एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्कीसँग तीन घन्टा लामो छलफल गरेका छन्। बिहीबार दिउँसो प्रधानमन्त्रीनिवास पुगेर उनले छलफल गरेका हुन्।
भेटमा २१ फागुनको प्रतिनिधिसभा सदस्य निर्वाचनबारे छलफल भएको प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलले बताए। भेटमा प्रधानमन्त्री कार्कीले निर्वाचन प्रक्रियामा एमालेले देखाएको उत्साहजनक भूमिका र प्रक्रिया अगाडि बढाउन सहयोगी भूमिकाका लागि सराहना गरेकी थिइन् ।
ओलीले एमाले चुनावका लागि सुरुदेखि नै तयार रहेको, तर वातावरण निर्माणमा जोड दिएका थिए।
यसअघि प्रधानमन्त्री कार्कीले गत १२ पुसमा ओलीसहित शेरबहादुर देउवा र प्रचण्डसँग निर्वाचनबारे संयुक्त छलफल गरेकी थिइन्।
२४ भदौको जेन-जी आन्दोलनपछि राजीनामा दिएर हेलिकोप्टरमा बालुवाटार छाडेपछि उनी त्यहाँ दोस्रोपटक पुगेका हुन्।