वीर अस्पतालका दुईवटा भवन जोड्ने गरी लिफ्टसहितको पुल निर्माण कार्य अघि बढाउने सम्झौता भएको छ । बुधबार काठमाडौं महानगरपालिका र वीर अस्पतालबिच चालू आर्थिक वर्षभित्रै काम सक्ने गरी सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौतासँगै अब महानगरले केही दिनमै टेन्डर आह्वान गर्नेछ । महानगरको वडा नं. २७ अन्तर्गत लिफ्टसहितको पुल निर्माण हुनेछ । निर्माण लागत महानगरपालिकाले नै व्यहोर्ने सम्झौता भएको छ ।
वीरका निर्देशक डा. दिलीप शर्माका अनुसार दुईवटा भवन दुईतिर हुँदा बिरामीलाई ओहोरदोहोर गर्न निकै कठिन हुने गरेको छ । एकातर्फको ल्याब तथा विभिन्न ओपिडी कक्ष र अर्कोतर्फको भवनमा सर्जिकल सेवा भएकाले बिरामीलाई दुवै भवनमा आउजाउ गर्नुपर्छ । त्यसैले चालू आर्थिक वर्षभित्रै तयार हुने गरी लिफ्टसहितको पुल निर्माणको काम अघि बढ्नेछ । अस्पतालले दुवै भवनलाई जोड्ने गरी दुई वर्षअघि नै महानगरपालिकालाई लिफ्ट र भर्याङसहितका पुल निर्माण गर्न अनुरोध गरेको थियो । सोहीअनुसार बुधबार महानगरपालिकाले निर्माण सम्झौता गरेको हो । पुलमा ह्विलचेयर अट्नेछ भने लिफ्ट पनि आधुनिक किसिमको जडान हुनेछ । सेन्सरवाला लिफ्ट जडान हुने भएकाले बिरामीलाई सहज हुने अस्पतालले जनाएको छ । लिफ्ट बिरामीलाई मात्रै प्रयोग गर्न दिइनेछ । अन्य मानिसहरू भ¥याङबाट ओहोरदोहोर गर्नेछन् ।
हाल वीरमा उपचारका लागि गएका सबैजसो बिरामी प्रायः दुईवटा भवनमा ओहोरदोहोर गर्नुपर्छ । झन्डै ७० मिटर ओहोरदोहोर गर्नुपर्दा बिरामीले सास्ती खेप्नुपरेको छ । नयाँ भवनमा सर्जरी र पुरानो भवनमा टिकटदेखि क्यास काउन्टर, इमर्जेन्सी, ल्याब, ओपिडी, माइनर अप्रेसनलगायत सेवा छन् । सोही कारण पनि बिरामीलाई दुईवटा भवनमा ओहोरदोहोर नगरी सुखै छैन । दुईवटा भवनमा ओहोरदोहोर गर्दा बिचभागमा चौडा सडक भएकाले बिरामीलाई सडक पार गर्नसमेत दुर्घटनाको जोखिम हुन्छ । अस्पताल प्रशासनका अनुसार नयाँ सर्जिकल भवन र पुरानो भवनको दूरी करिब ७० मिटर छ ।
पुल निर्माणमा पाँच करोड लागत अनुमान गरिएको छ । पुल नेवारी परम्परागत शैलीमा बन्नेछ । लिफ्टसँगै भर्याङ पनि राखिएकाले पुल निकै उपयोगी हुने डा. शर्माले बताए । ‘हामीले यसबारे छलफल गरेको एक वर्षभन्दा बढी भयो, अब काम सुरु हुन्छ । बुधबार सम्झौता भएकाले अब महानगरले टेन्डर आह्वान गरेर काम सुरु गर्छ,’ शर्माले भने, ‘चालू आर्थिक वर्षभित्रै काम सकाउने भनेर सम्झौता भएको छ, त्यसको सबै लागत र कार्य महानगरले नै गर्छ, सबै तयार पारेर चालू वर्षभित्र हामीलाई हस्तान्तरण गर्ने गरी सम्झौता भएको छ ।’ यसअघि महानगरपालिकाले लिफ्टसहितको पुल निर्माण गर्ने भने पनि रथ जात्रामा समस्या हुने र त्यसबाट रथ हिँडाउन कठिन हुने भन्दै स्थानीयले विरोध गरेका थिए । तर, इन्जिनियरिङ नापाजाँच गर्दा रथको उचाइभन्दा अकासे पुलको उचाइ अग्लो हुने भएकाले स्थानीय सहमत भएका हुन् । पुल नयाँ सर्जिकल भवनको एक तलामाथिबाट पुरानो भवनमा जोडिनेछ । पुलसँग जडान गरिने लिफ्टमा बिरामी मात्रै ओहोरदोहोर गराइनेछ । बिरामीका आफन्त तथा सामान्य बिरामीलाई भ¥याङबाट ओहोरदोहोर गर्न दिइनेछ ।