कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले आह्वान गरेको विशेष महाधिवेशन आइतबार अपराह्न काठमाडौंको भृकुटीमण्डपमा सुरु हुँदै छ । सोमबार बिहानसम्म सुरु हुने बन्दसत्रमा बहुमत महाधिवेशन प्रतिनिधि सहभागी भए नयाँ नेतृत्व नै चयन गर्ने, नभए महाधिवेशनलाई भेलामा परिणत गरेर संकल्प प्रस्ताव पारित गर्ने तयारी छ । आठ दशकको कांग्रेस जीवनमा विशेष महाधिवेशन हुन लागेको यो दोस्रोपटक हो । यसअघि ०१४ मा विराटनगरमा विशेष महाधिवेशन गरी बिपी कोइराला सभापति निर्वाचित भएका थिए ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको आह्वानमा भएको विशेष महाधिवेशनमा शनिबार रातिसम्मको घटनाक्रम हेर्दा सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्का दुवै सहभागी नहुने भएका छन् । देउवाको सचिवालयले त विशेष महाधिवेशनमा सहभागिताका लागि पठाएको निमन्त्रणा बुझ्नसमेत अस्वीकार गरेको छ । उल्टै देउवाका सहयोगीले दुर्व्यवहार गर्दै घरबाहिर निकालेको निम्तोपत्र बोकेर देउवानिवास महाराजगन्ज पुगेका नेता रामपल्टन साहको आरोप छ ।
राति अबेरसम्मको तयारीअनुसार महाधिवेशनको अध्यक्षता काठमाडौं जिल्ला सभापति सबुजकृष्ण बानियाँले गर्नेछन् । त्यस्तै, महामन्त्री थापा प्रमुख अतिथिको भूमिकामा रहनेछन् । ‘सभापति नआएको अवस्थामा विशेष महाधिवेशनको उद्घाटन महामन्त्रीबाट हुनेछ,’ विशेष महाधिवेशन प्रचारप्रचार समितिका संयोजक नेता सुवास पोखरेलले भने, ‘महामन्त्री, सहमहामन्त्री तथा उल्लेख्य संख्यामा पार्टी केन्द्रीय सदस्यहरू विशेष महाधिवेशनमा सहभागी हुनुहुनेछ ।’
देशैभरिबाट महामन्त्रीद्वय थापा र शर्मानिकट नेता तथा महाधिवेशन प्रतिनिधि काठमाडौं आइपुगेका छन् । भृकुटीमण्डपमा कम्तीमा पनि ६ हजार व्यक्ति अट्ने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ । पार्टीको आन्तरिक कार्यक्रम भएका कारण अन्य दल तथा विदेशी कूटनीतिक नियोगहरूलाई निमन्त्रणा नगरिएको केन्द्रीय सदस्य अजय शिवाकोटीले बताए ।
महामन्त्री थापानिकट नेताहरूका अनुसार विशेष महाधिवेशनमा ५० प्रतिशत महाधिवेशन प्रतिनिधि सहभागी नभए नेतृत्व परिवर्तनको एजेन्डा हुनेछैन । ‘तर, त्यस्तो अवस्था हुँदैन भन्नेमा विश्वस्त छौँ । कथंकदाचित बहुमत संख्या पुगेन भने विशेष महाधिवेशनलाई विशेष भेलामा रूपान्तरण गर्छौँ, एउटा शक्तिका रूपमा यो स्थापित भइहाल्छ भन्ने हाम्रो बुझाइ छ,’ थापानिकट एक नेताले भने ।
