उठीवासको त्रासमा मुसहर बस्ती, सुरक्षाका लागि हारगुहार

वडासदस्यको नाममा बस्तीको जग्गा, जिल्लाको फैसलाविरुद्ध उच्चमा पुनरावेदन

आइतबार, २० पुष, २०८२
डिजिटल संस्करण

सिराहाको सखुवानन्कारकट्टी गाउँपालिका– २, सोठियाइन पटना गाउँमा करिब तीन दशकभन्दा बढी समयदेखि बस्दै आएको मुसहर समुदायले बस्ती सुरक्षाका लागि हारगुहार गरेको छ । करिब ५० घरधुरी मुसहर बस्ती रहेको जग्गा आफ्नो रहेको दाबीसहित स्थानीय जनप्रतिनिधिले उच्च अदालतमा मुद्दा हालेपछि बस्ती सुरक्षाका लागि पीडितहरूले हारगुहार गरेका हुन् । 

मुसहर बस्तीको उठीवास गराउन अदालतमा मुद्दा दायरदेखि स्थानीयस्तरबाट पनि विभिन्न दबाब दिइरहेकाले आफूहरू अप्ठ्यारोमा परेको बस्तीका पीडित शोभित सदायले गुनासो गरे । ‘०५० तिर बसेको बस्तीमा म, बुचन सदाय, लक्ष्मी सदाय र घुरती सदायविरुद्ध ३० वर्षपछि जग्गा खिचोला मुद्दा हाले,’ उनले भने, ‘जिल्लामा त जित्यौँ, जग्गा दाबी गर्ने जनप्रतिनिधिले फेरि उच्च अदालतमा पुनरावेदन गरेपछि जसोतसो मुद्दा जोडेका छौँ ।’ हातमुख जोड्नै सकस भइरहेका वेला मुद्दाको प्रक्रियामा सामेल हुन, वारेस राखेर काम गराउन पनि आर्थिक कारणले समस्या भइरहेको उनको गुनासो छ । 

भक्तपुरका उपेन्द्र प्रजापति र राजाबहादुर प्रजापतिको कामत रेखदेख, खेतीपातीको उब्जनी संकलन र हिसाब हेर्ने गरी स्थानीय हरिनारायण यादव मुुन्सी बसेका थिए । उनको निधनपछि छोरा रामउद्गार यादवले मुुन्सीको काम गर्दै आएको बुचन सदायले सुनाए । उनका अनुसार हरिनारायण मुन्सी रहेकै वेला स्थानीय ५० घरधुरीमध्ये ३२ जनाले बस्दै आएको घडेरी र खेतीपातीका लागि तीन लाख रुपैयाँसम्म बुझाएका थिए । त्यसरी रकम बुझाएकामध्ये पाँचजनाको नाममा जग्गा रजिस्ट्रेसन भएको थियो । ‘जग्गा रजिस्ट्रेसन गरिदिने भन्दै रामउद्गारले मुसहरहरूसँग संकलन गरेको करिब ५० लाख रुपैयाँ लहान आएर आइएमईबाट प्रजापतिलाई पठाएका थिए,’ उनले भने । कामत रहेका उपेन्द्र र राजाबहादुरको निधन भएसँगै प्रजापतिका छोराहरूले मुसहरहरूसँग उठाएको रकम नलिएको भन्न थालेपछि मुसहर बस्तीको जग्गा वडासदस्य प्रमशिलादेवी ठाकुरले आफ्नो नाममा पास गरेको शिक्षक रामसुफल यादवले सुनाए । वडासदस्य ठाकुरले पदीय आडमा तीन दशकभन्दा बढी समयदेखि बसोबास गर्दै आएको मुसहर बस्ती बसेको कित्ता नम्बर ८४५ को १० कट्ठा ४.७५ धुर जग्गा तीर्थमाया प्रजापतिसमेतबाट १० माघ ०७९ मा लहान मालपोत कार्यालयमा रजिस्ट्रेसन गराएपछि निरन्तर बस्ती खाली गर्न धम्क्याउँदै आएको पीडितहरूको गुनासो छ । स्थानीय रामसुफल सदायका अनुसार ठाकुरले पटक–पटक प्रहरीसमेत पठाएर बस्ती खाली गर्न धम्क्याउँदै आएकी छिन् । 

स्थानीय बुचन सदायले १६ साउन ०७१ देखि १३ भदौ ०७४ भदौसम्म ६ पटक गरी बस्दै आएको घडेरीसहित तीन कट्ठा जग्गाका लागि रामउद्गार परिवारका इन्दल यादवलाई दुई लाख ५४ हजार रुपैयाँ बुझाएको, तर अहिले ठाकुरले जग्गा खाली गर्न धम्क्याउने गरेको गुनासो गरे । बुचनजस्तै स्थानीय शोभित र कलेश्वर सदाले क्रमश: तीन लाख र एक लाख ५० हजार रुपैयाँ बुझाएका छन् भने अशेश्वर सदा, महेशवर सदा, मुनि सदा, फुलचन सदालगायतले बस्दै आएको घडेरीसहित जग्गाका लागि एक लाख रुपैयाँभन्दा बढी रकम बुझाएको बताए । 

रकम बुझाएका ३२ जनामध्ये किसनवती सदा, लक्ष्मीनिया सदालगायत पाँचजनालाई भने जग्गा रजिस्ट्रेसन गरिदिएर बाँकीलाई आलटाल गरिरहेकै वेला भित्रभित्रै जग्गा आफ्नो नाममा ल्याएकी ठाकुरले बस्ती हटाउन धम्क्याउन थालेपछि बस्ती सुरक्षाका लागि पीडितहरूले स्थानीय अगुवा, सामाजिक अभियन्तासँग सहयोगका लागि आग्रह गरेका छन् ।

सुझावित समाचार