राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले समानुपातिक उम्मेदवारको बन्दसूचीसम्बन्धी सबै जायज गुनासा दुई दिनभित्र सम्बोधन गरिने बताएका छन्।
बुधबार पोखरामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभापति लामिछानेले निकै छोटो समयमा एकताको निर्णय भएर निर्वाचन आयोग जानुपरेकाले बन्दसूचीको तयारीमा समय नपुगेको स्विकारे।
रास्वपा विधिभन्दा बाहिर नजाने उल्लेख गर्दै उनले भने, ‘रास्वपासँग विधि छ। विधिभन्दा बाहिर रास्वपा कुनै हालतमा जाँदैन। परिवारवादमा रास्वपा स्पष्ट छ–विधानले नै दिँदैन।’
कसैले विधिविपरीत कार्य गरे संसदबाट फिर्ता बोलाउन सकिने प्रस्ट पार्दै लामिछानेले भने, ‘कथंकदाचित यी सबै विधि नाघेर कोही जानुभएछ भने पनि राइट टु रिकलको व्यवस्था रास्वपाको विधानले गरेको छ। यो अभ्यास हामीले अघिल्लो प्रतिनिधिसभामा पनि गरेकै हो।’