उद्घाटनपछि समय पुगे आइतबारै साँझ वा सोमबार बिहान बन्दसत्र सुरु गर्ने तयारी छ । बन्दसत्रमा विभिन्न विषयमा प्रतिवेदन पेस हुनेछ । बन्दसत्र सुरु भएलगत्तै कार्यविधि प्रस्तुत हुने र त्यसपछि नेतृत्व चयनलगायत अन्य कार्यसूचीमा प्रवेश हुनेछ । प्रचारप्रसार समिति संयोजक पोखरेलले अहिलेसम्म ६० प्रतिशत महाधिवेशन प्रतिनिधिले सहभागिता जनाउने वचन दिएका छन् । ‘कम्तीमा ६० प्रतिशत महाधिवेशन प्रतिनिधि सहभागी हुनुहुनेछ । काठमाडौंबाहिरबाट अधिकांश प्रतिनिधि आइसक्नुभएको छ, बाँकी साथीहरू आइतबार बिहानसम्म आइपुग्नुहुनेछ,’ उनले भने ।
पोखरेलका अनुसार बहुमत प्रतिनिधि सहभागी भएपछि नेतृत्व परिवर्तनको एजेन्डा प्रवेश हुनेछ । ‘हामीले पार्टी फुटाउने प्रश्न आउँदैन । बहुमत महाधिवेशन प्रतिनिधिहरू भएको हलले पार्टीका बारेमा निर्णय लिन्छ, पार्टी फुटाउनेहरू त अल्पमतमा भइहाल्छन् नि ! बहुमत सदस्यले पार्टी फुटाउने होइन, पार्टीको भावी नेतृत्व, नीति र कार्यदिशाका बारेमा निर्णय लिन्छ,’ उनले भने । विशेष महाधिवेशनका लागि बिहान कुपन्डोल, सुन्धारा, रत्नपार्क, शंकरदेव क्याम्पस, कमलपोखरीलगायतबाट जुलुस भृकुटीमपण्डपमा पुग्नेछ ।
कांग्रेसका २४ सय ८८ महाधिवेशन प्रतिनिधिले पुसभित्रै नियमित महाधिवेशन वा पार्टी विधानको धारा १७ (२) अनुसार विशेष महाधिवेशन माग गर्दै हस्ताक्षरसहितको निवेदन पार्टी कार्यालयमा बुझाएका थिए । विधानअनुसार तीन महिनाभित्र विशेष महाधिवेशन गर्नुपर्ने मिति २८ पुसमा सकिनुअघि उनीहरूले महाधिवेशन आह्वान गरेका हुन् । केन्द्रीय समिति र केन्द्रीय कार्यसम्पादन समितिले विशेष महाधिवेशनको औचित्य सकिएको भन्दै वैशाख अन्तिम साता नियमित महाधिवेशनको कार्यतालिका पारित गरेको छ । तर, परिवर्तित परिस्थितिमा चुनावअघि नियमित महाधिवेशन हुन नसकेपछि विशेष महाधिवेशनबाट नीति र नेतृत्व परिवर्तन गर्नुपर्ने भन्दै महामन्त्रीद्वय थापा र शर्मासमेत संलग्न भएर विशेष महाधिवेशनको मिति तय गरेका हुन् ।
निम्ता दिन गएका नेतालाई देउवानिवासमा ‘दुर्व्यवहार’
विशेष महाधिवेशनका लागि गठित अतिथि सत्कार तथा स्वागत समितिका संयोजक कांग्रेस नेता रामपल्टन साह शनिबार निम्तोपत्र लिएर सभापति देउवानिवास महाराजगन्ज पुगेका थिए । तर, उनले देउवालाई भेटेर प्रमुख अतिथि भइदिन अनुरोधसहितको निमन्त्रणा दिन पाएनन् । देउवाका सहयोगीले दुर्व्यवहार गरेर घरबाहिर निकालेको उनको आरोप छ । ‘म पहिलो निम्ता सभापतिलाई दिन महाराजगन्ज गएँ । सभापतिलाई भेट्न भनेर आधा घण्टा कुराइयो । पार्टीको मुख्यसचिव कृष्ण पौडेललाई भेटाइदिनुस्, निम्ता दिनु छ भनेँ । उहाँले सभापतिका स्वकीय सचिव भानु देउवालाई देखाउनुभयो,’ साहले भने, ‘मैले विशेष महाधिवेशनको प्रमुख अतिथिका लागि निम्ता लिएर आएको भनेँ, चिठी भानुजीलाई दिएँ । भानुजीले यस्तो चिठी लिएर आउने, तपाईंलाई लाज लाग्दैन भनेर कच्याककुचुक पारेर मलाई नै दिनुभयो र दुर्व्यवहार गर्नुभयो । उहाँले हातै समातेर जान भनेको र सुरक्षाकर्मीले पनि तपाईंलाई अब नो इन्ट्री भन्दै बाहिर निकाले ।’ त्यहाँ नेता उमाकान्त चौधरी भेटिएपछि उनैलाई चिठी दिएको साहले बताए । सोही ठाउँमा कार्यवाहक सभापति खड्का र डा. शशांक कोइरालाले चिठी बुझेर धन्यवाद दिएको साहको भनाइ छ ।
