१०औँ पोखरा स्पोर्टस् अवार्ड आगामी १८ वैशाखमा

सोमबार, २८ पुष, २०८२
डिजिटल संस्करण

१०औँ संस्करणको पोखरा स्पोर्टस् अवार्ड–०८२ आउँदो १८ वैशाख ०८३ मा हुने भएको छ । सोमबार बसेको नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको कार्यसमिति बैठकले अवार्डको मिति तय गरेको हो।

आयोजक मञ्चका अध्यक्ष एमबी आस्था मगरका अनुसार कार्यक्रममा गण्डकी प्रदेशको खेलकुद विकासमा योगदान पुर्याएका खेलाडी, प्रशिक्षक, खेलकुद संस्था, पत्रकारसहित विभिन्न सात विधामा अवार्ड वितरण गरिनेछ। 

यी हुन् अवार्ड वितरण गरिने सात विधा
कार्यक्रममा लाइफ टाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेल संघ-संस्था, वर्ष उत्कृष्ट पत्रकारिता अवार्ड वितरण गरिने अध्यक्ष मगरले जानकारी दिए।

अवार्डअन्तर्गत लाइफटाइम अचिभमेन्ट अवार्ड पाउनेले चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्ला पाउनेछन्। वर्ष खेलाडी पुरुष र महिलाले स्कुटर र ट्रफी पाउनेछन्। वर्ष उत्कृष्ट उदीयमान खेलाडी, प्रशिक्षक, पत्रकार र खेलकुद संघसंस्था वा क्लबले ३५ हजार नगद र ट्रफी पाउनेछन्।

प्रत्येक विधामा ३/३ जना मनोनयन गरिने
सात अवार्डमध्ये वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उदीयमान खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षकलाई वितरण गरिने अवार्डको लागि ३/३ जनालाई मनोनयन गरिने मञ्च गण्डकीका महासचिव परशुराम शर्माले जानकारी दिए । मनोनयनमा परेका ३/३ जनाबाट उत्कृष्ट एकजना छनोट गरी अवार्ड वितरण गरिने उनले बताए । प्रदेशका ११ जिल्लामा रहेका र गत एक वर्षभरि उत्कृष्ट प्रर्दशन गरेका खेलाडीहरूबाट उत्कृष्ट छनोट गरी मनोनयन गरिने उनले जानकारी दिए।

खेल क्षेत्रमा जीवन अर्पण गरेकालाई सम्मान र खेलमा नै लाग्ने प्रण गरेकालाई प्रोत्साहन गर्ने उद्देश्यसहित मञ्चले अवार्डको नवौँ संस्करण सफलतापूर्वक सम्पन्न गरिसकेको अवस्थामा १०औँ संस्करणको अवार्ड सफल पार्न सरोकारवाला सबैको साथ, सहयोग र सल्लाहअनुसार भव्य बनाउने गरी तयारी सुरु गरेको अध्यक्ष मगरले जानकारी दिए। अवार्ड सम्पन्न गर्न प्रदेश खेलकुद परिषद् गण्डकी र पोखरा महानगरपालिकाको विशेष सहयोग रहनेछ।
 

सुझावित समाचार