बिहीबार : १० बजेसम्मका मुख्य १० खबर

बिहिबार, १७ पुष, २०८२
डिजिटल संस्करण

महामन्त्रीद्वय थापा र शर्माले गरे कांग्रेसको नियमित महाधिवेशन स्थगन
नेपाली कांग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले पार्टीको नियमित महाधिवेशन स्थगन गरेका छन्। बिहीबार संयुक्त वक्तव्य जारी गर्दै महामन्त्रीद्वयले विशेष महाधिवेशन नै मुख्य विकल्प रहेको प्रस्ट पारेका छन् । ‘५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरी केन्द्रीय कार्यालयमा दर्ता गराएको विशेष महाधिवेशनको मागलाई सम्बोधन गर्ने प्राथमिक विकल्प नियमित महाधिवेशन नै थियो। तर, नियमित महाधिवेशन निर्धारित समयमै सम्पन्न हुन नसक्ने अवस्था सिर्जना भएपछि फेरि पनि विकल्पका रूपमा विशेष महाधिवेशन नै अघि आएको छ,’ वक्तव्यमा भनिएको छ ।

बागलुङका सिडिओ गुरुङविरुद्ध भ्रष्टाचार मुद्दा
बाग्लुङका प्रमुख जिल्ला अधिकारी (सिडिओ) कुमानसिंह गुरुङविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । पर्वतको कुस्मा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत हुँदा गरेको हिनामिनामा उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो। गुरुङ गत वर्ष चैतदेखि बाग्लुङको सिडिओ छन्। मुद्दासँगै उनी पदबाट स्वतः निलम्बित भएका छन्। 

जेन–जी आन्दोलनमा दमनः रमेश लेखकको बयान सकियो, केपी ओलीलाई बोलाउने तयारी 
जेन–जी आन्दोलनमा भएको मानवीय तथा भौतिक क्षतिसम्बन्धी जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्ती रमेश लेखकको बयान सकेको छ। बयान सकिएसँगै आयोगले उनको स्थानहद फुकुवा गरेको छ।   आयोगको बिहीबारको बैठकले उनको स्थानहद फुकुवा गरेको हो। बयानका लागि गत १२ असोजमा उनलाई स्थानहद लगाइएको थियो। सोमबारदेखि आयोगले लेखकको बयान लिएको हो। 

रविलाई धरौटीमा छाड्ने जिल्लाको आदेश उच्च अदालतद्वारा सदर
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलगायतलाई धरौटीमा छाड्ने जिल्ला अदालत काठमाडौंको आदेश उच्च अदालत पाटनले सदर गरेको छ। न्यायाधीशद्वय खडानन्द तिवारी र दीपककुमार खरेलको संयुक्त इजलासले बिहीबार जिल्लाको आदेश बेरितको नदेखिएको भन्दै परिवर्तन गर्न आवश्यक नदेखिएको फैसला गरेको हो। 

समानुपातिकको बन्दसूची सच्याउन दलका प्रतिनिधि र आयोगबिच छलफल
निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको बन्दसूची पेस गरेका राजनीतिक दललाई पालैपालो बोलाएर देखिएका त्रुटि औँल्याउने काम गरिरहेको छ । पेस भएका सूचीको जाँचबुझ र दलका प्रतिनिधिसँगको छलफलपछि देखिएका कमजोरी सच्याएर पेस गर्न यही पुस २० गते औपचारिक पत्राचार गर्ने आयोगले जनाएको छ ।

यथास्थिति र परिवर्तनबिचको संघर्ष अझै जारी छ : प्रचण्ड
नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशलाई अगाडि बढाउन जिम्मेवार र सचेत परिवर्तन आवश्यक रहेको बताएका छन्।  अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले देश र जनताप्रतिको उत्तरदायित्वलाई केन्द्रमा राखेर पार्टी आत्मसमीक्षासहित अघि बढिरहेको उल्लेख गरे।

प्रधानन्यायाधीशको प्रश्नः अदालत न्यायाधीश र कर्मचारीलाई मात्र चाहिने हो?
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायपालिकामाथि चौतर्फी आक्रमण भइरहेको भन्दै संवेदनशील हुन आग्रह गरेका छन् । सामाजिक सञ्जालमा न्यायाधीश र अदालतका आदेशहरुबारे अनुचित तवरले भ्रम फैलाइएको भन्दै उनले यस्तो आग्रह गरेका हुन् । 

निर्वाचन प्रहरी भर्ना गर्न सशस्त्र प्रहरीले पायो ८० करोड बजेट 
निर्वाचनमा पहिलोपटक सशस्त्र प्रहरीले निर्वाचन प्रहरी(म्यादी प्रहरी) भर्ना गर्ने भएको छ । निर्वाचन प्रहरी भर्ना गर्न सशस्त्र प्रहरीलाई अर्थ मनत्रालयले ८० करोड ८४ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।  सशस्त्र प्रहरीले करिब १५ हजार निर्वाचन प्रहरी भर्ना गर्नेछ। सकेसम्म अवकाशप्राप्त कर्मचारीलाई भर्ना गरिने र अपुग भएका अन्यलाई राखिने सशस्त्र प्रहरीको नीति छ । 

पाँचौँपटकमा पनि संसद् भवनको काम अधुरै (तस्बिरहरू)
सिंहदरबारस्थित पुतली बगैँचामा निर्माणाधीन संघीय संसद् भवनको पाँचौँपटक थपिएको ठेक्का अवधि आज बिहीबारदेखि सकिएको छ। तर, भवनको भौतिक प्रगति ८९ प्रतिशत मात्रै छ। १ असोज ०७६ मा तत्कालीन प्रधानमन्त्री केपी ओलीले तीन वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी शिलान्याश गरेको संसद् भवन ६ वर्ष बितिसक्दा पनि निर्माण पूरा नभएको हो ।

सन् २०२५ मा हवाई मार्गबाट साढे ११ लाख बढी पर्यटक नेपाल आए
सन् २०२५ मा हवाइ मार्ग हुँदै साढे ११ लाखभन्दा धेरै विदेशी पर्यटक नेपाल आएका छन्। पर्यटन बोर्डका अनुसार गत वर्ष ११ लाख ५८ हजार ४५९ पर्यटक हवाइ मार्गबाट नेपाल आएका हुन्। पछिल्लो समय वार्षिक १० लाखभन्दा बढी विदेशी पर्यटक आइरहेका बोर्डको तथ्यांक छ। सन् २०२४ मा ११ लाख ४७ हजार ५४८ पर्यटक नेपाल आएका थिए । 
 

सुझावित समाचार