नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विधानले तोकेका कार्य गर्दा पार्टी नफुट्ने बताएका छन्। सानेपामा कार्यसम्पादन समिति बैठकअघि पत्रकारहरूसँग कुरा गर्दै शर्माले यस्तो प्रतिक्रिया दिएका हुन्।
पार्टी एक रहनेमा शंका नगर्न कार्यकर्ताहरूलाई आग्रह गर्दै उनले भने, ‘नेपाली कांग्रेस पार्टीको विधानको व्यवस्थाबमोजिम कुनै पनि कार्य गर्दा पार्टी फुट्दैन, एकढिक्का रहन्छ।’
वर्तमान परिस्थितिमा नीति र नेतृत्व परिवर्तन गर्न आवश्यक रहेकाले महाधिवेशनको मिति तोकिएको स्पष्ट पार्दै शर्माले त्यो घोषणामै सीमित बनेको बताए।
‘अहिलेको राष्ट्रिय परिस्थिति जे छ, यो वेलामा नेपाली कांग्रेस पार्टीको महाधिवेशन गरेरै, नेतृत्व परिवर्तन गरेरै, नयाँ नीति तथा दृष्टिकोणहरू बनाएरै जानुपर्थ्याे,’ उनले भने, ‘हामीले त्यो गर्नका लागि महाधिवेशनको मिति पनि तय गर्याैँ । तर, त्यो मितिमै सीमित भयो।’