पल्सर स्पोर्टस् अवार्ड ०८१ : एरिका र दीपेन्द्र बने वर्ष खेलाडी

बुधबार, २३ पुष, २०८२
डिजिटल संस्करण

कराँतेकी एरिका गुरुङ र क्रिकेटर दीपेन्द्रसंह ऐरी एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड ०८१ अन्तर्गत क्रमशः महिला र पुरुषतर्फका वर्ष खेलाडी घोषित भएका छन् । पारा तेक्वान्दोकी पलेसा गोवर्धन ट्रेजब्लेजर अफ द इयरको अवार्डले सम्मानित हुँदा अवार्डको सबैभन्दा प्रतिष्ठित र सम्मानित विधा लाइभ टाइम एचिभमेन्ट अवार्डबाट एथलेटिक्सका खड्गबहादुर रानाभाट सम्मानित भएका छन्।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले बुधबार पोखरा सभागृहमा आयोजना गरेको कार्यक्रममा विभिन्न १० बिधामा अवार्ड वितरण गरिएको थियो ।
लगातार दोस्रोपटक महिलातर्फको अवार्ड हात पारेकी एरिकाले खोखोकी मानमती धाँमी, कराँतेकी एलिसा रास्कोटी मगर, भलिबलकी सलिना श्रेष्ठ र फुटबलकी रेखा पौडेललाई पछाडि पारेकी हुन् । गत वर्ष चार अन्तर्राष्ट्रिय स्वर्ण पदक जितेकी एरिका ०८० मा वर्ष महिला खेलाडी घोषित भएकी थिइन् ।

गत वर्ष एरिकाले भुटानमा सम्पन्न आठौँ दक्षिण एसियाली कराँतेमा दोहोरो स्वर्ण तथा अस्ट्रेलियन ओपन २०२४ र सिंगापुरमा सम्पन्न १६औँ एसिया प्यासिफिक कराँते च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी थिइन् । यसैगरी, एरिकाले चीनमा भएको २०औंँ सिनियर कराँते च्याम्पियनसिप र दुबईमा भएको विश्व कराँते वन युथ लिगमा रजत पदक जितेकी थिइन् ।

दीपेन्द्रले क्रिकेटकै कुशल भुर्तेल, उसुका विजय सिन्जाली, खोखोका जनक चन्द, टेबलटेनिसका स्यान्टु श्रेष्ठलाई पछि पार्दै अवार्ड हात पारेका हुन् । गत वर्ष दीपेन्द्रले एसिसी प्रिमियर कप २०२४ मा कतारविरुद्ध एकै ओभरमा ६ छक्का प्रहार गर्दै इतिहास बनाएका थिए । यस्तो कीर्तिमान बनाउने टी–२० अन्तर्राष्ट्रियकै तेस्रो खेलाडी हुन् । उनी ०८१ मा ३७० रन जोड्नुका साथै २० विकेट लिन सफल भए । अमेरिकामा सम्पन्न टी–२० विश्वकपमा ६ विकेट लिँदै नेपालका लागि सर्वाधिक विकेट लिने बलर बनेका थिए । नेपाल प्रिमियर लिग एनपिएलको पहिलो संस्करणमा सर्वोकृष्ट खेलाडी बन्दै कार जित्न सफल भएका थिए । प्रधानमन्त्री कपमा नेपाल पुलिस क्लबलाई च्याम्पियन बनाउने क्रममा चार अर्धशतकसहित ३०८ रन र ७ विकेट लिएका थिए । 

पेरिस पारा ओलम्पिकमा कांस्य पदक जितेर इतिहास बनाएपछि पलेसालाई नेपाली खेलकुदकी पथप्रदर्शकको सम्मान दिइएको हो । पलेसा ओलम्पिक पदक जित्ने नेपालकी पहिलो खेलाडी हुन् । गत वर्ष पलेसा एनएसजेएफ पारा एथ्लेट अवार्डबाट सम्मानित भएकी थिइन् । 

लाइभ टाइफ एचिभमेन्ट अवार्डबाट सम्मानित रानाभाट नेपाली खेलकुदको पहिलो पुस्ताका खेलाडी र प्रशिक्षक हुन् । खेल जीवनपछि उनी प्रशिक्षणमा ब्यस्त रहेका छन् । उनी सिक्ने सिकाउने क्रममा ७७ जिल्ला पुगेका छन् । राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडीको संगठन बनाउन समेत महत्वपूर्ण भूमिका खेलेका उनले पोखरा म्याराथनलाई स्थापित मात्र गरेनन्, सफलतापूर्वक अगाडि बढाएका छन् । सन् १९८७ मा भारतको कोलकातामा भएको तेस्रो दक्षिण एसियाली खेलकुदमा बैकुण्ठ मानन्धरको म्याराथनमा कीर्तिमान बनाउँदा रानाभाट नेपाली टिमका प्रशिक्षक थिए । 

