प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजमा शान्तिसुरक्षा अमन चयन कायम राख्न एवं अपराधरहित समाज निर्माणमा प्रहरीको एकल प्रयासले मात्र नभई नागरिकसँगको साझा सहकार्य आवश्यक रहेको बताएका छन्।
जिल्ला प्रहरी परिसर, भक्तपुरको आयोजनामा भक्तपुरको दरबार स्क्वायरमा सोमबार आयोजित समारोहबिच ‘हाम्रो प्रहरी’ कार्यक्रम तथा ट्राफिक सप्ताह–२०८२ विशेषलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले प्रहरी–नागरिक सहकार्यमा जोड दिएका हुन्।
समाजमा हुने कुनै पनि आपराधिक गतिविधिहरूको सूचना दिन तथा त्यस्ता गतिविधिमा संलग्नलाई कानुनी दायरामा ल्याउनको लागि सबै नागरिकहरूको आ–आफ्नो क्षेत्रमा उत्तिकै भूमिका नरहेको उनले बताए। विगतमा भएका कमी-कमजोरीहरूलाई सुधार गर्दै नागरिक र प्रहरीको सहकार्यमा प्रभावकारी कानुन कार्यान्वयन गरी कानुनी शासन स्थापना गर्ने कार्यमा प्रहरी सदैव क्रियाशील रहेको कार्कीको भनाइ छ।
कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले प्याब्सन भक्तपुरद्वारा आयोजित जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगिताका विजयी छात्र–छात्राहरूलाई पुरस्कार एवं प्रमाणपत्र प्रदान गरे।
सो अवसरमा भक्तपुर नगरपालिकाका प्रमुख सुनील प्रजापति, कलाकारद्वय मनोज गजुरेल, कृष्ण कँडेल, पूर्वखेलाडी उपेन्द्रमान सिंह तथा रोटरी क्लब भक्तपुरका अध्यक्ष डिल्लीराम गिरीले कार्यक्रमको महत्व र प्रभावकारिताबारे आ–आफ्नो मन्तव्य व्यक्त गरेका थिए।
जिल्ला प्रहरी परिसर, भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले स्वागत मन्तव्य व्यक्त गरेको उक्त कार्यक्रममा भक्तपुर नगरपालिका वडा नम्बर ३ का अध्यक्ष राजकृष्ण गोराले समापन मन्तव्य राखेका थिए। प्रहरी नायब उपरीक्षक प्रकाश जबेगुले ‘हाम्रो प्रहरी’ कार्यक्रमको अवधारणासम्बन्धी जानकारी दिएका थिए। उक्त कार्यक्रममा जनचेतनामूलक प्रहरी वृत्तचित्र, नेपाल प्रहरी संगीत विद्यालयबाट ब्यान्ड डिस्प्ले, जनचेतनामूलक नाटक तथा नृत्य प्रस्तुत गरिएको थियो।