- वैशाखमा नियमित महाधिवेशन गर्ने निर्णय गरेको संस्थापन र पुसमा नै विशेष महाधिवेशन गर्नुपर्ने अडानसहित पार्टी निर्णयमा असहमत महामन्त्रीद्वय पक्षधर एक–अर्कालाई गलाउने रणनीतिमा
वैशाखमा नियमित वा पुसमा विशेष महाधिवेशनको मुद्दामा कांग्रेसका नेता–कार्यकर्ताको ध्रुवीकरण तीव्र हुँदै गएको छ । साथै, नियमित महाधिवेशनमा जाने निर्णय गरेको संस्थापन र विशेष नै गर्नुपर्ने अडानसहित पार्टी निर्णयमा असहमति राखेका महामन्त्रीद्वय पक्षधर एकअर्कालाई गलाउने रणनीतिमा पनि लागेका छन् । अहिले दुवैपक्ष आ–आफ्नो तयारीमा छन् ।
संस्थापनले विशेष महाधिवेशन निष्क्रिय भएको भन्दै मातहतका निकायलाई परिपत्र गरेको छ । प्रदेश, जिल्ला, प्रतिनिधिसभा क्षेत्र, प्रदेश सभा क्षेत्र, पालिका र वडाहरूलाई परिपत्र जारी गर्दै फागुन २१ को निर्वाचन र वैशाखको १५औँ महाधिवेशनको काममा लाग्न निर्देश गरिएको छ ।
वैशाखमा हुने नियमित महाधिवेशनको कार्यतालिकासहित कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले मातहतका निकायलाई सोमबार परिपत्र गरेका हुन् । परिपत्रमा २१ फागुनको प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाएर पार्टीलाई बहुमत ल्याउन सबै क्रियाशील हुन भनिएको छ ।
यस्तै, पाँच प्रदेशका सभापतिले पनि संयुक्त विज्ञप्ति जारी गर्दै विशेष महाधिवेशनको औचित्य समाप्त भएको दाबी गर्दै आमनिर्वाचनमा होमिन अपिल गरेका छन् । विज्ञप्ति निकाल्नेमा कोशी सभापति उद्धव थापा, मधेश सभापति कृष्ण यादव, बागमती सभापति इन्द्रबहादुर बानियाँ, कर्णाली सभापति ललितजंग शाही र सुदूरपश्चिम सभापति वीरबहादुर बलायर छन् ।
‘कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको २०८२ पुस १८ को निर्णयअनुसार २०८३ वैशाख २८–३१ मा नियमित महाधिवेशन सम्पन्न हुने भएकाले त्यसअघि विशेष महाधिवेशन गर्ने औचित्य समाप्त भएको अवस्थामा देशभरका सम्पूर्ण कांग्रेसजनहरूलाई एकताबद्ध भई नियमित महाधिवेशनको तयारी र २०८२ फागुन २१ को आमनिर्वाचनमा पार्टीका उम्मेदवारहरूलाई विजयी गराउने कार्यमा जुट्न हार्दिक अनुरोध गर्दछौँ,’ संयुक्त विज्ञप्तिमा छ । उनीहरूले विशेष महाधिवेशन पक्षधरलाई दबाब दिन यस्तो विज्ञप्ति निकालेका हुन् ।
विशेष महाधिवेशन पक्षधरले २८ पुसको मितिमा विशेष महाधिवेशन आह्वान गर्न दबाब दिएका छन् । महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा विशेष महाधिवेशनको तयारीमा लागेका छन् । राजनीतिक प्रतिवेदन लेखनदेखि आवश्यक सबै तयारी थालिएको थापा–शर्मानिकट नेताहरू बताउँछन् । ‘सबै किसिमले तयारी भइरहेको छ, प्रक्रिया अघि बढिसक्यो । अब त्यसबाट पछि हट्ने सम्भावना छैन,’ थापानिकट केन्द्रीय सदस्य प्रकाश स्नेहीले भने, ‘पार्टीको लोकतान्त्रीकरण र विधानको सर्वोच्चता स्थापित गर्न विशेष महाधिवेशनबाहेक अरू बाटोमा जान सकिने अवस्था छैन ।’
