ट्रम्पको भेनेजुयाली कदमको मूल निसाना क्युबा

सोमबार, २८ पुष, २०८२
डिजिटल संस्करण

भेनेजुएलामा अहिले जे भइरहेको छ, त्यो खासमा त्यस देशको आन्तरिक समस्या वा वैश्विक भूराजनीतिमा यसको भूमिकासँग खासै जोडिएको छैन । किनकि, भेनेजुएलाको तेल उत्पादन अहिले खासै धेरै छैन । केही वर्षदेखि यो देश ल्याटिन अमेरिकाभर एक्लिएकाले यसको प्रभाव छिमेकी देशमा खासै देखिँदैन । निकोलस मदुरो नेतृत्वको भेनेजुएलाली सरकार निरन्तर पतनोन्मुख थियो । मदुरोका सहयोगी देशहरू रुस र चीनले समेत भेनेजुएलालाई महत्व दिन छाडेको धेरै भएको थियो । र, भेनेजुएलाको अर्को सहयोगी देश इरान पछिल्लो समय आफैँ घरेलु समस्याले घेरिएकाले ऊ बाहिर ध्यान दिन सक्ने अवस्थामा छैन ।

निश्चित रूपमा, अमेरिकी तेल कम्पनीहरू भेनेजुएलाको विशाल तेल भण्डारको भावी उपभोगप्रति चासो दिइरहेका छन् । तर, त्यतिले मात्र अहिले त्यस देशमाथि अमेरिकाले चालेको कदमको औचित्य पुष्टि गर्दैन । त्यसमाथि ट्रम्प र उनको ‘मेक अमेरिका ग्रेट अगेन(मागा)’ नीतिले विदेशमा भन्दा अमेरिकाकै घरेलु मुद्दामा जोड दिनुपर्ने भन्छ । ट्रम्प आफैँले भेनेजुएलाका घटनाक्रमलाई ‘लोकतन्त्र’का लागि हो भन्ने ढोंग नगरेका यो लोकतन्त्रका लागि भन्नुपर्दैन । उसै पनि टम्प लोकतन्त्रलाई लिएर उत्साहित हुने नेता होइनन् । आखिर उनी संसारका कतिपय तानाशाहीहरूसँग उठबस गर्न पाउँदा खुसी नै देखिन्छन् । देशभित्र उनका नीति तथा कारबाहीले पनि उनले ‘लोकतन्त्र’लाई उच्चस्थान दिएको उदारण प्रस्तुत गर्दैन । 

क्युबाली क्रान्तिपछि सम्भवतः पहिलोपटक हवाना विश्वमा मित्रविहीन एकदम एक्लो उभिएको छ

भेनेजुएला प्रकरणबारे टिप्पणी गर्दा प्रायः ट्रम्पले लागु पदार्थको तस्करी र ‘नार्को–आतंकवाद’को सन्दर्भ उठाउने गर्छन् । तर, फेरि उही समयमा उनले होन्डुरसका पूर्वराष्ट्रपति हुवाँ ओर्लान्डो हर्नान्डेजलाई माफी दिएको कुराले पनि उनको ती सन्दर्भ इमानदार नरहेको बताउँछ । हर्नान्डेज तिनै नेता हुन् जोमाथि अमेरिकामा ४०० टनभन्दा बढी परिमाणको कोकिन ढुवानीमा प्रत्यक्ष संलग्न भएको दोषी ठहराइएका नेता हुन् । अमेरिकामा यसै वर्ष नोभेम्बरमा तल्लो सदन मध्यावधि चुनाव हँुदै छ । सो चुनाव अझै टाढै लागे पनि ट्रम्पको पार्टीले सो सभामा बहुमत गुमाउन सक्ने जोखिम छ । यस परिपे्रक्ष्यमा वर्षको सुरुमै चालिएको कदम त्यो विपत् रोक्ने दिशाको पहिलो रणनीति पनि हुन सक्छ ।