लामो समयदेखिका सारथिले छाडे देउवाको साथ
लामो समयदेखि सभापति देउवाको समर्थक र सहयोगी बन्दै आएका पार्टी पूर्वउपसभापति गोपालमान श्रेष्ठले विशेष महाधिवेशनमा समर्थन जनाएका छन् । आइतबार विशेष महाधिवेशनमा सहभागी हुने घोषणा पनि गरेका छन् । उनी देउवालाई विगतदेखि साथ दिँदै आएका सात शक्तिशाली नेतामध्ये एक हुन् । शनिबार महामन्त्री थापाले उनसँग निवासमै गएर एक घण्टा ४५ मिनेट छलफल गरेका थिए । अर्का महामन्त्री शर्माले पनि टेलिफोन गरेका थिए ।
‘कार्यवाहक दिएर सक्रिय राजनीतिबाट अलग भएका देउवाले सिंगापुरबाट फर्केर आएपछि फेरि अधिकार हातमा लिएर मनपरी गरेको मलाई मन परेन । उहाँले हामीजस्ता साथीहरूलाई तिरस्कार गर्नुभयो । अब नयाँ पुस्तालाई सहयोग गर्छु भन्ने लाग्यो र गगन–विश्वलाई सघाउने भएँ,’ श्रेष्ठले नयाँ पत्रिकासँग भने, ‘म उहाँहरूलाई अभिभावकत्व प्रदान गर्छु । उहाँहरूले मसँग रहेका साथीलाई संरक्षण गर्छु र यथोचित सम्मान दिन्छु भन्नुभएको छ ।’ श्रेष्ठ पार्टीको १४औँ महाधिवेशनमा सभापतिको दाबेदार थिए । त्यसवेला देउवाले आफूलाई सहयोग गर्न बिन्ती गरेको र १५औँ महाधिवेशनमा सहयोग गर्ने वचन दिएको श्रेष्ठले सुनाए । ‘अहिले नेतृत्व एकलौटी र तानासाही भयो । ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको पनि बेवास्ता भयो, यसमा म दु:खी छु,’ उनले भने ।
खड्का र लेखकले महामन्त्रीद्वयसँग गरे छलफल, देउवा ‘समानुपातिक सूची सच्याउन व्यस्त’
कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता रमेश लेखकले शनिबार महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग निकास खोज्न छलफल गरे । तर, सहमति जुट्न सकेन । सभापति शेरबहादुर देउवा भने दिनभर डा. शेखर कोइरालालगायत निकटस्थसँग छलफलमा थिए । प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार निकटस्थहरूसँग देउवाको छलफल पार्टी विवादबारे नभई समानुपातिक सूची सच्याउने विषयमा थियो ।
‘पार्टीको विषय स्पष्ट छ, उहाँहरू (महामन्त्रीद्वय) अघि बढिसक्नुभएको छ । विशेष महाधिवेशनको औचित्य छैन भन्ने पार्टीको निर्णय आइसकेपछि र उहाँहरू त्यसबाट तलमाथि नगर्ने अडान राखेपछि त्यसमा छलफलको अर्थ हुँदैन,’ महतले भने, ‘सभापतिले समानुपातिक सूची मिलाउने विषयमा नेताहरूसँग छलफल गर्नुभएको हो । महामन्त्रीहरूसँग कार्यवाहक सभापति पूर्णबहादुरजी, रमेशजीहरूले सम्पर्कमा रहेर कुराकानी गरिरहनुभएको छ । तर, उहाँहरू पछि नहटेका कारण कुनै सहमतिको सम्भावना रहेन । विशेष भेला वा नीति अधिवेशनका रूपमा अघि सारेको भए छलफल गर्न सकिने ठाउँ हुन्थ्यो । अब, विशेष महाधिवेशनमा के गर्नुहुन्छ हामी हेर्छौँ ।’
