निर्वाचनका लागि ५१ प्रकारका सामग्री आवश्यक : १४ प्रकारका नेसनल ट्रेडिङसँग जी टु जीबाट खरिद

बिहिबार, २४ पुष, २०८२
डिजिटल संस्करण

निर्वाचन आयोगले २१ फागुनको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ५१ प्रकारका सामग्री व्यवस्थापन गरेको छ । आयोगका अनुसार ३७ प्रकारका सामग्री मौज्दात छ भने १४ प्रकारका सामग्री जी टु जी मोडलबाट खरिद गरेर व्यवस्थापन गरिएको हो । 

आयोगले नेसनल ट्रेडिङ लिमिटेडसँग जी टु जी गरी आवश्यक सामग्री खरिद गरेको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताए । ‘अहिले हामीले कुनै पनि सामान बजारबाट खरिद गर्या छैन । ३७ प्रकारको हामीसँगै छ । बाँकी १४ प्रकारको स्थानीय बजारमा पाउने स्वदेशी उत्पादन हुने सामानहरू सरकारी स्वामित्वको नेसनल ट्रेडिङबाट जी टु जीमा लिएका छौँ,’ उनले भने । जी टु जीले खरिद प्रक्रिया पारदर्शी बनाउने र निर्वाचनलाई मितव्ययी बनाउने उनको भनाइ छ । 

प्रतिनिधिसभाको २१ फागुनमा हुने निर्वाचनका लागि लाहा, अनुसूची फाराम, पुसपिन, डायरी, मार्कर पेन, स्केल, स्टाप्लर मेसिन, स्टाप्लर पिन (बट्टा), कैँची, ग्लुस्टिक, सोसर, पन्चिङ मेसिन, परिचयपत्र कार्ड होल्डर र डोरी, भित्र लेखिएको कार्ड, बाहिर लेखिएको कार्ड, पुरुष लेखिएको कार्ड, महिला लेखिएको कार्ड, मतदाता क्रमसंख्या ‘देखि सम्म’ लेखिएको कार्ड, मतदान केन्द्र लेखिएको कार्ड, प्लास्टिक थैलो, बोरा, सुतली, प्याकिङ टेप, नेपाली कागजको खाम, निविदा मतपत्र राख्ने नेपाली खाम, सेता कागज एफोर साइज, रेकर्ड फाइल फित्तासहित, धागो, सियो, खाप्सियो, फलाटिन कपडा, सलाई, कोरा कपडाको थैलो, कोरा कपडा मतपेटिका राख्ने, जेलपेन कालो, जेलपेन रातो, मैनबत्ती प्याकेट रहेको छ ।

यसैगरी मतदाता नामावली, मतपत्र, मतपेटिका, मतपेटिका सुरक्षण सिल मतदान केन्द्रमा प्रयोग हुने, मतपेटिका सुरक्षण सिल तालिम प्रयोजन, नउड्ने मसीको मार्कर, स्वस्तिक छाप रबर, मतपेटिका स्टिकर, स्वस्तिक छाप (पित्तल), स्ट्याम्प प्याड मसी, छेकाबार, रबर म्याट, स्ट्याम्प प्याड, सम्बन्धित ऐन, नियम, निर्देशिका र निर्वाचन आचारसंहिता रहेको छ ।

सुझावित समाचार