नेता अर्जुननरसिंह केसीले सोमबारको कार्यसम्पादन समिति बैठकमै विधानको धारा १७ को उपधारा २ अनुसार विशेष महाधिवेशन बाध्यकारी रहेको जिकिर गर्दैै आफू विशेष महाधिवेशनमा सहभागी हुने बताएका छन् । ‘५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर बुझाएर माग गरेको विशेष महाधिवेशन बाध्यकारी छ । २८ पुसभित्र विशेष महाधिवेशन आयोजना हुनुपर्छ । म विशेष महाधिवेशनमा जान्छु,’ केसीले भनेका छन् ।
यस्तै, महाधिवेशन प्रतिनिधि देवराज चालिसेले विशेष महाधिवेशनबारे पुन: ध्यानाकर्षण–पत्र बुझाउन खोज्दा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले समय दिएनन् । कार्यालयका कर्मचारीले समेत ध्यानाकर्षण–पत्र दर्ता गर्न नमानेको उनले गुनासो गरे ।
कार्यवाहक सभापति खड्काले बुझ्न र कार्यालयमा दर्ता गर्न नमानेपछि चालिसेले मिडियामार्फत ध्यानाकर्षण–पत्र सार्वजनिक गरेका छन् । उनले आगामी वैशाखमा १५औँ महाधिवेशन गर्ने केन्द्रीय कार्यसम्पादन समिति बैठकको निर्णय सच्याएर विशेष महाधिवेशन आह्वान गर्न माग गरे । ‘पुस १८ को त्रुटिपूर्ण निर्णय सच्याई विधानको व्यवस्थालाई कार्यान्वयन गर्न र कांग्रेसलाई नयाँ ऊर्जा, एकता र दिशासहित अघि बढाउन केन्द्रसमक्ष पुन: अनुरोध गर्दछौँ,’ उनले भनेका छन् ।
केन्द्रीय कार्यसम्पादन समिति बैठकले विशेष महाधिवेशनजस्तो गम्भीर विषयमा निर्णय लिँदा विधानको सर्वोच्चतालाई स्वीकार गर्न नसकेको उनको दाबी छ । ‘पार्टीको सर्वोच्च संस्था महाधिवेशनका प्रतिनिधि सदस्यहरूको बहुमतले गरेको अनुरोधको वैधानिकता तथा राजनीतिक हैसियत हुँदैन ? यो पार्टी सञ्चालनको कस्तो विधि हो ? हामी कस्तो संस्कार बसाल्दै छौँ ?’ उनले प्रश्न गरे ।
सहमहामन्त्री किशोरसिंह राठोरले केन्द्रीय कार्यसम्पादन समितिले नियमित महाधिवेशनको नयाँ कार्यतालिका ल्याएको सन्दर्भमा विशेष महाधिवेशनको औचित्य नरहेको बताए । ‘विशेष महाधिवेशनको अब औचित्य छैन । अहिलेको अवस्थामा आमचुनावमै केन्द्रित हुनुपर्छ । हामी विशेष महाधिवेशन हुन दिन्नौँ । हस्ताक्षर पनि फिर्ता हुन्छ,’ उनले भने । पार्टी निर्णयविपरीत महामन्त्रीहरूले व्यक्तिगत रूपमा अघि सारेको विशेष महाधिवेशन हुन नसक्ने उनको दाबी छ ।
यसैबिच डा. शेखर कोइरालाले भने एकता कायम गरेर निर्वाचनमा जानुपर्ने भन्दै नेताहरूसँगको छलफल तीव्र बनाएका छन् । ‘डा. साबले सबै पक्षका नेताहरूसँग छलफल गरिराख्नुभएको छ । सबैलाई मिलाएर लानुपर्छ भनेर उहाँ लाग्नुभएको छ,’ उनीनिकट एक नेताले भने । कोइरालाले पार्टी निर्णय मानेर जानु नै लोकतान्त्रिक पार्टीका नेता–कार्यकर्ताको कर्तव्य हुने बताउँदै आएका छन् ।