पार्टी विवाद शिखरमा पुग्दा शीतलनिवास पसे देउवा
डा. शेखर कोइरालालगायत नेताले दिनभर देउवासँग छलफल गरेका थिए । बिहान छलफल चल्दै गर्दा शीतलनिवासबाट फोन आएपछि देउवा राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न निस्किएका थिए भने कोइराला पनि बाहिरिएका थिए । शीतलनिवास स्रोतका अनुसार देउवालाई पौडेलले कांग्रेसको आन्तरिक विवादप्रति आफू चिन्तित रहेको र यसले लोकतन्त्रप्रेमीलाई चिन्ता थपेको भन्दै फुटसम्म पार्टी नपुगोस् भन्ने शुभेच्छा जनाएका थिए । देउवाले आफू प्रयत्नरत रहेको जवाफ दिएका थिए । कांग्रेस प्रवक्ता महतले राष्ट्रपति–देउवा भेटलाई पुष्टि गरे पनि छलफलका विषयबारे खुलाउन चाहेनन् ।
देउवा शीतलनिवासबाट फर्किएपछि कोइराला दिउँसो १:३० बजे पुन: देउवानिवास प्रवेश गरेका थिए । देउवासँग उनीसँगै कार्यवाहक सभापति खड्का, सहमहामन्त्री जीवन परियार, नेता डा. मीनेन्द्र रिजाल, बालकृष्ण खाण, डा. प्रकाशशरण महतलगायत छलफलमा थिए ।
‘सभापतिज्यू राष्ट्रपतिनिवास जानुअघि एक चरण छलफल भएको थियो । सभापति शीतलनिवासबाट फर्केपछि पुन: शनिबार डेढ बजेदेखि डा. कोइराला देउवानिवासमा दिनभर बस्नुभयो,’ शेखरका स्वकीय सचिव दिनेश थपलियाले भने ।
सुरुमा विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्न महासमिति सदस्यहरूलाई कोइरालाले नै प्रेरित गरेका थिए । त्यसपछि हस्ताक्षर अभियानको अगुवाइ उनीनिकट नेता गुरुराज घिमिरले गरेका थिए । कोइरालाले शुक्रबार घिमिरेसहित १० नेतासँग दुई घण्टा छलफल गरेका थिए ।
कोइरालाले दुई विकल्प सुझाएका छन् । पहिलो– विशेष महाधिवेशन रोकौँ । दोस्रो– यदि रोक्न सक्दैनौँ भने यसलाई केन्द्रीय समितिले स्वामित्व लिएर नीति महाधिवेशनमा परिणत गर्न प्रयास गरौँ र संकल्प प्रस्तावहरू पेस गरेर जाउँ । तर, सभापति देउवा र कार्यवाहक सभापति खड्का दुवै विकल्पमा तयार भएनन् । पूर्वसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, प्रवक्ता महतलगायतले देउवालाई विशेष महाधिवेशनबारे गलत रिपोर्टिङ गरेको र उनीहरूको सुझाव मात्रै सुन्ने हो भने पार्टी दुर्घटनामा जानेतर्फ कोइरालाले ध्यानाकर्षण गराउँदै आएको स्रोत बताउँछ । विशेष महाधिवेशनलाई कुनै न कुनै रूपमा केन्द्रिय कार्यसमितिले सम्बोधन गर्नुपर्नेमा कोइरालाले सुझाव दिएका छन् ।