नागरिक उन्मुक्तिका उपाध्यक्ष, सांसदसहितका नेताहरू रास्वपामा समाहित

टीकापुर घटनालाई राजनीतिक आन्दोलनका रूपमा स्वीकार

मंगलबार, २२ पुष, २०८२
डिजिटल संस्करण

नागरिक उन्मुक्ति पार्टीको पूर्वनेतृत्व तथा थरूहट/थारूवान अभियन्ताहरू राष्ट्रिय स्वतन्त्र पार्टीमा समाहित भएका छन् । सोमबार राष्ट्रिय सभागृहमा आयोजित समारोहमा रास्वपा र नागरिक उन्मुक्ति पार्टीका पूर्वनेतृत्व साथै थरूहट अभियन्ताहरूबिच नौबुँदे सहमति भएको हो ।

सबै नेपालीको समतामूलक उन्नतिप्रति कटिबद्ध सामाजिक न्यायसहितको प्रतिस्पर्धात्मक उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक प्रणालीभित्र असल शासन कायम गरी आमनागरिकका आकांक्षा सम्बोधन गर्न सबै सुसंस्कृत एवं परिवर्तनकामी शक्तिहरू मिलेर नयाँ राजनीतिक शक्तिलाई स्थापित गर्न अपरिहार्य रहेकाले सहमति गरिएको उल्लेख छ । 

सहमतिपत्रमा रास्वपा उपसभापति डोलप्रसाद अर्याल, नागरिक उन्मुक्तिका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डित र लक्ष्मण थारू तथा सुरेन्द्र चौधरीले हस्ताक्षर गरेका छन् । उनीहरूसँगै नागरिक उन्मुक्ति पार्टीका सांसद लक्ष्मणकिशोर चौधरी, ठाकुरसिंह थारू, कोमल ज्ञवालीलगायत थरूहट पक्षका नेताहरू रास्वपा प्रवेश गरेका छन् । लक्ष्मण चौधरी नागरिक उन्मुक्ति पार्टीका २१ जना संस्थापक सदस्यमध्ये एक हुन् । ०७९ को निर्वाचनमा उनी कैलाली १ (२)बाट विजयी भएका थिए । प्रदेश सरकारका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री रहेका वेला गत वर्ष विवादित अडियो सार्वजनिक भएपछि उनले पदबाट राजीनामा दिएका थिए । 

हालै नागरिक उन्मुक्ति पार्टी र नेपाली कम्युनिस्ट पार्टीबिच एकीकरण गर्ने सहमति भएको थियो । नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठले नेपाली कम्युनिस्ट पार्टीसँग एकता गर्ने सम्झौता गरेकी छिन् । 

सुदूरपश्चिम प्रदेश सभामा नागरिक उन्मुक्तिका सातजना सांसद छन् । आन्तरिक विवादले छिन्नभिन्न रहेको नागरिक उन्मुक्तिबाट निर्वाचित कतिपय स्थानीय तहका जनप्रतिनिधि पनि पछिल्लो समय पार्टीमा सक्रिय छैनन् । नागरिक उन्मुक्तिले कैलालीमा चार पालिकामा प्रमुख र तीन पालिकामा उपप्रमुख जितेको थियो । अध्यक्ष श्रेष्ठ र उनका पतिसमेत रहेका नागरिक उन्मुक्तिका संरक्षक रेशमलाल चौधरीबिच लामो समयदेखि विवाद थियो । श्रीमती रञ्जितासँगको विवादका कारण रेशमले नागरिक उन्मुक्ति पार्टी नेपाल गठन गरेका थिए । सुदूरपश्चिम सरकारमा सहभागिताको विषयलाई लिएर सुरु भएको विवादले उग्र रूप लिएपछि नागरिक उन्मुक्ति छिन्नभिन्न अवस्थामा पुगेको हो । 

कसले के भने ? 
सुदूरपश्चिम प्रदेश सभा सदस्य लक्ष्मण चौधरीले जेन–जी आन्दोलनले तानाशाह लुक्न बाध्य भएको, भ्रष्टहरू थरथर काँप्ने बनाइदिएकाले सफल विद्रोह भएको बताए । रवि र बालेनको हस्ताक्षरले देशलाई जोडेको उनको भनाइ थियो । घुस नखाऊ भन्दा गोली ठोकिएको र अझ आफैँ निर्दाेष रहेको भनेर हिँड्दै गरेको भन्दै उनले जायज र न्यायिक एजेन्डालाई पूरा गर्ने काम अब रास्वपाको भएको बताए । 

नागरिक उन्मुक्ति पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले यो राजनीतिक समायोजन माग मुद्दाको सम्बोधनका लागि भएको बताए । यसका लागि रवि लामिछानेलाई विश्वास गर्न उनले आह्वान गरे । ७ भदौ ०७२ मा घटेको घटना आन्दोलन भएको र त्यसलाई लामिछानेले स्वीकार गरेको उनले सुनाए । 

उपसभापति स्वर्णिम वाग्लेले विराट लक्ष्यका लागि ठुलै पार्टीमा जोडिएर यो अभियानलाई इमानदार रूपमा अगाडि बढाउने र समावेशिताको विषयमा आफूहरू प्रतिबद्ध रहेको बताए । संघर्ष गर्दा मुद्दाहरू उठान भएको, तर उठाउने तरिकाप्रति विमति भए पनि जुधाउने, लडाउने र सामाजिक सद्भाव खल्बल्याउने काम भएको भन्दै रास्वपाले जोड्ने राजनीति गरिरहेको उनको भनाइ थियो । 

बालेन र कुलमान अनुपस्थित
रास्वपा र थरूहट अभियन्ताको एकता समारोहमा सभापति रवि लामिछाने, उपसभापतिद्वय डिपी अर्याल र स्वर्णिम वाग्लेसहित विवेकशीलबाट आएका नेताहरू सहभागी थिए । तर, पार्टीको वरिष्ठ नेताको हैसियत पाएका काठमाडौंका मेयर बालेन्द्र शाह बालेन र पहिलो वरीयताका उपसभापति कुलमान घिसिङ उपस्थित भएनन् । रास्वपा प्रवक्ता मनीष झाले बालेन र कुलमानले औपचारिक जिम्मेवारी सम्हाल्न बाँकी नै रहेको बताए ।

‘उहाँहरू अहिले आ–आफ्नो जिम्मेवारीमा हुनुहुन्छ । त्यो त्यागेर मात्रै उहाँहरू पार्टीको जिम्मेवारीमा आउनुहुन्छ । र, औपचारिक रूपमा एकता सभा हुन्छ । त्यसपछि पार्टीको सार्वजनिक कार्यक्रममा उपस्थित हुनुहुन्छ । अहिले त सम्झौता मात्रै भएको हो । यसलाई मतभेद र मनभेदको रूपमा लिनुहुँदैन । राजनीतिक रूपमा लिनुपर्छ,’ उनले भने । यद्यपि, बालेन र कुलमान समूहका नेता कार्यकर्ताहरूको सार्वजनिक समारोहमा उल्लेख्य सहभागिता रहेको बिस्तारै नेतृत्व तहको पनि सहभागिता हुने उनको भनाइ छ ।

See More On

सुझावित समाचार