पिपुल्स च्वाइसको अवार्ड हिमाल सुनारीलाई 
भलिबलका हिमाल सुनारीले पिपुल्स च्वाइसको अवार्ड जितेका छन् । इसेवाको भोटिङ, मञ्चका सदस्यको मत, फेसबुक लाइक र प्रमुख प्रशिक्षकको मतका आधारमा हिमाल विजेता बनेका हुन् । हिमालले सर्वाधिक ४०.१० प्रतिशत मत प्राप्त गरेका थिए । यस अवार्डको मनोनयनमा फुटबलर रेखा पौडेल, क्रिकेटकी पूजा महतो, टेबलटेनिसकी इभाना थापामगर र उसुका विजय सिन्जाली प्रतिस्पर्धामा थिए । 

पारा तेक्वान्दोका कविराज नेगी लामाले वर्षका उत्कृष्ट प्रशिक्षक अवार्ड हासिल गरे । नेगीले दीपक महर्जन (बक्सिङ), लक्ष्मीनारायण वैद्य (खो खो), महेश रिजाल (क्रिकेट) र पछल्लो वर्षका विजेता कुशल श्रेष्ठ (कराँते)लाई निराश बनाए । पलेसाले पेरिस पारा ओलम्पिकमा ऐतिहासिक पदक जित्दा नेगी प्रशिक्षकको भूमिकामा थिए । 

क्रिकेटर पूजा महतोलाई युवा वर्ष खेलाडीको अवार्ड 
युवा वर्ष खेलाडी अवार्ड महिला क्रिकेटर पुजा महतो घोषित भइन् । पूजा उत्कृष्ट भएको यस विधामा अजय बिक (एथ्लेटिक्स), अञ्जली महर्जन (कराते), स्वस्तिका तिरुवा (बक्सिङ) र समीर तामाङ (फुटबल) पनि मनोनयनमा थिए । गत वर्ष पूजा नेपाली यू–१९ महिला टोलीलाई इतिहासमा पहिलोपटक महिला विश्वकपमा छनोट गराउने टालीकी कप्तान थिइन् । सो छनोटमा पूजाले २७२ रन बनाई सर्वाधिक रनकर्ता बन्नुका साथ १० विकेट लिन सफल भइन् । उनले कुवेतविरुद्ध अविजित १३० रनको शतकीय पालि खेलेकी थिइन् । सोही वर्ष पूजा एसिसी महिला यु–१९ एसिया कप २०२४ मा पाकिस्तानलाई ६ विकेटले पराजित गर्दै इतिहास रच्ने कप्तान पनि बनेकी थिइन् । 

पारा एथलेटिक्स अवार्ड प्रभा आङदम्बेलाई
पारा एथ्लिट अवार्डबाट पारा एथलेटिक्स खोलडी प्रभा आङदम्बे सम्मानित भइन् । नेपाली खेलकुद क्षेत्रमा प्रवेश गरेको एक वर्ष पनि पूरा नभएकी प्रभाले नयाँ दिल्लीमा भएको विश्व पारा एथलेटक्समा ऐतिहासिक रजत पदक जित्न सफल भएकी थिइन् । टी ४७ क्याटेगोरीमा प्रभाले लङजम्पमा ३.९६ मिटर उचाई नाघेर ऐतिहासिक रजत पदक जितेकी हुन् । जुन पारा एथलेटिक्समा नेपालले जितेको अहिलेसम्मको ठुलो पदक हो ।

स्पेसल अवार्डबाट तेक्वान्दोकर्मी तुलसीकुमार गुरुङ सम्मानित भए । पोखरेली गुरुङले गत वर्ष दक्षिण कोरियाको कुक्किवोनबाट नवौँ डान ब्ल्याक बेल्ट प्राप्त गरेका थिए । तेक्वान्दोमा यस्तो उपल्लो डानको मान पाउने उनी पहिलो नेपाली हुन् । 

भारतको नयाँ दिल्लीमा भएको पहिलो खो खो विश्वकपमा उपविजेता बनेर ऐतिहासिक रजत पदक दिलाउने खो खो पुरुष र महिला टिमलाई टिम अफ द इयरको अवार्ड प्रदान गरिएको छ । ‘टिम गेम’ मा नेपाल विश्वकप खेलेर उपविजेता बनेको खो खो पहिलो खेल हो । यस्तै, बंगलादेशका खेल पत्रकार राना हसनले एसियन स्पोर्टस् जर्नलिस्ट अवार्ड प्राप्त गरेका छन् । 

वर्ष खेलाडी पुरुष-महिला, पिपल्स च्वाइस, प्रशिक्षक र युवा गरी पाँच विधाका विजेताले बजाज पल्सर मोटरसाइकल प्राप्त गरे । अन्य विधाका विजेतालाई जनही एक लाख प्रदान गरिएको थियो । 

विजेताहरूलाई युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता, गोल्छा समूहका निर्देशक अभिमन्यु गोल्छा, पोखरा महानगरपालिकाकी मेयर धनराज आचार्य, आयोजक मञ्चका अध्यक्ष निरञ्जन अधिकारी र महासचिव अन्जन खड्का, कास्कीकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङलगायतले अवार्ड वितरण गरेका थिए ।

सुझावित समाचार