आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मंगलबार सिराहाको चारवटा निर्वाचन क्षेत्रबाट दलीय र स्वतन्त्र गरी १३९ जनाले गरेको उम्मेदवारी मनोनयनमा जम्मा आठजना मात्र महिला छन् जुन कुल उम्मेदवार संख्याको ५.७५ प्रतिशत मात्र हो ।
सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयहरूका अनुसार क्षेत्र नं. १ देखि ४ सम्म ५५ जना दलगत र ८४ जना स्वतन्त्र गरी १३९ जनाको उम्मेदवारी दर्ता भएको छ जसमा दलगततर्फ महिला तीन र पाँच स्वतन्त्र गरी आठजना महिला उम्मेदवार छन् । क्षेत्र नं. १ मा १४ जना दलगत र १८ जना स्वतन्त्र गरी ३२ जना उम्मेदवारमध्ये उज्यालो नेपाल पार्टीकी ताराकुमारी चौधरी र स्वतन्त्र उम्मेदवारको रूपमा लहान– १ की सुलोचना कुश्मी गरी दुईजनाले मात्र मनोनयन दर्ता गराएका छन् । यो क्षेत्रमा नेपाली कांग्रेसका रामसुन्दर चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट निवर्तमान युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता, नेकपा एमालेका निवर्तमान सांसद रामशंकर यादव, नेपाली कम्युनिस्ट पार्टीका रामचन्द्र यादव, जनता समाजवादी पार्टी नेपालका सत्यनारायण यादव, जनमत पार्टीका रामस्वरूप चौधरीकाे उम्मेदवारी दर्ता भएको छ ।
त्यस्तै, क्षेत्र नं. २ मा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टीसहित १४ दल र १५ जना स्वतन्त्र गरी २९ जनाको उम्मेदवारी हुँदा तीन महिलाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । धनगढीमाई– ४ की उषाकुमारी यादव तथा शान्तिदेवी यादव र सुखीपुर– १ की कपलेश्वरीदेवी साहको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यो क्षेत्रमा नेपाली कांग्रेसबाट संविधानसभा सदस्य तथा पार्टी जिल्ला सभापति रामचन्द्र यादव, नेकपा एमालेका नवीनकुमार यादव, राष्ट्रिय स्वतन्त्र पार्टीका शिवशंकर यादवलगायत उम्मेदवार छन् ।
नेपाली कांग्रेसका डा. सुभाषचन्द्र यादव, नेकपा एमालेका लीलानाथ श्रेष्ठ, नेपाली कम्युनिस्ट पार्टीका विश्वनाथ साह, रास्वपाका शम्भुकुमार यादव, जसपा नेपालका अशेश्वर यादव र जनमत पार्टीका रोहित महतोसहित १२ दलीय र २९ स्वतन्त्र गरी ४१ जनाको मनोनयन दर्ता भएको छ । क्षेत्र नं. ३ मा एक स्वतन्त्र र एक दलगत गरी दुईजना महिला उम्मेदवार छन् । नरहा– २ की ज्ञानुदेवी सिंह दनुवार आम जनता पार्टी र सिराहा– १ की इन्दिलाकुमारी यादव स्वतन्त्र गरी दुई महिलाको उम्मेदवारी परेको हो ।
सिराहा ४ नं. क्षेत्रमा १५ जना दलगत र २२ जना स्वतन्त्र गरी कुल ३७ जनाको मनोनयन दर्ता हुँदा एक मात्र महिला उम्मेदवारको रूपमा नेपाली कांग्रेसकी चन्द्रकलाकुमारी यादवको उम्मेदवारी परेको छ । विष्णुपुर गाउँपालिका– २ राजपुरकी स्थायी बासिन्दा रहेकी उनी गत पुसमा सम्पन्न नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट सिराहाबाट एक्लो केन्द्रीय सदस्य बनेकी महिला नेतृ हुन् । यो क्षेत्रमा चन्द्रकलासहित नेपाली कम्युनिस्ट पार्टीका पूर्वमन्त्री अजयशंकर नायक, नेकपा एमालेका पूर्वसांसद तथा मन्त्री धर्मनाथप्रसाद साह, जसपा नेपालका पूर्वमन्त्री राजकिशोर यादव, जनमत पार्टीका वीरेन्द्रप्रसाद महतोलगायत १५ जना दलीय उम्मेदवारले मनोनयन पत्र दर्ता गराएका छन् ।
‘समावेशी लोकतन्त्रका लागि चुनौती’
महिला अधिकारकर्मी श्यामकुमारी साहले नेपालको संविधानले महिला सहभागितालाई सुनिश्चित गरेको भए पनि प्रतिनिधिसभा सदस्यको निर्वाचनको मनोनयनमा प्रत्यक्षतर्फ महिलालाई उम्मेदवार बनाउन पर्याप्त अवसर नदिनु समावेशी लोकतन्त्रका लागि ठुलो चुनौती रहेको बताइन् । ‘यो समस्या राजनीतिक मनोवृत्ति, कानुनी अस्पष्टता र सामाजिक पूर्वाग्रहकै कारणले बलियो बनेको छ,’ उनले भनिन्, ‘त्यसका लागि बाध्यकारी कानुनी प्रावधान, दलभित्र सुधार र व्यापक सामाजिक दबाब आवश्यक छ ।’
कुल चार लाख ५३ हजार ६४५ मतदाता रहेको सिराहाको चारवटा निर्वाचन क्षेत्रमा पुरुष दुई लाख ४१ हजार ६१५ र महिला दुई लाख १२ हजार २८ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय सिराहाले जनाएको छ ।