नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीलाई फुटबाट जोगाउन विशेष महाधिवेशन पक्षधरहरू उदारताका साथ संवादमा आउनुपर्ने बताएका छन्।
मंगलबार पार्टी कार्यालय सानेपामा पत्रकारहरूसँग प्रवक्ता महतले पार्टी विभाजन कसैको हितमा नरहेको भन्दै संस्थापन पक्षबाट विभाजनका कुनै कार्य नहुने जिकिर गरे।
‘हाम्रो पार्टीको नेतृत्वको कारणले, हाम्रो कारणले पार्टी फुट्दैन। त्यो (विभाजन) पार्टीको हितमा छैन, नेपाली जनताको हितमा छैन र नेपालको हितमा छैन, त्यो हामीलाई राम्रोसँग थाहा छ। त्यसकारण हामी कुराकानीमा अत्यधिक लचकताका साथ पार्टीका सबै साथीहरूलाई एकजुट बनाउन कोसिस गरिरहेका छौँ।’
आफूहरू लचक र उदार रहेको बताउँदै प्रवक्ता महतले विशेष महाधिवेशन पक्षधर पनि त्यही उदारताका साथ प्रस्तुत हुनुपर्नेमा जोड दिए।
‘पार्टी एकताका लागि, आमनिर्वाचनको मुखमा एकताबद्ध भएर जानका लागि हामी जसरी उदारताका साथ प्रस्तुत भएका छौँ, त्यही उदारताका साथ उहाँहरू आउनुपर्छ,’ उनले भने।