भेनेजुएलामा चालिएको कदम खासमा चेसको त्यो कदमजस्तो हो, जसको मुख्य उद्देश्य क्युबालाई ‘चेकमेट’ दिनु हो । अर्थात्, क्युबाको पहिले नै नाजुक अर्थतन्त्रलाई धराशायी बनाउने । क्युबाको अर्थतन्त्रलाई टिकाउन भेनेजुएलाको तेल निकै महत्वपूर्ण रहँदै आएको छ । भेनेजुएलाले क्युबालाई अत्यन्त सस्तोमा तेल मात्र बेच्दैन कतिपय अवस्थामा क्युबाली चिकित्सक र सैन्य सहयोगको बदलामा ठुलो परिणाममा तेल निःशुल्क दिने गरेको छ ।

ह्युगो चाभेजको शासनकालमा सुरु भएको यो अभ्यासलाई पछि मदुरोले निरन्तरता दिएका थिए । मियामीमा जन्मिएका क्युबाली मूलका अमेरिकी नेता मार्को रुबियोको विदेशमन्त्री चयनपछि सबै कुरा बदलियो । क्युबालाई ‘मुक्त गर्ने’ जीवनभरको राजनीतिक उद्देश्यलाई अहिले उनी विदेश मन्त्रालयमार्फत साकार बनाउन लागिरहेका छन् । यस्तोमा भेनेजुएलाको सत्ता परिवर्तन ट्रम्पको मूल उद्देश्य होइन, जुन उनका लागि एक सानो अस्थायी सफलता मात्र हुनेछ । क्युबाली सत्ता परिवर्तनमाथि उनको निसाना छ । यो सफलता उनका लागि तत्कालीन राजनीतिक लाभभन्दा माथि हुनेछ । 

यसबाहेक, क्युबामा शासन परिवर्तन भयो भने नोभेम्बरको मध्यावधि चुनावमा ट्रम्पले हार टार्न सक्छन् । यसले रुबियोलाई पनि सन् २०२८ को राष्ट्रपतीय चुनावमा बलियो रिपब्लिकन उम्मेदवार बनाउन सघाउनेछ । रिपब्लिकन उम्मेदवारमध्ये हालसम्म ट्रम्पका उपराष्ट्रपति जेडी भान्स अग्रणी स्थानमा छन् । सबैलाई थाहा भएकै कुरा हो, क्युबाको आर्थिक अवस्था अत्यन्तै नाजुक छ, जुन दिनप्रतिदिन बिग्रँदै गइरहेको छ ।

६० प्रतिशत जनसंख्या बिजुलीविना बाँच्न बाध्य छन् । क्युबाको वैदेशिक मुद्राको सञ्चितीको एक प्रमुख स्रोत पर्यटन नराम्ररी प्रभावित बनेका छ । भेनेजुएलाको सस्तो तेल रोकियो (जुन अमेरिकी हस्तक्षेपअघि नै बिस्तारै घट्दै गइरहेको थियो) र पर्यटनबाट हुने आम्दानीमा समेत उल्लेख्य गिरावट भयो भने क्युबाको आर्थिक अवस्था एकदम नाजुक हुनेछ । क्युबाली क्रान्तिपछिको ६५ वर्षको इतिहासमा सम्भवतः पहिलोपटक क्युबा एक्लो उभिएको छ । चीन र रुसजस्ता शक्तिशाली सहयोगी न त क्युबाको प्रतिरक्षामा अगाडि बढ्न सक्षम देखिन्छन् न इच्छुक नै । नयाँ विश्व व्यवस्थामा रुस र चीन आफूलाई आफ्नो ‘प्रभाव क्षेत्रमा’ खेल्न दिइए ट्रम्प र रुबियोलाई तिनको प्रभाव क्षेत्रमा खेल्न दिन तयार देखिन्छन् । 

(जोसे गेब्रियल पाल्मा चिलीको स्यान्टियागो विश्वविद्यालयका अर्थशास्त्रका प्राध्यापक हुन् ।) द वायरबाट

सुझावित समाचार