई भ्रमबाट मुक्त हुने प्रयासमा लाग्नुपर्छ । हामीबाहेक कसैले जित्दैन । हामीसँग सुदृढ संगठन छ । हाम्रा कार्यकर्ता, समर्थक, शुभेच्छुक जनवर्गीय संगठन छन् । केही पनि नभएको मान्छेले हल्ला चलाएका छन् । यो सामाजिक सञ्जालको तमासा मात्र हो । सामाजिक सञ्जालको तमासामा पर्ने हैन, यथार्थमा जाने हो ।’