एकनाले भरुवा बन्दुक चार थान र बन्दुकसँग सम्बन्धित विभिन्न सामग्रीसहित स्याङ्जाबाट तीनजनालाई प्रहरीले पक्राउ गरेको छ।
प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षार्थ जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी विरुवा अर्चलेबाट खटिएको विशेष सर्च अपरेसन टोलीले विरुवा गाउँपालिका– ३ सिउडीबाट उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रशन्नराज चौधरीले जानकारी दिए।
अपरेसनका क्रममा प्रहरी टोलीले पक्राउ परेका उनीहरूको घरमा लुकाइछिपाई राखेको अवस्थामा भरुवा बन्दुक र बन्दुकसँग सम्बन्धित बारुद, छर्रा, केपलगायतका सामग्रीहरू फेला पारेको थियो।
पक्राउ पर्नेहरूमा बिरुवा– ३ सिउडी बस्ने ७७ वर्षका तिलबहादुर पुलामी, ६५ वर्षका मीनबहादुर पुलामी र ६५ वर्षका रणबहादुर थापा रहेका छन्। उनीहरुमध्ये तिलबहादुरको घरबाट भरुवा बन्दुक दुई थान, २२३ ग्राम बारुद, ३१ थान छर्रा, छर्रा बनाउन प्रयोग हुने सिसा एक थान र भरुवा बन्दुकमा प्रयोग हुने फलामको घोडा एक थान बरामद गरेको चौधरीले बताए।
यसैगरी, मीनबहादुरको घरबाट एकनाले भरुवा भन्दुक एक थान, बन्दुकमा प्रयोग हुने छर्रा १७ थान, बारुद ५० ग्राम, केप दुई थान बरामद गर्दा रणबहादुरको घरबाट एक नाले भरुवा बन्दुक एक थान, बन्दुकमा प्रयोग हुने छर्रा २३ थान, बारुद ३७० ग्राम र केप पाँच थान बरामद गरेको चौधरीले जानकारी दिए। पक्राउ परेका उनीहरूलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ।