आयोगको निर्णयले विधि, विधान र पद्धति स्थापित भयो : गगन थापा

शनिबार, ३ माघ, २०८२
डिजिटल संस्करण

निर्वाचन आयोगबाट आधिकारिता पाएसँगै कांग्रेस सभापति गगनकुमार थापाले पार्टीका सबै पक्षलाई एकताबद्ध हुन आह्वान गरेका छन् । आयोगको निर्णयले विधि, विधान र पद्धति स्थापित भएको तथा आयोगले संविधान, प्रचलित कानुन र पार्टीको विधानअनुसार निर्णय गरेको पनि उल्लेख गरेका छन् । 

‘नेपाली कांग्रेसमा विधि, विधान र पद्धति स्थापित भएको छ, विशेष महाधिवेशन कुनै विवादको विषय थिएन । निर्वाचन आयोगले संविधान, प्रचलित कानुन र पार्टीको विधानअनुसार निर्णय गरेको छ । यसप्रति हामी आभारी छौँ,’ सभापति थापाले शुक्रबार साँझ जारी गरेको विज्ञप्तिमा भनेका छन् । 

पार्टी नेताको चाहनाले मात्र होइन आमसदस्यको चाहनाले चल्ने पनि आयोगको निर्णयले स्थापित गरेको उल्लेख गरेका छन् । ‘अब नेपाली कांग्रेस आफ्नो मूल जरामा, आफ्नो मूल्य–मान्यता र आदर्शमा फर्केको छ,’ उनले भनेका छन्, ‘यो विधि–विधानले प्रधानता पाएको हो, जय–पराजयको विषय होइन, कुनै अलमल नपरौँ, सबै संयम होऔँ, जिम्मेवार बनौँ, एकताबद्ध रहौँ ।’

उनले अब कांग्रेस नवीन ऊर्जा र एकतासहित रूपान्तरणको दिशामा अगाडि बढेको पनि बताएका छन् । ‘सुधारको यात्रा सुरु भइसकेको छ । अब उच्च आत्मविश्वास र व्यापक तयारीका साथ आसन्न निर्वाचनमा एकढिक्का भई लाग्नुपर्नेछ,’ थापाले भनेका छन् । 

यस परिस्थितिमा कांग्रेसलाई अगाडि बढाउन पूर्वसभापति शेरबहादुर देउवालगायत पार्टीमा विभिन्न तह र निकायमा रहेका नेताबाट पार्टीको लोकतान्त्रिक प्रक्रियालाई सहज रूपमा लिई पूर्ण साथ रहनेछ भन्ने विश्वास पनि व्यक्त गरेका छन् । ‘आजबाट कांग्रेसमा कुनै गुट छैन, गुटगत भागबन्डा हुनेछैन, लाग्नेछैन, जिम्मेवारी फरक होला, तर भुइँ तहमा रहेका सदस्य र तपाईंको केन्द्रीय सभापतिको समान हैसियत हो, हुनेछ । तपाईंहरूको चाहना नै हाम्रो निर्णयको आधार हुनेछ,’ थापाले भनेका छन्, ‘अब कांग्रेस बदलिएको छ, बदलिनेछ । कांग्रेसले मूल्य र सिद्धान्तविपरीत गएर कुनै सम्झौता गर्नेछैन । सत्ताका लागि जोसँग जहिले पनि अप्राकृतिक गठबन्धन गर्ने कुरा अन्त्य हुनेछ ।’

सुझावित समाचार