ललितपुरमा एकैदिन दुईजनाको हत्या भएको छ । ललितपुर महानगरपालिका–१७ बाफलमा ८३ वर्षिय गर्जमान थापा तथा ललितपुर महानगरपालिका–६ पाटनमा २४ वर्षीय विजय राईको गत २६ पुसमा हत्या भएको हो । दुवैजनाको हत्यामा संलग्नलाई पक्राउ गरिएको ललितपुर प्रहरीका एसएसपी होबिन्द्र बोगटीले बताए।
इलाम घर भएका गर्जमानको डेरा नजिकै रहेको फर्निचरमा काम गर्ने भारतीयहरुले हत्या गरेका हुन्। हत्यामा संलग्न बिहारको मोतिहारी घर भएका सदाम मन्सुरी, युसुफ हवारी र मोहमद नोसालाई प्रहरीले पक्राउ गरेको हो। गर्जमानले लगाएको सुन लुट्नका लागि उनीहरुले हत्या गरेको एसएसपी बोगटीले बताए। घाँटी रेटेर उनको हत्या भएको प्रहरीले जनाएको छ।
गर्जमानका छोराको कोटेश्वरमा पसल छ। बुबा गाउँमा एक्लै भएपछि आफुसँगै ल्याएर राखेका थिए। छोरा पसलमा गएपछि डेरामा एक्लै भएका गर्जमान नजिकैकै फर्निचरमा गएर बस्दथें । त्यहाँ कार्यरत कामदारले उनले लगाएको सुन देखेपनि हत्या नै गर्ने योजना बनाएका हुन्। सोहीअनुसार चक्कु प्रयोग गरी हत्या गरी शव पोको पारी इनारमा फालेका थिए।
बुबा हराएपछि गर्जमानका छोरा पूर्णबहादुरले प्रहरीमा खोजिका लागि उजुरी दिन्छन्। शंका लागेर प्रहरीले सो फर्निचर छेउको इनारमा समेत खोजी गर्दा उनको शव भेटिन्छ । फर्निचरका कामदार रहेका सदामसँग सोधपुछ गर्दा उनले गर्जमान केही समय त्यहाँ आएर फर्किएको बताउँछन् । ‘उनीहरुमाथि शंका लागेर सोधपुछ गर्दा उनीहरुले नै हत्या गरेको पुष्टि भएको हो,’ एसएसपी बोगटीले भने। हत्यामा प्रयोग भएको चक्कु र गर्जमानको सुनको तीन आनाको औंठी पनि प्रहरीले बरामद गरेको छ । उनीहरु भारत भाग्ने तयारी गरिरहेको अवस्थामा पक्राउ परेका छन्।
आगो ताप्ने विवादमा कुटाकुट, भोलिपल्ट मृत फेला
पाटनको सुन्धारामा बस्ने विजय राईको भने आगो ताप्ने विवादमा हत्या भएको थियो । शनिबार राती करिब साढे नौ बजे सुन्धारा क्षेत्रमा आगो ताप्ने विषयमा विवाद हुँदा अन्य युवकसँग उनको कुटाकुट भएको थियो । पछि उनीहरुपछि सहमति भयो । एकअर्काले माफी मागे। विजय कोठामा गएर सुतें। भोलिपल्ट उठ्दा उनी मृत भेटिए। अघिल्लो दिन झगडामा भएको कुटपिटकै कारण उनको मृत्यु भएको निचोड प्रहरीको छ । जसअनुसार प्रहरीले सिन्धुलीको दुधौली घर भएका २५ वर्षिय राजु थापा र उदयपुरको त्रियुगा घर भएका २१ वर्षिय दिपेश दाहाललाई पक्राउ गरेको हो । ‘कुटपिटबाटै उनको मृत्यु भएको आशंकामा दुई युवकलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएका छौं,’ एसएसपी बोगटी भन्छन्,‘पोष्टमार्टम रिपोर्ट आएपछि थप प्रष्ट होला ।’