प्रहरीले साढे नौ किलो सुन, साढे तीन किलो चाँदी र सवा चार करोड रुपैयाँ नगदसहित पक्राउ परेका गोरखाको गोरखा नगरपालिका–६ का ७८ वर्षीय विनोदकुमार श्रेष्ठविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरअन्तर्गतको मुद्दा दर्ता गरेको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जिल्ला सरकारी वकिल कार्यालय ललितपुरमार्फत जिल्ला अदालत ललितपुरमा दर्ता गरेको अभियोगपत्रअनुसार उनीविरुद्ध बरामद सम्पत्ति जफतसहित १९ करोड ३२ लाख ३८ हजार २६९ रुपैयाँ बिगो माग र दुईदेखि १० वर्षसम्मको कैद सजाय माग गरिएको छ । उनले आर्जन गरेको सम्पत्तिको भरपर्दो स्रोत नखुलेपछि विभागले उनीविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरअन्तर्गतको मुद्दा दर्ता गरेको हो ।
जिल्ला सरकारी वकिल कार्यालय ललितपुरका जिल्ला न्यायाधिवक्ता जनकप्रसाद घिमिरेले बरामद सम्पत्तिको स्रोत नखुलेपछि पक्राउ परेका श्रेष्ठविरुद्ध शुद्धीकरण कसुरअन्तर्गतको मुद्दा दर्ता भएको बताए । उनले भने, ‘विनोदकुमार श्रेष्ठबाट बरामद सुन, चाँदी र नगदको स्रोत खोजी भयो । तर, कुनै पनि भरपर्दाे स्रोत फेला परेन । त्यसो हुँदा उनीविरुद्ध बिहीबार शुद्धीकरण कसुरअन्तर्गतको मुद्दा दर्ता भएको छ । सबै गरी उनीविरुद्ध झन्डै साढे १९ करोडको बिगो माग भएको छ । त्यसबाहेक सम्पत्ति जफत र कैद सजायको पनि माग गरिएको छ ।’
अदालतमा दर्ता भएको अभियोगपत्रअनुसार श्रेष्ठले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ विपरीतको कसुर गरेको अनुसन्धानबाट देखिएको छ । ऐनको दफा ३ को उपदफा १ मा उक्त कसुरलाई यसरी परिभाषित गरिएको छ ।
विनोदकुमार श्रेष्ठबाट बरामद सुन, चाँदी र नगदको स्रोत खोजी भयो । तर, कुनै पनि भरपर्दाे स्रोत फेला परेन । त्यसो हुँदा उनीविरुद्ध बिहीबार शुद्धीकरण कसुरअन्तर्गतको मुद्दा दर्ता भएको छ । सबै गरी उनीविरुद्ध झन्डै साढे १९ करोडको बिगो माग भएको छ ।
क) सम्पत्तिको गैरकानुनी स्रोत (इलिसिट अरिजिन) लुकाउने वा छल्ने वा कसुरमा संलग्न व्यक्तिलाई कानुनी कारबाहीबाट बचाउन सहयोग गर्ने उद्देश्यले कसुरबाट प्राप्त सम्पत्ति हो भन्ने थाहा पाउँदापाउँदै वा विश्वास गर्नुपर्ने मनासिब आधार हुँदाहुँदै त्यस्तो सम्पत्ति कुनै पनि प्रकारले रूपान्तरण वा हस्तान्तरण गर्न नमिल्ने ।
ख) कसुरबाट प्राप्त सम्पत्ति हो भन्ने थाहा पाउँदा–पाउँदै वा विश्वास गर्नुपर्ने मनासिब आधार हुँदाहुँदै त्यस्तो सम्पत्तिको सही प्रकृति, स्रोत, स्थान, निःसर्ग (डिस्पोजिसन), कारोबार (मुभमेन्ट), स्वामित्व वा सो सम्पत्तिउपरको अधिकार लुकाउने, छल्ने वा बदल्ने कार्य गर्ने ।
ग) कसुरबाट प्राप्त सम्पत्ति हो भन्ने जानीजानी वा विश्वास गर्नुपर्ने मनासिब आधार हुँदाहुँदै त्यस्तो सम्पत्ति प्राप्त गर्ने, प्रयोग गर्ने वा धारण गर्ने ।
सोही ऐनको दफा ३० को उपदफा १ मा कसुरदारलाई बिगोको दोब्बर सजाय र दुई वर्षदेखि दश वर्षसम्मको कैद सजाय हुने भनिएको छ । त्यस्तै, सोही ऐनको दफा ३४ को उपदफा १ (क) अनुसार उनीहरूको सम्पत्तिसमेत जफत हुनेछ । उक्त दफामा भनिएको छ, ‘दफा ३ को उपदफा १ मा उल्लिखित सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुर गर्ने व्यक्तिलाई बिगोको दोब्बर जरिवाना र कसुरको गाम्भीर्य हेरी दुई वर्षदेखि दश वर्षसम्म कैद हुनेछ ।’
जिल्ला प्रहरी परिसरले गत १७ भदौमा समाखुसीस्थित श्रेष्ठको निवासबाट ९,५८८.०६ ग्राम सुन, ३२१८.९२ ग्राम चाँदी र चार करोड २५ लाख ५० हजार रुपैयाँ नगद बरामद भएको थियो । तत्कालीन बजार मूल्यअनुसार बरामद सुनको मूल्य १४ करोड ९७ लाख ४५ हजार ५४१, चाँदीको नौ लाख ४२ हजार ७२८ रुपैयाँ कायम गरिएको थियो । अनुसन्धानपछि प्रहरीले बरामद कुनै पनि सम्पत्तिको बिल र आवश्यक कागजात फेला पार्न सकेको थिएन । त्यसो हुँदा प्रहरीले उनीविरुद्ध बुधबार १५ करोड ६ लाख ८८ हजार २६९ रुपैयाँ बिगोसहित जिल्ला अदालत ललितपुरमा मुद्दा दर्ता गरेको छ ।