पछिल्लो सातादेखि बढेको चिसो र शीतलहरले गरिब विपन्न समुदायका वृद्धवृद्धा, अशक्त, असहायहरू बढी प्रभावित भएपछि सिराहाको लहान नगरपालिकाले न्यानो सिरक बाँड्ने अभियानलाई निरन्तरता दिएको छ ।
लहानस्थित स्नेह वृद्धाश्रमको समन्वयमा नगर प्रमुख महेशप्रसाद चौधरीले शुक्रबार अपराह्न नगरपालिकापरिसरमा ४५ जना वृद्धवृद्धालाई न्यानो सिरक हस्तान्तरण गरे। ‘मजदुरी गरेर जीविका चलाउने परिवारमा वृद्धवृद्धालाई चाहेर पनि घरमूलीले न्यानो दिन सक्दैनन्,’ न्यानो सिरक बाँड्दै उनले भने, ‘कठ्यांग्रिने जाडोमा ज्येष्ठ नागरिकलाई जोगाउन नगरपालिकाले अभिभावकत्व लिँदै फाइबरको सिरक दिइएको हो ।’ जाडो बढेसँगै नगरपालिकाको तर्फबाट लहान– १५ ढोढना बानो, १६ तरेगना गोविन्दपुर, २४ गोविन्दपुर खप्टेडाँडा, २१ माधोपुरमा गरी पाँच सयजना गरिब विपन्न असहायहरूलाई न्यानो सिरक दिइएको प्रमुख चौधरीले बताए ।
‘जनताको दैनिक पीरमर्का, समस्या सुनिदिने र समाधानको पहल गरिदिने जिम्मेवारी स्थानीय सरकारको रहेकाले मानवीय सहयोगका लागि न्यानो सिरक बाँडिएको हो,’ उनले भने, ‘आवश्यकताअनुसार थप पाँच सय थान सिरक बाँड्ने योजना छ ।’ सडक, बाटोजस्ता भौतिक विकास निर्माणका काम पनि जनताकै लागि गरिने चर्चा गर्दै उनले भने, ‘त्यही विकासको उपभोग गर्ने जनताको ज्यान जोगाउनु पनि स्थानीय सरकारको मुख्य जिम्मेवारीभित्र पर्ने हुँदा बजेट छुट्याएरै न्यानो सिरक बाँडेका हौँ ।’